रुकुम र सल्यानमा पम्प स्टोरेज जलविद्युतको अध्ययन गर्दै लगानी बोर्ड

नोटबजार संवाददाता
काठमाण्डौं
६आश्विन, २०७९, बिहीबार / Sep 22, 2022 13:08:pm

हाल सम्म नेपालमा सम्भव नभएको पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्न लगानी बोर्डले पूर्व सम्भाव्यता अध्ययन गरिरहेको छ । गत वर्ष नेपाल विद्युत् प्राधिकरणले कुलेखानीको जलविद्युत् आयोजनाको पानी पुनः फर्काएर सिस्नेरीमा पम्प स्टोरेज बनाउने प्रस्ताव गरे पनि आर्थिक रूपले सम्भाव्य नभएको भन्दै छाडेको थियो । 

तर लगानी बोर्डले भने सल्यानको कुपिन्डे दह र रुकुमको स्याप्रु दहमा पम्प स्टोरेज आयोजना बनाउन अध्ययन गरिरहेको छ ।  लगानी बोर्डले आयोजनाको पूर्व सम्भाव्यता अध्ययन गरी परियोजना बैंकमा राख्ने र विदेशी लगानीकर्ता आकर्षित गर्ने उद्देश्यले यी दुई आयोजना बनाउन पूर्व सम्भाव्यता अध्ययन गरिरहेको छ । 

लगानी बोर्डका परियोजना प्रादेशिक हिसाबले पनि समानुपातिक होस भन्ने हिसाबले पनि बोर्डले यी दुई परियोजना आकर्षक मानिएको छ । पम्पस्टोरेज आयोजना महँगो हुने आँकलन भइरहेका बेला लगानी बोर्डको दाबी अनुसार यी आयोजना आरओआर भन्दा पनि सस्तोमा बन्ने अनुमान छ । पानी पम्प गर्नुपर्ने भएकाले सञ्चालन लागतका विषयमा भने बोर्डको अध्ययनले समेटेको छैन । सम्भाव्यता अध्ययनका क्रममा यी पक्षको अध्ययन हुने बोर्डले जनाएको छ । 

स्याप्रु पम्प स्टोरेज

रुकुम बाँफिकोट गाउँपालिकामा रहेको प्रकृतिक ताल स्याप्रु दह २.६ वर्गकिलोमिटरमा फैलिएको छ जहाँ ९ करोड ३६ लाख घनमिटर पानी अट्छ ।

सदरमुकाम मुसीकोट बजारमा ११ किलोमिटर कच्ची सडक मार्फत प्रस्तावित आयोजनास्थल पुग्न सकिनछ । सो आयोजना बनाउन ८५ मिटर लामो गर ३२ मिटर अग्लो प्रेसर बाँध बनाउनु पर्ने देखिन्छ । सो पानी ६ सय मिटर लामो सर्कुलर र २.४ मिटर व्यासको टनेलमार्फत अर्धभूमिगत विद्युत् गृहमा पानी पुर्‍याइन्छ ।

पम्पस्टोरेज भएकाले सो विद्युत् गृहमा रिभर्सेबल फ्रान्सिस टाइपका दुई वटा टर्बाइन राखिन्छ । यी टर्बाइन १ सय मेगावाट क्षमताका हुनेछन् । बोर्डले प्रारम्भिक अध्ययन् अनुसार टनेलमा दैनिक निरन्तर ६ घण्टा २० क्युबिक मिटर पानी छाड्न सकिन्छ ।

प्रारम्भिक अध्ययन अनुसार सो आयोजना बनाउन १३ करोड ५० लाख अमेरिकी डलर लाग्ने आँकलन छ । 

कुपिन्डे पम्प स्टोरेज

सल्यानको खलंगा बजारबाट २४ किलोमिटरको दूरीमा रहेको कुपिन्डे दहको पानी पम्प गरेर विद्युत् उत्पादन गर्ने लक्ष राखिएको यो आयोजना बनाउन करिव ९ करोड अमेरिकी डलर लागत लाग्छ । २३५ वर्गमिटर क्षेत्रफल समेटेको सो दहमा ५५लाख घनमिटर पानी हुन्छ ।

विद्युत् आयोजना निर्माणका लागि १ सय मिटर लामो र ३२ मिटर अग्लो बाँध बनाउनुपर्छ । पानीलाई १५सय ३० मिटर लामो २.४ मिटर व्यासको पेनिस्टक पाइपबाट अर्धभूमिगत विद्युत् गृहमा पानी खसालिन्छ । यो आयोजनामा पनि ५० मेगावाट क्षमताका २ वटा रिभर्सेबल फ्रन्सिस पम्प टर्बाइन जडान गरिनेछ ।  सो आयोजना बनाउन करिव २.४ हेक्टर निजी र २.१ वन क्षेत्र अधिग्रहण गर्नुपर्ने हुन्छ ।

सुख्खा याममा समेत उच्च क्षमतामा सञ्चालन गर्न सकिने भएकाले यी दुई आयोजना नेपालको विद्युत् उत्पादनमा सन्तुलन कायम गर्ने हिसाबले पनि रणनीतिक महत्वका छन् । नेपालका अधिकांश जलविद्युत् आयोजना जलप्रवाहीमात्र छन् र सुख्खा याममा यस्ता आयोजनाको ६० प्रतिशत खस्कन्छ ।

जलाशय युक्त प्रकृतिका यी दुई आयोजना बनाउन हालसम्मको अनुमानले लागत पनि सस्तो देखिएको छ । यद्यपि विस्त्रित सम्भाव्यता अध्ययनको काम भने बाँकी नै रहेको बोर्डले जनाएको छ । 

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 



Share on:


Comments