अमेरिकी डलरको भाउ बढ्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

नोटबजार संवाददाता ।
काठमाडौं ।
७आश्विन, २०७९, शुक्रबार / Sep 23, 2022 08:29:am

अमेरिकी डलरको भाउले नयाँ उचाई लिएपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि १ अमेरिकी डलरको खरिद मूल्य १२९.०८ रुपैयाँ र बिक्री मूल्य १२९.६८ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च भाउ हो।

गत साउन ५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा पुगेको थियो।

विश्वका कैयन देशमा आर्थिक संकट देखिन थालेपछि विभिन्न व्यक्तिले डलर सञ्चय गर्न थालेपछि विश्व बजारमा डलरको माग बढ्दा भाउ आकाशिन थालेको हो । अमेरिकि फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउ निरन्तर बढीरहेको छ। फेडले पाँचौ पटक औसत ब्याजदर बढाएर ३ प्रतिशत पुर्याएको छ ।

महङ्गी नियन्त्रण गर्न फेड आक्रामक, पाँचौ पटक ब्याजदर बढाएर ३% पुर्‍यायो

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । नेपालमा विदेशी मुद्रासँगको विनिमय दर भारतीय मुद्रासँग ‘पेग’ गरेर निर्धारण गरिएकाले भारतको मुद्राको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपाली मुद्रासँगको सटही रेट तय हुन्छ ।

फाइदा भन्दा बेफाइदा बढी

नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन् ।

डलरको भाउ बढ्दा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बाट फाइदा भएपनि त्यो भन्दा बढी आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा बढी घाटा पर्छ । डलर महङ्गिँदा वैदेशिक ऋणको लागत बढ्नुका साथै निर्यात महँगो पर्न जान्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ ।

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ।

नेपाल उपभोग्य वस्तुदेखि विलासी सामाग्री गाडीसम्म सबै आयातमा निर्भर रहकाले डलर बढ्दा नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुन्छ । नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

डलरको भाउ बढ्दा त्यसले पर्यटन मार्फत् हुने आम्दानी बढाइदिन्छ । नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ । यस्तै डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन् । डलर महँगो भएसँगै यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिने हुँदा देशको शोधनान्तर घाटा थप बढ्छ ।

नेपालका ६० प्रतिशत बढी व्यापार भारतसँग हुने गरेको छ । यसले इन्धनको मूल्य बढी तिर्नुपर्ने र भारु सस्तो हुँदा नेपालमा पनि महँगी बढ्नसक्ने हुनसक्छ । बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।

भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोग्य वस्तुको मूल्यमा देखिन थाल्छ।

डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नुपर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।

पछिल्लो समय करिब लाखको संख्यामा नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। शैक्षिक डिग्री हासिँल गर्नका लागि उनीहरूले त्यहाँ विदेशी मुद्रामा रकम भुक्तानी गनुपर्छ । डलरको भाउ बढ्दा ती विद्यार्थीको परिवारमाथि आर्थिक बोझ थपिन्छ भने समग्रमा नेपाली अर्थतन्त्रमा नै त्यसको चाप पर्न जान्छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments