काठमाडौँमा विद्युतीय बस र्‍यापिट ट्रान्जिट चलाउने योजनामा लगानी बोर्ड

नोटबजार संवाददाता
काठमाण्डौं
७आश्विन, २०७९, शुक्रबार / Sep 23, 2022 13:24:pm

काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनलाई वातावरणमैत्री र भरपर्दो बनाउन लगानी बोर्डले हालको चक्रपथलाई विद्युतीय बसको र्‍यापिट ट्रान्जिटका रुपमा विकास गर्न सकिने देखाएको छ ।

अव्यवस्थित सार्वजनिक यातायात प्रणाली, साना सवारीको चाँप र वातावरण प्रदुषणको अवस्था हेर्दा चक्रपथलाई विद्युतीय बसका र्‍यापिट ट्रान्जिटका रुपमा विकास गर्न सकिने पूर्वसम्भाव्यता अध्ययनले देखाएको हो ।

नेपालमा हालसम्म कार्यान्वयनमा नरहे पनि बस र्‍यापिट ट्रान्जिट विश्वमै प्रचलित हो । भारतको अहमदाबाद भोपाल इन्दौर र सुरतमा पेट्रोलियम बसका यस्तो प्रणाली प्रभावकारी रुपमा सञ्चालन हुँदै आएको छ ।  सो प्रणालीमा रहने बसका लागि छुट्टै लेन, व्यवस्थित ट्राफिक प्रणाली, भाडा भुक्तानीको आधुनिक विद्युतीय प्रणाली व्यवस्था गरिएको हुन्छ ।

यसबाट यातायात व्यवस्थित सहज र छिटो हुन्छ । साथै यो प्रणालीमा परिष्कार गरेर मेट्रो रेल प्रणाली पनि सञ्चालन गर्न सकिन्छ । सञ्चालन खर्चका हिसाबले र्‍यापिट ट्रान्जिट प्रणाली रेल प्रणालीभन्दा सस्तो पनि मानिन्छ ।

लगानी बोर्डले पूर्व सम्भाव्यता अध्ययनको कम सम्पन्न गरी विस्त्रित सम्भाव्यता अध्ययनका लागि ठेक्का तथा खरिदप्रक्रियामा जुटिरहेको छ । उसको योजना अनुसार अबको करिव डेढ वर्षमा पूर्वसम्भाव्यता अध्ययनको काम सम्पन्न हुनेछ भने दुई वर्षमा लगानी सुनिश्चिताको प्रयास हुनेछ । 

पूर्वसम्भाव्यता अनुसार २७.३ किलोमिटरको रिङरोडमा १६० वटा सम्म ठूला विद्युतीय बस सञ्चालन गर्न सकिन्छ । यद्यपि प्रणालीको स्थिर सञ्चालनमा लागि ७५ वटा बस आवश्यक हुने देखिएको छ । यस्ता बसका लागि एउटा टर्मिनल र २७ वटा बस स्टेसन निर्माण गर्नुपर्ने हुन्छ ।

टर्मिनलमा पर्याप्त चार्जिङ स्टेनस जडान गर्ने, सडकका विभिन्न स्थानमा पुल तथा फ्लाईओभर निर्माण, सवारी साधनलाई जीपीएस प्रणालीमा आवद्ध गर्ने, स्मार्ट कार्ड वा सिक्का मार्फत भाडा भुक्तानी व्यवस्था गर्नुपर्ने सो परियोजनामा समेटिएको छ ।

यो प्रणाली मार्फत प्रतिघण्टा ८ हजार ३१६ जना यात्रुलाई सेवा दिन सकिने बोर्डको अध्ययनले देखाएको छ । यो परियोजना निर्माण व्यवस्थापन तथा सञ्चालनमा निजी क्षेत्रलाई नै अग्रसर गराउन उपयुक्त हुने बोर्डको आँकलन छ । यो परियोजना निर्माणका लागि १५ करोड ३० लाख अमेरिकी डलर लागत लाग्ने अनुमान बोर्डले गरेको छ, जुन सन् २०१९ को मूल्यका आधारमा तय गरिएको हो ।

यो आयोजना उपत्यकाको यातायात प्रणाली सुधार, यात्रुको यात्रा समय न्यूनीकरण र  वातावरणीय तथा जनस्वास्थ्यका हिसाबले आकर्षक रहेको ठम्याइ लगानी बोर्डको छ । 

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments