ट्रेजरी बिल्सको डिस्काउन्ट रेट झनै बढ्दै, अधिकतम १२.७ प्रतिशतसम्म अफर
सरकारले आन्तरिक ऋणको सावा भुक्तानी नगर्ने भएपछि सोमबार नविकरणका लागि आह्वान गरिएको बोलबाट सबै प्रकारका ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट दोहोरो अंकमा पुगेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव भएपछि बैंकहरुले डिस्काउन्ट रेट बढेर सरकारी ऋण पत्र खरिदको अफर दिएका हुन ।
सरकारले सावाँ भुक्तानी नगर्ने भएपछि सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बरावरको टे«जरी बिल्स नविकरणको गरेको हो । उक्त बोलमा बैंक वित्तीय संस्थाले अघिकत १२.७० प्रतिशतसम्म डिस्काउन्ट रेट मागेका हुन । नेपाल राष्ट्र बैंकले तीन प्रकारका सरकारी ऋणपत्र नविकरणका लागि बोलकबोल आह्वान गरेको थियो।
सोमबार केन्द्रीय बैंकले ९१, १८२ र ३६४ दिने ट्रेजरी बिल्स नविकरणका लागि बोलकबोल गरेको हो । त्यस मध्ये ९१ दिने ५ अर्ब १० करोड रुपैयाँ बरावरको रहेको छ भने १८२ दिने १० अर्ब रुपैयाँ बरावरको रहेको छ । त्यसैगरी ३६४ दिने टे«जरी बिल्स एक अर्ब ५६ करोड रुपैयाँ बरावरको रहेको छ ।
उक्तट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले सबैमा दोहोरो अंकको डिस्काउन्ट रेट बोल गरेका छन् । बैंक वित्तीय संस्थाले ९१ दिने ट्रेजरी बिल्सको न्यूनतम ९.९४११ र अधिकतम ११.४३४८ प्रतिशत डिस्काउन्ट अफर गरेका छन् । यसको औसत डिस्काउन्ट रेट ११.१९६० प्रतिशत कायम भएको छ ।
त्यसैगरी १८२ दिने ट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले न्यूनतम १०.३००१ र अधिकतम १२.७०४४ प्रतिशत डिस्काउन्ट अफर गरेका छन् । उक्त ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.६४२५ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋणका लागि निष्कासन गरेको ३६४ दिने ट्रेजरी बिल्का लागि बैंक वित्तीय संस्थाले न्यूनतम १०.५०९४ र अधिकतम ११.४३०० प्रतिशत डिस्काउन्ट अफर गरेका छन् । यसको औसत डिसकाउन्ट रेट भने १०.९७५७ प्रतिशत कायम भएको छ।
ट्रेजरीको औसत डिस्काउन्ट रेट यसभन्दा अघिको तुलनामा धेरै हो । बैंकहरुले निक्षेपको ब्याजदर नवढाउने सहमती गरेको भएपनि टे«जरीको लगानीमा भने उच्च डिस्काउन्ट रेट माग गरेका हुन । यसभन्दा अघि गत साउनको सुरुवातीमा पनि बैंकहरुले उच्च ब्याजदर माग गरेपछि राष्ट्र बैंक आफैले ट्रेजरी बिल्सको खरिद गरेको थियो । तर, सोमबार भने बैंक वित्तीय संस्थाले उच्च ब्याजदर माग गर्दा पनि ब्याजदर नियन्त्रणका लागि राष्ट्रबैंकले हस्तक्षेप गरेन । यसले आगामी दिनमा अझै ब्याजदर बढोस भन्ने पक्षमा राष्ट्र बैंक रहेको स्पष्ट हुन्छ ।
यसभन्दा अघि अथार्त आइतबार पनि ५ अर्ब ६० करोड रुपैयाँ बरावरको टे«जरी बिल्सको निष्कासन भएको थियो । उक्त ट्रेजरी राष्ट्र बैंक आफैले खरिद गरेको छ । आइतबार सार्वजनिक विदाका कारणले पनि बैंक वित्तीय संस्थाले बोल नगरेपछि केन्द्रीय बैंक आफैले खरिद गरेको हो । सरकारले ९१ दिने ३ अर्ब ६० करोड र ३६४ दिने २ अर्ब रुपैयाँ बरावरको ट्रेजरी नविकरण गरेको हो । त्यसमा राष्ट्र बैंकले ९१ दिनेका लागि औसत १०.७१८९ र ३६४ दिनेका लागि १०.७६६३ प्रतिशत डिस्काउन्ट रेट कायम गरेको छ ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।