तिहारअघि साढे ५ अर्बको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

-नोटबजार संवाददाता ।
काठमाडौं ।
४कार्तिक, २०७९, शुक्रबार / Oct 21, 2022 11:31:am

नेपाल राष्ट्र बैंकले तिहारअघि नै मौद्रिक उपकरण ट्रेजरी बिल परिचालन गरेर साढे ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋणको स्रोत जुटाउनका लागि केन्द्रीय बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । बैंकले यसअघि जारी गरिसकेको ट्रेजरीको म्याद समाप्त भएकाले आइतबार पुनः बोलकबोल मार्फत नवीकरण गर्न लागेको हो ।

राष्ट्र बैंकले ३ अर्ब ६० करोड रुपैयाँको ९१ दिने र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । आइतबार बोलकबोल भई कार्तिक १४ गते जारी हुने ट्रेजरी ९१ दिन अवधिको ट्रेजरी बिल आगामी माघ १० गते तथा एक वर्ष अवधिको ट्रेजरी २०८० असोज कार्तिक ७ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत सोमबार दिउँसो ३ बजेभित्र बोलकबोलमा सहभागि हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

यसअघि असोज ३१ गते जारी भएको ट्रेजरी बिल्समा औषतमा देखि १०.२३७० बट्टादर (डिस्काउन्ट रेट) कायम भएको थियो । सो समयमा २ अर्बको २८ दिन अवधिको ट्रेजरीमा बट्टादर औसतमा ८.६१५९, ९१ दिन अवधिको ५ अर्ब २० करोडमा १०.७१८९, १८२ दिन अवधिको ५ अर्बमा १०.८४७० र एक वर्ष अवधिको ट्रेजरीमा १०.७६६३ बट्टादर कायम भएको थियो ।

ट्रेजरी बिल एक वर्ष वा सो भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ ।

ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments