उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड: मिठाई, रेष्टुरेन्ट र थकाली सबैतिर स्वच्छताका दृष्टिले कमजोर

-नोटबजार संवाददाता ।
काठमाडौं ।
२कार्तिक, २०७९, बुधबार / Oct 19, 2022 09:52:am

राजधानीका अधिकांश मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि थालेको पर्वलक्षित अनुगमनका क्रममा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको हो ।

महानगरले मंगलबार वडा नम्बर १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नम्बर ३१ मा सञ्चालित कोलकत्ता स्वीट्स प्रालि, द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफुल पसलको अनुगमन गरेको थियो ।

पर्वलक्षित अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागको नेतृत्वमा गएको टोलीले अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गरेको पाइएको हो ।

स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाई र स्वच्छताका दृष्टिले कमजोर पाइएको, परिकार बनाउने कच्चा पदार्थहरु चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरुलाई खास चासो देखिएन । त्रिपाठीका अनुसार भान्छामा काम गर्नेहरुले व्यक्तिगत सफाई कमजोर, एप्रोनको सही प्रयोग नगरेको, फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर, खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका प्रयोग गरिएको अनुगमनका क्रममा देखिएको हो ।

अनुगमन गरी फर्किएका निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले भने, ‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो । व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर ३ दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ । थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो । यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिहरुको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ ।’

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई ३ दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ ।  उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त सकुन् भन्ने उद्देश्यले महानगरले कार्तिक १ गते मंगलबारदेखि बजार अनुगमन गर्न थालेको हो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments