नेपाल-भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडौंमा सुरु, सुल्झिएला त पञ्चेश्वरको गाँठो ?

नोटबजार संवाददाता
काठमाण्डौं ।
५आश्विन, २०७९, बुधबार / Sep 21, 2022 10:42:am

नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडौंमा सुरु भएको छ । बुधबारदेखि सुरु भएको बैठक शुक्रबारसम्म चल्ने छ ।

दशकौं देखि उल्झनका रुपमा रहँदै आएका नेपाल भारत जलस्रोत सम्बन्धी मुख्यत तीन वटा समस्याहरुमा छलफल गर्ने गरी बुधबारदेखि नेपाल भारत जलस्रोत सचिवस्तरीय बैठक सुरु भएको हो ।

असोज ५ देखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकमा पश्चिम नेपालको मुहार फेर्ने भनिएका पञ्चेश्वर बहुउदेश्यीय परियोजना, महाकाली नदीको पानीको बाँडफाँड र पूर्वी नेपालको सप्तकोशी उच्च बाँध परियोजनाबारे बृहत छलफल गर्ने एजेण्डा तय गरिएको छ । साथै गण्डक, दोधारा चाँदनी, नदी नियन्त्रण, तटबन्ध निर्माण लगायतका मुद्दामा छलफल हुने बताइएको छ ।

तीन दिन चल्ने उक्त बैठकमा पहिलो दुई दिन सह–सचिवस्तरीय प्राविधिक समिति (जेएसटीसी) को बैठक हुनेछ । सो बैठकमा पञ्चेश्वरका टङ्गो लाग्न बाँकी मुद्दा, महाकाली नदिको पानी नेपाली भूमिमा आपूर्ति व्यवस्थापन र सप्तकोशी उच्च बाँध परियोजना बारे छलफल हुने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

सो समितिले तय गरेका निष्कर्षलाई शुक्रबार बस्ने सचिवस्तरीय समिति (जेसीडब्लुआर) को नवौं बैठकले अन्तिम निष्कर्षमा र्पुयाउने छ । सो बैठकमा नेपाली समूहको नेतृत्व जलस्रोत सचिव सागर राइले गर्दैछन् ।

जेएसटीसीको बैठकको नेतृत्व मन्त्रालयका जलस्रोत महासाखाका प्रमुख सहसचिव शिशिर कोइरालाले गर्ने भएका छन् । यसपालिको बैठकमा २०५२ सालमा भएको महाकाली सन्धीको कार्यान्वयनै मूल विन्दु बन्नेछ । यसपाली मुख्य रुपमा तीन एजेण्डामा छलफल हुँदैछ।

पञ्चेश्वरको गाँठो

साढे दुई दशकदेखि कुरा उठ्दै आएको तर नसुल्झिएको पञ्चेश्वर बहुँउदेश्यीय परियोजना निर्माणबारे यसपाली पनि छलफल हुँदैछ । सन् १९९५ मै नेपालले सो बहुउदेश्यीय आयोजनाको विश्त्रित परियोजना प्रतिवेदन बनेको थियो । ६ हजार ४०० मेगावाट विद्युुत् उत्पादन गर्ने दुबै देशमा सिँचाइ प्रवद्र्धन र पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण बन्ने भन्दै यसलाई बहुउदेश्यीय परियोजना बनाउने सहमति भएको हो । सहमति भएको यो परियोजनाबारे मुलुभूतरुपमा कुनै काम नै हुन सकेको छैन।

आयोजना बनाउने भन्दै गर्दा दुई देशीय सरोकारका करिब ५०० विषयवस्तुमा सहमति आवश्यक हुने थियो । नवौं चरणको सचिवस्तरीय बैठकसम्म आउँदा ती विषयको संख्या १०० वटामा झरेको छ । दुबै देशका अधिकारी सम्मिलित पञ्चेश्वर विकास प्राधिकरण गठन पनि भएको छ तर त्यसका अधिकारीहरु अहिलेसम्म कार्यस्थलमा प्रगति देखाउने भन्दा पनि पदीय जिम्मेवारीमा मात्र रहने अवस्था छ ।

साढे दुई दशकसम्म पनि ठोस उपलब्धी नभएपछि यो परियोजनाप्रति नै आम जनमानसमा आशंका रहँदै आएको छ । खासगरी परियोजनाबाट दुई देशले पाउने लाभ तथा हानी र सो अनुरुप लगातको साझेदारी हुन नसक्नु नै यो परियोजनाको मुल समस्या हो ।

यसपटकको बैठकले प्राधिकरणका अधिकारीहरु कार्यस्थलमै काम गर्ने व्यवस्था गराउने र आयोजनाको गतिलाई तीव्रता दिने अपेक्षा छ।

महाकालीको पानी

टनकपुर बाँधबाट नेपालले आफ्नो भूमिमा पानी ल्याएर सिँचाई सुविधा पाउने व्यवस्था भने दुई देशबीच करिब टुँगिसकेको विषय हो ।

टनकपुरबाट पानी ल्याउने १ हजार २०० मिटर नहर बनाएर नेपाल आउने व्यवस्था भसकेको छ । नेपालले बनाएका कतिपय शाखा नहरमा पानी पनि आपूर्ति भइरहेको छ । यसपालिको बैठकमा नेपालले आफ्नो आवश्यता अनुसार कुन सिजन तथा समयमा कति परिमाणको पानी पाउने भन्ने निश्चित गराउने खोजेको छ ।

सकसपूर्ण सप्तकोशी उच्च बाँध

सुनसरीको चतरा क्षेत्रमा करिव २६० मिटर अग्लो बाँध बाँधेर सप्तकोसीको पानी जम्मा गर्ने, विद्युत् उत्पादन गर्ने, नेपाल भारतमा सिँचाइ सुविधा बाढी नियन्त्रणजस्ता यो बहुउदेश्य यो परियोजनामा जोडिएका छन् । तर लामो समयसम्म चर्चामै रहँदै आएको आयोजनबारे आवश्यक पर्ने पूर्व अध्ययनकै कार्य पनि हुन सकिरहेका छैनन् ।

यो परियोजना मार्फत नेपालले भन्दा धेरै लाभ भारतले लिनसक्ने अवस्था छ । तर ठूलो लगानी मात्र होइन स्थानीयकै अवरोधले गर्दा यो परियोजना पनि बन्ला भन्नेमा कमै आशा छ । यस विषयलाई पनि नवौं चरणको सचिवस्तरीय बैठक र सातौ चरणको सह(सचिवस्तरीय बैठकका एजेण्डा छन्।

दोधारा चाँदानीमा सिँचाइ

महाकाली पारीको नेपाली भूमि दोधारा र चाँदनीमा सिँचाइका लागि १० घनमिटर प्रतिसेकेन्ड पानी पठाउने सम्झौता छ । तर यसका लागि पूर्वाधार बनाउने काम अझै भएको छैन । भारतले शारदा नहरबाट १ हजार १०० मिटर नहर बनाएर त्यहाँसम्म पानी र्पुयाउनु पर्छ ।

त्यसबाहेक नेपालले पानी वितरणका लागि उप–नहरहरु बनाउनुपर्ने हुन्छ । यसका लागि नेपाल पक्षले डिजाइन पठाए पनि भारतीय पक्षले अनुमोदन भने गरिसकेको छैन । यो स्वीकृत गराएर फिल्डमै काम गर्ने वातावरण बनाउन नेपालले प्रस्ताव गर्ने तयारी छ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।



Share on:


Comments