'बोर्ड नेतृत्वले नयाँ एक्सचेन्ज र ब्रोकर थप्न देखाएको सक्रियता जस्तै अन्य काम भए धेरै राम्रो हुन्थ्यो : सन्तोष मैनाली, अध्यक्ष, स्टक ब्रोकर

नोटबजार संवाददाता
काठमाण्डौं ।
६आश्विन, २०७९, बिहीबार / Sep 22, 2022 17:06:pm


सेक्यूर्ड सेक्यूरिटीजका अध्यक्ष सन्तोष मैनालीले हाल ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसनको नेतृत्व गरिरहेका छन् । अर्थतन्त्र र धितोपत्र बजारको आकार तथा अवस्था अनुसार अहिले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको संख्या थप गर्नु उपयुक्त नभएको मैनाली बताउँछन् । शैक्षिक रुपमा अमेरिकामा चार्टर्ड फाइनान्सीयल कोर्स समेत गरेका मैनालीले शंकरदेब क्याम्पसबाट व्यवसायीक प्रशासनमा स्नातकोत्तर गरेका छन । मैनाली एमबीएका स्वर्ण पदक विजेता समेत हुन ।

धितोपत्र बोर्डले बजारको आवश्यकता भन्दा पनि कसैको स्वार्थ पुरा गर्नका लागि ब्रोकर र स्टक एक्सचेन्ज थप्न लागेको उनको बुझाई छ । नयाँ थप गर्दै गर्दा पुरानो स्टक तथा ब्रोकरको अस्तित्व पनि समाप्त हुन नहुने बताउने मैनालीसँग धितोपत्र बजारका पछिल्ला घट्ना क्रमका विषयमा नोटबजारका सुरेन्द्र थापाले गरेको कुराकानी:

धितोपत्र बोर्डले ‘फास्ट ट्रयाक' बाट २ पटकसम्म धितोपत्र व्यवसायी नियमावली २०६३ लाई संशोधन गर्नुको रहस्य के रहेछ ?

धितोपत्र व्यवसायी नियमावली २०६४ को चौथो र पाँचौ संशोधनको समयको अन्तरले पनि यो किन भयो भन्ने स्पष्ट हुन्छ । यसले धितोपत्र बोर्डलाई धितोपत्र दलाल कम्पनीको लाइसेन्स अहिलेनै वितरण गरिहाल्नुपर्ने आवश्यकता महशुस भएको जस्तो देखिन्छ ।

नियमावलीको चौथो संशोधनमा तत्काल धितोपत्र दलाल कम्पनीको लाइसेन्स वितरणको आवदेन आह्वान गर्न नमिल्ने खालको व्यवस्था थियो । तर यसमा धितोपत्र बोर्डले असन्तुष्टि जनाउँदै तीन दिनको अन्तरमा पुनः संशोधन गरेको छ । तुरुन्त लाइसेन्स खोल्न मिल्ने गरी संशोधन गरिएको छ । यसबाट धितोपत्र दलाल कम्पनीको अनुमती दिने उदेश्य राखेर दुई पटकसम्म संशोधन गरिएको स्पष्ट हुन्छ ।

नियमावलीको हतार हतार संसोधन हुनु धितोपत्र बोर्ड र स्टक ब्रोकहरुको शक्ति संघर्षको कारण पनि हो भन्ने छ नी ?

एशोसिएसनको नेतृत्वमा म आफै भएकाले पनि ब्रोकरहरुबाट ‘पावर एक्सरसाइज’ भएको जस्तो लाग्दैन । ब्रोकर थप्नका लागि गरिएको नियमावली संशोधनको प्रक्रिया हिजो आज भएको होइन । यो करिब साढे २ महिना अघिदेखि सुरु भएको प्रक्रिया हो । नियमावली संशोधनको अन्तिम समयमा अधिकाशं धितोपत्र दलाल कम्पनी पुँजी बजार अध्ययनका लागि भारत भ्रमणमा रहेको अवस्था हो । हामी फर्कदा नियमावली मन्त्रिपरिषदले पारित गरिसकेको थियो । ब्रोकरले पावर एक्सरसाइज गरे भन्ने विषय बजारमा उठेका शंका उप–शंका मात्र हुन ।

धितोपत्र बोर्डले खुला बजार अर्थतन्त्रको मर्म अनुसार धितोपत्र दलाल कम्पनीको संख्या तोक्नुभन्दा ‘ओपन इन्ट्रि ओपन एक्जिट’ को व्यवस्था गर्न खोजेको छ तर त्यो कार्यान्वयन हुन नसक्नुमा धितोपत्र दलालहरुकै भूमिका छ भनिन्छ नी ?

ब्रोकरहरुको नियामक निकाय धितोपत्र बोर्ड नै हो । अफठ्यारो पर्ने वा फरक मत भएमा हामी जाने भनेको बोर्ड नै हो । नियमावलीको संशोधनको मस्यौदा आएपछि धितोपत्र गएका थियौ । बोर्ड अध्यक्ष सामु ब्रोकरहरुका गुनासा पनि राखेका थियौ । हामीले गुनासा राखिसकेपछि अध्यक्षले छलफलमा बोलाउँछु पनि भन्नु भएको थियो । तर, चौथो मात्र नभई पाचौं संशोधन हुदाँ समेत उहाँले बोलाउनु भएन ।

हामीले नियमावली संशोधनको विषयमा रहेका असन्तुष्टिहरु सरोकारवाला निकायमा लिखित रुपमा नै राख्दै आएका थियौ । त्यसैको प्रभावले ओपन इन्ट्रि र एक्जिटको व्यवस्था नगरिएको हुन सक्छ । ब्रोकरले कार्यक्षेत्र विस्तार गरी केही समय नयाँ थप्ने योजना पुनर्विचार गरौं भन्दै आएको हो । बजारको आवश्यकता अध्ययन गरेर ब्रोकर संख्या थप गर्ने नगर्ने निर्णय गर्न उपयुक्त हुने सुझाव हाम्रो हो । आफ्नो अनुकुलमा हुने गरी नियमावली संशोधन गर्नका लागि ब्रोकरहरु लगेको भन्ने जानकारी मलाई छैन ।

बोर्डले ब्रोकर मात्र नभई निजी क्षेत्रको लगानीमा एउटा स्टक एक्सचेन्ज पनि थप्ने प्रक्रिया पनि अघि बढाएको छ । बजारको आकार अनुसार २ वटा एक्सचेन्ज कत्तिको उपयुक्त हो भन्ने लाग्छ ?

अर्थतन्त्रका तथ्याङकलाई नै हेर्ने हो भने नयाँ स्टक एक्सचेन्ज आवश्यक देखिँदैन । हाल अर्थतन्त्रको आकार साढे ४८ खर्ब हाराहारीमा भएको हुनाले पनि २ वटा स्टक चाहिन्छ भन्ने लाग्दैन । त्यसैगरी सूचिकृत कम्पनीको संख्या पनि २३० भन्दा माथि गएको छैन । पछिल्लो समयमा मर्जरको लहर चलेको छ । त्यसले सूचिकृत कम्पनीको संख्या झनै घटाउँदै गएको अवस्था छ । त्यतिमात्र नभई अहिलेको स्टक एक्सचेन्जको बजार पुँजीकरणलाई हेर्दा पनि अर्को चाहिन्छ भन्ने देखिँदैन ।

नयाँ स्टक ल्याउनका लागि नेप्सेले काम गर्न नसकेको तर्क गरिएको छ । त्यो हिसाबले चाहिने देखिन्छ । नेप्से भनेको सरकारी सम्पत्ति हो । यसको संरक्षण गर्ने जिम्मेबारी पनि धितोपत्र बोर्ड कै हुन आउँछ । विश्वव्यापी रुपमा स्टक एक्सचेन्जहरुको समेत मर्जरमा गएको अवस्था छ । भारतका २ एक्सचेन्ज देखेर मात्र हुँदैन । ब्रोरकका लागि त व्यवसायी बढ्न सक्ने भएकाले सकारात्मक नै हो ।

तर, नयाँ स्टक आउदै गर्दा नेप्से हराएर जान हुँदैन । नेप्से हराएर गएको खण्डमा त्यसको जिम्मेबारी धितोपत्र बोर्डले नै लिनु पर्छ । बोर्डको तर्क नेप्सेलाई सबल बनाउन निजी क्षेत्रको नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको भनिएको छ । त्यसले गर्दा पनि नेप्से सबल हुनुको सट्टा हराएर गयो भने त्यसको जिम्मेबारी बोर्डले नै लिनुपर्ने हुन्छ ।

पुँजी बजारको आकार अनुसार चाहिने धितोपत्र दलालको संख्या कति हो त ? अब आउने धितोपत्र दलालको कम्पनी टिक्न सक्ने अवस्था रहन्छ कि रहदैन ?

२०६५ सालमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ब्रोकर आवश्यक प्रयो भनेर आवेदन माग गर्यो । त्यो प्रक्रिया पुरा गरेर हामीले २०६९ सालमा अनुमती लिएर यहाँसम्म आएका छौं । हामीले लाइसेन्स लिनु भन्दा अघि नेप्सेले ३२ धितोपत्र दलाल कम्पनीलाई अनुमती दिएकोमा २३ मात्र सञ्चालनमा थिए जुन अहिले पनि छन् । त्यो समयमा लाइसेन्स लिएर पनि व्यवसायमा नआउनु भनेको बजारमा सम्भावना नदेखेकै कारण हो ।

खासमा २०६४ सालमा नेप्सेले सेमी अटोमेटेड कारोबार प्रणाली र बजारको आकारमा विस्तार भएपछि ब्रोकर आवश्यकता महशुस गरिएको थियो । सोही अनुसार नेप्सेले प्रक्रिया अघि बढाएको थियो । अनुमति प्राप्तले व्यवसाय नगर्ने तर बजारको आकार भने बढदै गएको अवस्थाले ब्रोकर संख्या थप्नु त्यसबेला जायज थियो । त्यसबेला बैंक तथा विमा कम्पनीको पनि संख्या बढदो क्रममा थियो । तर अहिले बैंक तथा बीमा क्षेत्रमा मर्जरको लहर नै चलेको छ । पहुँच विस्तारका लागि शाखा विस्तारलाई अनिवार्य गरियो ।

तर, २०६५ साल देखि २०७९ सम्म ६६ वटा मात्र धितोपत्र दलाल कम्पनीका शाखा विस्तार भएको अवस्था छ । कोरोना महामारी भन्दा अघि करिब ३ सय शाखा विस्तारका लागि बोर्डमा आवेदन दिएको अवस्थामा त्यसलाई बोर्डले रोक्यो ।

धितोपत्र बजार विस्तारका लागि कुनैपनि विधी अपनाइएन । त्यतिमात्र होइन नियामकले पनि बजार तथा पहुँच विस्तारको ठोस नीति अबलम्बन गर्न सकेन । थपिएका धितोपत्र दलाल कम्पनीका शाखा पनि ब्रोकर आफै इच्छुक भएर गरेको अवस्था हो । त्यसमा पनि नियामकले अनुमति दिन वर्षौ लगाएको अवस्था छ ।

हाम्रो आवश्यकता भनेको धितोपत्र दलाल कम्पनीको संख्या भन्दा पनि पहुँच विस्तार हो । तर पुँजी बजारको पहुँच विस्तारमा नियामकले एउटा पनि अध्ययन गरेको छैन । नियामक तथा बजार सञ्चालकले पनि बजार विस्तारका लागि निर्देशन दिएका छैनन् ।

नेपालको अर्थतन्त्रको आकार अनुसार ५० धितोपत्र दलालको संख्या प्रयाप्त हो । श्रीलंकामा २७ वटा मात्र धितोपत्र दलाल कम्पनी छन् । जवकी नेपालको भन्दा श्रीलंकाको अर्थतन्त्र करिब तीन गुणा ठूलोे छ । भारतमा करिव १३ ब्रोकर छन् । तर त्यहाँको अर्थतन्त्र, पुँजीबजार, संस्थागत लगानीकर्ताको उपस्थिति, लगानीकर्ताको सचेतनाको अवस्था नेपालसँग तुलना नै गर्ने अवस्था छैन ।

ब्रोकरले पहुँच विस्तार गर्न चाहेर पनि नियामकले सहयोग गरेको छैन । अहिले धितोपत्र दलाल कम्पनीको संख्या थोरै भयो भन्दा पनि कसैको स्वार्थमा लिइएको नीति हो । बाहिरबाट हेर्दा स्टक ब्रोकिङ विजनेस आकर्षक पनि देखिन्छ र त्यही देखेर आकांक्षीहरु बढेका हुन् र तीनै आकांक्षीहरुको इच्छा पुरा गर्नका लागि नयाँ ब्रोकर थप्न खोजिएको हो भन्ने मलाई लाग्छ ।

ब्रोकर लाइसेन्सका लागि प्रस्ताव आह्वान गर्दा पनि आवेदन मध्ये कुनै वा सबै स्वीकृत गर्ने नगर्ने अधिकार बोर्डमा हुने शर्त राख्नुले पनि सिमित व्यक्तिका लागि हो भन्ने स्पष्ट हुन्छ । त्यसैले बजारको हितका लागि मात्र भन्दा पनि स्वार्थ सहित ब्रोकरको संख्या थप गर्न लागिएको हाम्रो बुझाइ हो ।

त्यसो भए धितोपत्र बोर्डले अहिले ब्रोकर संख्या थप गर्न खोज्नुलाई नीतिगत भ्रष्टाचार भन्न मिल्छ त ?

नीतिमा आइसकेपछि यसलाई खुलेरै नीतिगत भ्रष्टाचार त कसरी भन्ने ? बजारमा प्रतिस्पर्धी बढेपछि सेवाको गुणस्तर बढ्छ । प्रतिस्पर्धा बढाउने भनेको गुणस्तरर बढाउने र शुल्क घटाउने हो । हामीकँहा नियामकले नै तोकेको शुल्क भएकाले त्यसको प्रतिस्पर्धाले खासै भुमिका खोल्छ जस्तो लाग्दैन । ओपन इन्ट्रि ओपन एक्जिट भनिएपनि त्यो हुन सकेन । त्यसका साथै संख्यामा सिमित गर्न मापदण्ड तोकिएको पनि भन्ने गरिएको छ ।

नियमावली तयार गर्दा पनि धितोपत्र बोर्डमै पनि प्रयाप्त छलफल नगरिएको गुनासो कर्मचारीहरुले नै गर्दै आएका छन् । यी सबै कुरालाई हेर्दा नीतिगत भ्रष्टाचार हो की भन्ने आभाष हुन्छ । यति गर्दै गर्दा पनि बोर्डले चाहेको व्यक्तिलाई मात्र लाइसेन्स दिने अवस्था पनि छैन । यो भने सकारात्मक हो ।

नियामकका कारण ब्रोकर शाखा विस्तार हुन नसकेको भन्नु भयो । ब्रोकरले शाखा कार्यालयलाई ठेक्कामा लगाउने जस्तो विकृति देखिएपछि कडाइ गरेको होला नी ?

बोर्डले ब्रोकरलाइ नियमन गर्छ । कसैले आफ्नो शाखालाई ठेक्कामा दिएको अवस्था हो भने त्यसको सम्पूर्ण जोखिमको जिम्मा धितोपत्र व्यवसायीकै हुन्छ । आफै चलाए वा ठेक्कामा दिए भन्ने कुराले खासै अर्थ राख्छ जस्तो लाग्दैन । कुनै व्यवसायीले त्यस्तो गरेको खण्डमा त्यसलाइ कारबाही गर्ने हो की सम्पूर्ण व्यवसायीलाई शाखा खोल्न नै रोक लगाउने त ? कमजोरी गर्नेलाई नियामकले कारबाही पनि नगर्ने र सम्पुर्ण बजारलाई बन्धक बनाउनु राम्रो होइन ।

हामीले बजार विस्तारका लागि अनुमति माग्दा बोर्डले निवेदनमाथि केहि कारबाही गरेन । त्यतिमात्र होइन नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनुमती दिनुपर्नेमा यो काम धितोपत्र बोर्डमा लगियो । अन्तराष्ट्रिय अभ्यासमा पनि ब्रोकर वा ब्रोकर शाखाको अनुमति दिने अधिकार स्टक एक्सचेन्जकै हुन्छ । धितोपत्र बोर्डमा लैजानुको कारण नेप्सेमा समस्या भएकाले हो भन्ने बुझिएको थियो । तर, त्यसो हुन सकेन ।

अनुमति दिने अधिकार धितोपत्र बोर्ड गएपछिका केही वर्ष त झन एउटा शाखा पनि विस्तार भएन । बोर्डको नेतृत्व परिवर्तन भएपछि केही शाखा थपिए । पुँजी बजारको पहुँच विस्तार तथा व्यवसायलाई फैलन दिने नदिने भन्ने कुरा नेतृत्व सँग पनि जोडिदो रहेछ ।

ब्रोकरले आधिकारिक प्रतिनिधि मार्फत सेवा प्रदान गर्ने व्यवस्था गर्न भन्दै आएको वर्षौ भइसकेको छ । ब्रोकरको प्रयास र नेतृत्व परिवर्तन पछि कार्यविधि तयार भयो । त्यो अर्थ मन्त्रालयमा पनि छलफल भएको थियो । त्यही बीचमा नयाँ नेतृत्व आयो । नयाँ नेतृत्वले त्यस विषयमा सुन्न चाहेन । नियामकबाट भएका यी सबै गतिविधिलाई हेर्दा बजारको पुहँच विस्तारलाई बन्धक बनाउने र ब्रोकरको संख्या थपे मात्रै पहुँच विस्तार हुन्छ भन्ने धारण जनमानसमा विकास गरेर अनुमति दिने बातावरण तयार गरिएको स्पष्ट छ ।

लगानीकर्ताहरुले धितोपत्र दलाल कम्पनीको संख्या थप गर्ने माग राख्दै अनसनसम्म बसेका थिए । तपाईहरुले स्तरीय सेवा दिएको भए लगानीकर्ता ब्रोकर थपको माग गर्दै आन्दोलन गर्ने अवस्था आउने थिएन होला नी ?

सेवाको गुणस्तर भन्ने वित्तिकै अहिलेको समयमा प्रविधिको प्रयोगले मात्रै अर्थपूर्ण हुन्छ । प्रविधिको प्रयोगमा लगानीकर्ताको पक्षबाट पनि उत्तिकै महत्वुर्ण भुमिका रहन्छ । त्यसका साथै ब्रोकरले प्रविधिमा आधारित सेवा दिन नियामक निकाय र बजार सञ्चालक तथा अन्य निकायमा भर पर्नुपर्छ । हरेक प्रविधि एक अर्कासँग सञ्चालन हुने खालको हुनु पर्छ । त्यसका लागि हामीले एपिआइ मोडमा काम गर्नु पर्ने हुन्छ ।

हाल सञ्चालनमा रहेको पुँजी बजारको प्रविधि पनि एपीआई मोडमा छैनन । हामीले अहिले पनि ४ देखि ५ वटा प्रणाली चलाउछौ । तीनीहरु ले एक अर्कालाई चिन्दैनन् । ब्रोकर अफिसमा सेवा लिन आउने ग्राहक एक जना हुन्छ । तर, उसलाई ५ वटा बनाएर सबै प्रणालीलाई चिनाउनु पर्ने अवस्था छ ।

अहिले धितोपत्र बजारमा पुराना लगानीकर्ता करिब २० प्रतिशतमा सिमति भएको अवस्था छ । ब्रोकरले दिदै आएको सेवाको गुणस्तरमा सुधार भए नभएको भन्ने कुरा विगत एक दशकलाई हेर्न सकिन्छ । यो लगानीकर्ताले नै महशुस गर्ने विषय हो । भर्खरै आएका लगानीकर्तालाई हिजो के थियो र अहिले के भयो भन्ने थाहा हुदैन । ब्रोकर सेवाको गुणस्तरमा आएको सुधारको बारेमा बुझ्ने लगानीकर्ता थोरै छन् । थोरैले बोलेको कुरा जहिले पनि दबिन्छ । 

सेवाको गुणस्तर पक्कै पनि बढेको छ । विगतमा ४० देखि ५० हजार लगानीकर्तालाई सेवा दिएका ब्रोकर अहिले १४ देखि १५ लाखलाई सेवा दिइरहेका छन । ब्रोकर कार्यालयको अवस्था, कर्मचारीको संख्या, प्रविधि लगायतमा गरिएको सुधारले सम्भव भएको स्पष्ट हुन्छ ।

यति भन्दै गर्दा ब्रोकरहरुले दिएको सेवा शतप्रतिशत सन्तोषजनक छ भन्न खोजेको होइन । ब्रोकरले प्रदान गर्ने सेवामा पूर्ण सुधार नहुनुमा ब्रोकर भन्दा पनि अन्य बाह्य कारण धेरै छन् । यसका लागि धितोपत्र बोर्ड, नेप्से, केन्द्रीय निक्षेप प्रणाली लगायत सबै पक्षको उत्तिकै सहयोग आवश्यक हुन्छ । त्यसका लागि सबै पक्षले काम गर्दै आएको अवस्था छ । सेवामा गुणस्तर सुधारका लागि नयाँ ब्रोकरको आवश्यकता नै होइन । धितोपत्र बजारका प्रणाली एपीआई मोडलमा जाने वित्तीकै अहिलेको तुलनामा धेरै सुधार हुन्छ ।

बोर्डको नियामकीय तथा सुपरिवेक्षण क्षमता कमजोर हुँदा विगतमा पनि बजारका गलत क्रियाकलाप नियन्त्रण गर्न नसकेको अवस्था छ । बोर्डले आफ्नो क्षमता विस्तार नगरी नियमन संस्थाहरु बढाउँदै जाँने नीतिले बजारमा कस्तो असर गर्ने देख्नुहुन्छ ?

गलत काम गरेको खण्डमा कारबाही गर्ने हो । ब्रोकरको सन्दर्भमा कुरा गर्दा बोर्डले कारबाही गरेको पनि छ । नेपालमा नेप्से संगै ब्रोकिङ व्यवसाय सुरु भएको करिब २९ वर्ष भएको छ । यो अवधिमा लगानीकर्ताले ब्रोकरका कारणले एक रुपैयाँ वा एक कित्ता सेयर गुमाउनु परेको अवस्था छैन । बरु ब्रोकरले आफ्नै सञ्चितिबाट वा नाफाबाट कटाएर भएपनि लगानीकताको पक्षमा काम गर्दे आएका छौ ।

उदाहरणका लागि केही वर्ष अघि चिलिमे हाइड्रो पावर कम्पनीको नक्कली प्रमाणपत्र ल्याएर कारोबार भयो । त्यसरी भएको कारोबारमा पनि ब्रोकरले लगानीकर्तालाई एक रुपैयाँ क्षती हुन दिएन । जसले त्यो नक्कली सेयर किनेको थियो त्यसलाई पुरै रकम भरपाइ पनि ब्रोकरले नै गर्योे । त्यती गर्दा पनि ब्रोकर समेत कारबाहीमा प¥यो । त्यस्तो गलत काम गर्ने व्यक्तिलाई प्रहरी लगाएर पक्राउ गर्ने काम पनि ब्रोकर आफैले गरेको हो ।

बजारमा गलत अभ्यास लगानीकर्ता बाटै सुरु हुन्छ । लगानीकर्तालाई कारबाही गर्न बलियो कानुनी आधार पनि बनेको छैन । बजारमा अनेक प्रकारका गलत अभ्यास भएको सुन्न मात्र होइन देख्न समेत पाइन्छ । यो गलत हो भनेर ढुक्कसंग भन्न सकिन्छ ।

तर गलत हो भन्ने पहिचान भएपछि कारबाही गर्ने आधार पनि छैन । बजारलाई स्वच्छ रुपमा चलाउन आवश्यक कानुन हुनु पर्यो । कानुन विपरित काम भएको छ छैन भन्ने पत्ता लगाउन प्रविधि चाहियो तथा डेटा वेस चाहियो । त्यो प्रविधि र डाटा वेस नियामक र बजार सञ्चालकसँग आजको दिनमा पनि छैन ।

सहुलियतसहित सहज सेवा प्रदान गर्दा पनि लगानीकर्ता नै अहिलेका ब्रोकरको विरुद्ध लागेका हुन् त ?

हामी सुरु देखि नै अन्तराष्ट्रिय अभ्यासमा गएनौ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा सेयरको कारोबार नगदमा वा मार्जिन टे«डिङ अन्तर्गत सेयरको कारोबार गर्न सकिने बिकल्प छ । हाम्रो बजारमा मार्जिन टे«डिङ पुर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । नगद भुक्तानीमा पनि लगानीकर्ता तयार हुँदैनन । त्यसपछि उधारोमा कारोबार गर्नै पर्ने हुन्छ । यो अभ्यास अहिलेको मात्र नभइ विगतदेखि नै चल्दै आएको हो । यो अभ्यासलाई आजको भोलिनैै परिवर्तन गर्न सकिदैन । विस्तारै यसमा सुधार आउन थालेको भने पक्कै हो । नेपाली लगानीकर्ताले ब्रोकरबाट विश्वमै नभएको सुविधा पाएका हुन् । यस्तो सुविधा लिने लगानीकर्ताको संख्या न्यून छ । आजको दिनमा पनि धितोपत्र दलालको इक्विटीको करिब १५ प्रतिशत रकम बरावरको उधारो कारोबार रहेको छ ।

धितोपत्र दलाल कम्पनीलाई कमिसन आम्दानी बढाउन मिलेमोतोमा कारोबार रकम बढाउने, आफैले सेयर कारोबार गर्ने तथा धितोपत्र बजार सूचक घटाउने बढाउनेसम्म गर्ने गरेको आरोप लाग्दै आएको छ, यसको वास्तविकता के हो ?

हामीलाई यस्ता आरोप आउनुको पछाडी पनि अन्तराष्ट्रिय अभ्यासलाई अनुसरण नगरेको कारणले नै हो । अन्तराष्ट्रिय बजारमा सबैभन्दा ठूलो कारोबारी र लगानीकर्ताको रुपमा ब्रोकर नै रहेका हुन्छ । बजारमा जति धेरै तरलता भयो त्यति राम्रो हो । प्रयाप्त तरलता हुँदा लगानीकर्ताले चाहेको समयमा खरिद बिक्री गर्न सक्छन । त्यो भएपछि संस्थागत तथा विदेशी लगानीकर्ता बजारमा आउछन् । त्यसका साथै विदेशी लगानीकर्ताले बजारको कारोबार रकमलाई पनि हेर्छन ।

कारोबार रकम धेरै हुनका लागि सबैभन्दा राम्रो अभ्यास गर्ने भनेको ब्रोकर नै हो । लगानीकर्ता भनेको बजारका लागि अस्थायी हुन्छ तर ब्रोकर भनेको स्थायी हुन्छ । त्यसैले बजार तरलता तथा कारोबार रकम बढाउनका लागि ब्रोकरलाई नै प्रमोट गर्नु पर्छ भनिन्छ । त्यसका लागि ब्रोकर कम्पनीलाई नै कारोबार गर्न दिने हो ।

त्यसका लागि नियामकलाई रिपोटिङ गर्नु पर्ने छुट्टै व्यवस्था भने गर्नु पर्छ । ब्रोकर कम्पनीका कर्मचारीलाई समेत कारोबारमा रोक लगाइयो । विश्वको अभ्यास भन्दा हामी विपरित दिशामा गइरहेका छौ । अव ब्रोकर कम्पनी र यसका सेयरधनी तथा कर्मचारी सबैलाई उचित डिस्क्लोजर राखेर कारोबार गर्न दिनुपर्छ ।यसका लागि ब्रोकरको कारोबार दैनिक रुपमा बाहिर आउने व्यवस्था गर्नुपर्छ । त्यो भएपछि लगानीकर्तालाई पनि ब्रोकरको कारोबारको जानकारी हुन्छ । त्यसका साथै नियामकलाई पनि नियमन तथा सुपरिवेक्षण गर्न सहज हुन्छ । त्यसरी काम गर्न दिएको खण्डमा यस्ता गुनासहरु पनि आफै हराएर जान्छन ।

बजारको घटवढलाइ ब्रोकरसँग जोडिदै आएको छ । जुन गलत हो । अहिले धितोपत्र दलाल कम्पनीको संख्या थप्ने भएपछि ब्रोकरले बजार घटाए भन्ने सुनिन्छ । विगतमा पनि ब्रोकर कमिसन घटाउने सन्दर्भमा यस्ता आरोप आउने गरेका हुन । यो आरोप लगाउदै गर्दा ब्रोकर पोर्टफोलियो पनि हेर्नुपर्छ भन्ने लाग्छ । बजार घटेको समयमा ब्रोकरको पोर्टफोलियो पनि त घट्छ । घटेको समयमा बिक्री गर्न कुन ब्रोकरले चाहन्छ र । ब्रोकरले भनेर कुन लगानीकर्ताले घाटा खाएर आफ्नो सम्पत्ति बिक्री गरिदिन्छ । ब्रोकर थप्ने, कमिसन घट्ने लगायतका विषयहरु बजार कमजोर भएको समयमा आउँछन । त्यसपछि सबैको ध्यान पनि यसले तान्ने भएकाले ब्रोकरलाई आरोप लाग्ने गरेको हो । यसमा कुनै पनि आधार छैन । यस्तो आरोप लगाउने लगानीकर्ता भनेका अविवेकी निर्णय गर्ने र आफ्नो सम्पत्तिको क्षय गर्ने प्रपञ्च मात्र हो ।

सरकारी निकायले धितोपत्र बजारलाई हेर्ने नकारात्मक दृष्टिकोण भएकै कारण लगानीकर्ता बाम्बार आन्दोलित भएका हुन वा त्यसमा अन्य कारण पनि छन् जस्तो लाग्छ ?

यसमा लगानीकर्ता आन्दोलन गरेको समयलाई पनि ध्यान दिनु पर्छ । जब बजार घट्न थाल्छ अनि लगानीकर्ताले आन्दोलन गर्ने गरेको देखिन्छ । आन्दोलन गर्न हुँदैन भनेको होइन । तर, कुनै पनि आन्दोलन स्वार्थसँंग जोडिएको हुनु हुँदैन । लगानकर्ताले जहिले पनि बजार घटेको समयमा मात्र आन्दोलन गरेका छन । त्यसले गर्दा पनि स्वार्थ जोडिएको भन्ने स्पष्ट हुन्छ । लगानीकर्ताका आन्दोलनमा केही एजेण्डाहरु दोहोरिरहेका हुन्छन । त्यो भनेको सरकारी तवरबाट हुनु पर्ने काम समयमा नभएर पनि होला ।

नियामक तथा बजार सञ्चालकले जिम्मेबारी पूरा गरिदिएको भए लगानीकर्ताको आन्दोलनमा ती एजेण्डाहरु आउँदैन थिए होला । बजार सुधारलाई देखाएर विभिन्न स्वार्थका लागि आन्दोलन गर्ने अवस्था पनि हुदैनथ्यो ।

धितोपत्र बजार आन्तरिक बा बाह्य संकट (भुकम्प, आर्थिक संकट, कोरोना महामारी) को अवस्थामा मात्र बढेको देखिन्छ, यस्तो किन हुन्छ ?

धितोपत्र बजारलाइ सकारात्मक प्रभाव पार्ने मूख्य तत्व भनेको वित्तीय क्षेत्रको तरलता र ब्याजदर रहेछ । त्यसका साथै नियामकले ल्याउने पुँजी वृद्धिको योजना पनि देखिन्छ । आन्तरीक द्धन्द, आर्थिक संकट, भुकम्प, महामारी जस्ता ठूला र सर्वसाधारणको दैनिक जनजिवन प्रभावित पार्ने घट्ना भएका छन् ।

त्यो समयमा बैंक वित्तीय संस्थामा अधिक तरलता हुने र ब्याजदर घट्ने अवस्था देखिएको छ । त्यसको सकारात्मक प्रभाव धितोपत्र बजारमा परेको देखिन्छ । अर्थतन्त्रको अवस्था तथा कम्पनीको कायएसम्पादनले हाम्रो बजारलाई निर्देशित गरेको देखिदैन । त्यसका साथै बजारमा कारोबारी मानसीकता बढेको हुनाले पनि बजारले त्यस्ता विषयलाई ध्यान नदिइएको देखिन्छ । तर, दिर्घकालीन लाभका लागि कम्पनीको आधारभूत वित्तीय अवस्थाको विश्लेषण गर्नु नै उपयुक्त हुन्छ ।

बोर्डको नयाँ नेतृत्वको कार्यशैलिले बजारमा देखिएका समस्याहरु समाधान हुने सम्भावना कत्तिको देख्नुभएको छ ?

बोर्ड नेतृत्वले नयाँ स्टक एक्सचेन्ज र धितोपत्र ब्रोकर थप्न देखाएको चासो र सक्रियाता जस्तै अन्य काम पनि भए धेरै राम्रो हुन्थ्यो । यहि स्प्रिटमा काम भए दिर्घकालिन रुपमा बजारको सुधार हुन्छ । हामीले अहिले सञ्चालन गरिहेको बजारको मोड निकै नै जोखिम युक्त छ । धितोपत्र बजारमा अहिलेसम्म सेटलमेन्ट ग्यारेन्टी फण्डको व्यवस्था छैन ।

ब्रोकरको इमान्दारीताका कारण धितोपत्र बजार २९ बर्षसम्म आइपुगेको हो । बजारको आकार पनि क्रमिक रुपमा बढेको छ । प्रविधिको प्रयोग पनि बढेको छ । प्रविधिको प्रयोग संगै जोखिम पनि बढेको छ । यस्ता खालका जोखिम व्यवस्थापनका लागि नियामकले गर्नुपर्ने काम धेरै छ । यो क्षेत्रमा काम पनि यसरी नै फटाफट आएको खण्डमा बजार नै सुरक्षित हुने थियो ।

बजारमा हुनुपर्ने पुर्वाधारको विकास गरेर बजारको सुधारका लागि काम होस भन्ने हो । यी सबै समस्याहरु समाधान भएको खण्डमा धितोपत्र दलाल कम्पनीले पनि सेवाको गुणस्तरमा ध्यान दिन पाउँछौ । अहिले लगानीकर्ताबाट पैसा उठ्छ की उठ्दैन, सेयर आउँछ की आउँदैन भन्ने विषयमा सोच्नु परेको छ । यसमा पनि सोही गतिमा सुधार गर्न बोर्डलाई अनुरोध पनि छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments