सेयर कारोबार ६५ करोडमा खुम्चियो‚ नेप्से १८३९ बिन्दुमा झर्‍यो

नोटबजार संवाददाता ।
काठमाडौं ।
६आश्विन, २०७९, बिहीबार / Sep 22, 2022 16:59:pm

सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि घटेको छ । बुधबार दोहोरो अङ्कले बढेको बजार बिहीबार नै ओरालो लागेको हो ।

बिहीबार नेप्से ०।५३ प्रतिशत अर्थात ९।८३ अंकले घटेर १८३८.९६ अंकमा झरेको छ । यस दिन २२९ कम्पनीका २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच हुँदा ६५ करोड ५७ लाख ५ हजार १६९ दशमलव ४२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

अघिल्लो दिन बुधबार ११.२२ अङ्कले बजार बढ्दा ७२ करोड १२ लाख ५९ हजारको कारोबार भएको थियो । यो सातामा चार दिन कारोबार भएकोमा आइतबार ३३.९७ अङ्क‚ मंगलबार ३८.८१ अङ्क र बिहीबार ९.८३ अंकले बजार घटेको छ । बुधबार ११.२२ अङ्कले बजार बढ्दा समग्रमा यो साता नेप्से ७१.३९ अंकले बजार घटेको छ । संविधान दिवसको सार्वजनिक बिदाका कारण सोमबार सेयर कारोबार भएन भने यो साताबाट शुक्रबारको सेयर कारोबार बन्द भएको छ ।

बिहीबार कारोबारमा आएका सबै उप-समुहगत सूचक ओरालो लागेको छ । फाइनान्स १.५६ प्रतिशत र लघुवित्त १.०५ प्रतिशतले घट्दा बाँकी सबै उप-समुहगत सूचकहरू १ प्रतिशतभन्दा कम घटेका छन् ।

यस दिन नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको २ करोड ५८ लाख ६८ हजार ७६१ रुपैयाँमा ३३ हजार ९६६ कित्ता सेयर खरिद बिक्री भएका छन् । यस्तै बोटलर्स नेपाल तराइको २ करोड ४१ लख ४९ हजार‚ अपि पावर १ करोड ६१ लाख ४३ हजार‚ रिडी पावर १ करोड ५७ लाख ९६ हजार र अरुण काबेली पावरको १ करोड ५३ लाख २५ हजारको कारोबार भएको छ ।

आज सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेर ५३१.१० रुपैयाँ पुगेको छ । लक्ष्मी इक्विटी फन्ड ४.४२‚ लक्ष्मी उन्नति कोष ३.९०‚ सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ को ३.८८ र अपर हेवाखोला जलविद्युतको सेयर मूल्य २.८७ प्रतिशत बढेको छ ।

यस दिन प्रभु बैंकको ऋणपत्र-२०८४ को मूल्य ९.९३ प्रतिशत र गरिमा विकास बैंकको ऋणपत्रको मूल्य ९.९० प्रतिशतले घटेको छ । यी ऋणपत्रको मूल्य क्रमशः ९०८ र ९०१ रूपैयाँमा झरेको हो । सेञ्चुरी डिबेन्चर २०८८ को मूल्य ५.८६‚ बिन्धवासिनी हाइड्रोपावरको मूल्य ५.२६ र स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य ४.९६ प्रतिशतले घटेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments