भदौमा २ अर्ब ४२ करोडको विद्युत निर्यात, साउनको तुलनामा ४० करोड बढी

नोटबजार संवाददाता
काठमाण्डौं
४आश्विन, २०७९, मंगलवार / Sep 20, 2022 11:36:am

भदौमा नेपाल विद्युत् प्राधिकरणले २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ ।

देशभित्रको खपतपछि बचेको २४ करोड ६५ लाख २९ हजार युनिट निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन भएको प्राधिकरणले जनाएको छ ।

प्रााधिकरणले यो वर्ष गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ ।

भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठ बाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानि दैनिक ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

विद्युत निर्यातको परिणाम र प्राप्त रकम

महिना

निर्यात ऊर्जा (युनिट)

भारतीय रुपैयाँ

नेपाली रुपैयाँ

औसत दर प्रति युनिट(नेपाली रुपैयाँ)

जेठ

७ करोड १६ लाख

५५ करोड ९६ लाख

८९करोड ५४ लाख

१२.५१

असार

२१ करोड ९१ लाख ६ हजार

१ अर्ब १६ करोड ७५ लाख

१ अर्ब ८६ करोड ८० लाख

८.५३

साउन

२४ करोड २८ लाख ४३ हजार

१ अर्ब २६ करोड १५ लाख

२ अर्ब १ करोड ८४ लाख

८.३१

भदौ

२४ करोड ६५ लाख २९ हजार

१ अर्ब ५१ करोड ५ लाख

२ अर्ब ४१ करोड ६८ लाख

९.८०

जम्मा

७८ करोड ७८ हजार

४ अर्ब ४९ करोड ९१ लाख

७ अर्ब १९ करोड ८६ लाख

९.२३

स्रोतः नेपाल विद्युत प्राधिकरण ।

हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेको घिसिङले बताए ।

चाडबाड पनि सुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ । तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २ सय मेगावाट थप विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएको उनले बताए । ‘भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौं।’

आइएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments