धितोको ९०% सम्म अन्तिम ऋणदाता सुविधा पाइने, कर्जाको अधिकतम अवधि एक वर्ष

नोटबजार संवाददाता
काठमाण्डौं ।
६आश्विन, २०७९, बिहीबार / Sep 22, 2022 20:15:pm

नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा दिँदा धितोको ५० देखि ९० प्रतिशत सम्म कर्जा दिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले अन्तिम ऋणदाता सुविधालाई व्यवस्थीत गर्न विनियमावलीको मस्यौदा तयार गर्दै धितोको ९० प्रतिशत सम्म एक वर्षका लागि ऋण दिने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली, २०७९ को मस्यौदा अनुसार अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसके मात्र यस्तो सुविधा लिन सक्नेछन् । बैंकिंङ प्रणाली प्रति सर्वसाधारणको विश्वसनियतामा कमी आउन नदिन तथा वित्तीय स्थायित्वका लागि केन्द्रीय बैंकले दिने कर्जा सुविधा हो ।

यस्तो ऋण लिनका लागि सरकारी सुरक्षणपत्रको धितोमा १० प्रतिशत, लगानी तथा आसामी लगायत अन्य सुरक्षणमा कम्तीमा २५ प्रतिशत, असल कर्जामा कम्तीमा ५० प्रतिशत कम कर्जा सुविधा उपलब्ध हुनेछ ।

यस्तो ऋणका लागि अन्तर्राष्ट्रिय विनिमय अधिकारपत्र, नेपाल भित्र भुक्तानी हुने गरी नेपाल सरकारबाट जारी भएको ऋणपत्र, राष्ट्र बैंकमा जम्मा रहेको निक्षेप वा ऐन अन्तर्गत राष्ट्र बैंकले कारोबार गर्न सक्ने सुन तथा बहूमूल्य धातु, विनिमयपत्र वा प्रतिज्ञापत्र, सुरक्षणपत्रको ग्यारेन्टी, संस्थाको असल कर्जा, बिबिध लगानी तथा आसामी र समितिले उपयुक्त ठानेका अन्य सुरक्षणपत्रको धितोमा यस्तो ऋण दिइने मस्यौदामा उल्लेख छ ।

यस्तो कर्जा लिनका लागि बैंक वा वित्तीय संस्थाको संचालक समितिले यस व्यवस्था अन्तर्गत ऋण माग गर्नु पर्नाको कारण, आवश्यक पर्ने रकम र सो को भुक्तानी योजनासम्बन्धी निर्णय गरी राष्ट्र बैंकमा निवेदन दिनुपर्ने व्यवस्था मस्यौदामा रहेको छ । बैंक वा वित्तीय संस्थाले निवेदन पेश गर्दा अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेको व्यहोरा स्वघोषणा गर्नुपर्नेछ ।

बैंक वा वित्तीय संस्थाले यस्तो कर्जा लिन तोकिएको ढाचामा प्रतिज्ञापत्र संस्थाको प्रमुख कार्यकारी अधिकृतले सहीछाप गरी राष्ट्र बैंक समक्ष पेश गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले प्रस्ताव गरेको छ । तमसुक र प्रतिज्ञापत्र पेश गर्दा ऋणदाता सुविधा अन्तर्गत प्राप्त रकमलाई खाम्ने जायजेथा र÷वा सुरक्षण पेश गर्नुपर्नेछ ।

बैंक वा वित्तीय संस्थालाई दिइने रकम तत्कालको आवश्यकता हेरी राष्ट्र बैंकबाट एकै पटक वा पटक÷पटक गरी स्वदेशी मुद्रामा प्रवाह हुनेछ । यस्तो सुविधा प्रदान गर्दा राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको निक्षेप संकलन, लाभांस वितरण, कर्जा प्रवाह, शाखा स्थापना तथा अन्य व्यवसायिक क्रियाकलापमा शर्त तोक्न सक्नेछ प्रस्ताव केन्द्रीय बैंकले गरेको छ ।

राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले अन्तिम ऋणदाता सुविधा उपयोग गर्ने संस्थालाई तोकिएका शर्तहरुको पालना भए÷नभए सम्बन्धमा नियमित अनुगमन गर्नेछ । इजाजतपत्रप्राप्त संस्थाको संचालक समितिले बैंक वा वित्तीय संस्था पुनरुत्थान गर्न पेश गरेको कार्ययोजना तथा संस्था दीर्घकालमा सहज ढंगले संचालन हुनसक्ने विषयमा राष्ट्र बैंक विश्वस्त भएमामात्र अन्तिम ऋणदाता सुविधाको लागि योग्य मानिने छ ।

यस्तो सुविधा लिनका लागि बैंक वा वित्तीय संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नस्कने अवस्थामा पुगेको हुनुपर्नेछ । ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई बैंक वा वित्तीय संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा यस्तो सुविधा प्रयोग गर्न सकिने केन्द्रीय बैंकले तयार गरेको मस्यौदामा उल्लेख छ।

बैंक वा वित्तीय संस्थाले प्रतिवद्धता जनाईसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थ व्यवस्थामा पर्ने भएमा तथा एक बैंक वा वित्तीय संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धरासायी हुने गरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा यस्तो सुविधा पाउन सकिने मस्यौदामा उल्लेख छ ।

त्यसैगरी प्राकृतिक प्रकोपको कारण बैंक वा वित्तीय संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने भएमा वा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट बैंक वा वित्तीय संस्था आफ्नो तत्कालको दायित्व पुरा गर्न असमर्थ भएमा पनि यो सुविधा प्रयोग गर्न सक्नेछन ।

बैंक बित्तीय संस्थाले आफ्नो दायित्व पूरा गर्न नसकेपछि संस्था खारेजीमा लैजाँदा अर्थ व्यवस्था तथा वित्तीय प्रणालीमा चुनौति सृजना हुन सक्ने अवस्थामा पनि यस्तो सुविधा लिन सकिने राष्ट्र बैंकले प्रस्ताव गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments