सेयर बजारमा यसकारण छायो गुल्जार, नेप्से २५.५६ अंकले बढ्दा २ कम्पनीमा सर्किट

-नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१मंसिर, २०७९, बिहीबार / Nov 17, 2022 16:02:pm

मंसिर ४ गते आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै चुनावअघिको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गुल्जार छाएको छ । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको तीन महिनामा अर्थतन्त्रका सूचक सकारात्मक बन्दा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ ।

बिहीबार नेप्से २५.५७ अंक अर्थात १.३४ प्रतिशतले बढेर १९३६.८३ बिन्दुमा पुगेको छ । बुधबार पनि बजारमा दोहोरो अंकको बढोत्तरी आएको थियो । आज २२३ कम्पनीको ४३ लाख ३४ हजार ४ कित्ता सेयर २७ हजार २३१ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ पुगेको छ । बुधबार ८५ करोढ ९४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बुधबार मुलुकको शोधानान्तर स्थिति १४ महिनापछि साढे १२ अर्बले बचतमा पुगेको छ भने चालु खाता घाटामा सुधार हुँदा ३४ अर्बमा झरेको छ । भदौको तुलनामा असोजमा मुद्रास्फीति घटेको छ भने निक्षेप र कर्जा वृद्धिदर सुस्त नै रहेको छ ।

चुनाव अघिको अन्तिम कारोबार दिन आज बिहीबार सूचक मात्र होइन अघिल्लो दिनको तुलनामा दोब्बर पुगेको छ । सूचकसँगै कारोबार वृद्धिले सेयर बजारमा सकारात्मक माहोल ल्याएको छ । चुनावमा उम्मेदवारले आफ्नो जित सुनिश्चितताका लागि कुस्त रकम खर्च गर्ने हुँदा बैंकिङ्क प्रणालीमा निक्षेप थप सहज हुने हुँदा लगानीकर्ताले बिहीबारको बजारमा सेयर खरिद बढाएका हुन् ।

अर्कोतर्फ नेपाल बैंकर्स संघले मङ्सिरका लागि ब्याजदर नबढाउने निर्णय गरेको छ । यसले सेयर बजारमा दाहोरो अंकको वृद्धि आएको छ । सेयर बजार र ब्याजदरबीच विपरित सम्बन्ध रहने गर्दछ । ब्याजदर बढ्दा सेयर बजार घट्न पुग्छ भने ब्याजदर घट्दै जाँदा सेयर बजारमा लगानी बढ्दै जाँदा सूचक र कारोबार रकम समेत वृद्धि हुँदै जाने गरेको छ ।

देशभरका उद्योगी ब्यवसायी चर्को ब्याजदरको विरुद्धमा सडक संघर्षमा उत्रिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग न्यून छ । कर्जा लगानी घटेर निक्षेप थपिँदा पछिल्ला दिनहरुमा क्रमशः तरलता सहज बन्दै जान थालेको छ । तरलता सहज बन्दै जाँदा ट्रेजरी बिल्सको डिकाउन्टदर समेत घटेको छ ।

बिहीबार दुई हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिक सेयरमूल्य बढ्ने कम्पनीमा जलविद्युत समुहका कम्पनीहरु रहेका छन् । सिक्लेसको सेयरमूल्य दश प्रतिशतले बढेर ३८८.४० रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेर ३५७.८० रुपैयाँ पुगेको छ । यस्तै बोटलर्स नेपाल तराई ७.५१, रिडी पावर ६.०३ र पन्चकन्या माई हाइड्रोपावरको ५.९९ प्रतिशतले बढेको छ ।  युनियन हाइड्रोपावर, सामलिङ्ग पावर, हिमालयन पावर पार्टनर, मध्ये भोटेकोशी र जोशी हाइड्रोपावरको पनि ५ प्रतिशतभन्दा धेरैले सेयरको भाउ बढेको छ ।

आजको बजारमा फरर्वाड माईक्रोफाइनान्सको सेयर लगानीकर्ताले सर्वाधिक २.९७ प्रतिशतले गुमाएका छन् । उच्च नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेपछि लगानीकर्ताले उक्त कम्पनीको सेयर थप घट्नसक्ने आंकलनका साथ सस्तो भाउमा नै बिक्री गरेका हुन् । त्यस्तै, इमर्जिङ नेपालको १.८७ प्रतिशत, तारागाँउ रिजेन्सी होटलको १.६९ प्रतिशत र समता घरेलु लघुवित्तको १.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।

आजको बजारमा १ अर्ब ७१ करोडमाथिको कारोबार हुँदा रिडी पावरको सर्वाधिक १४ करोड ३९ लाख १५ हजार रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ४० लाख, हिमालयन डिष्टिलरीको १० करोड २९ लाख, फरवार्ड माइक्रोफाइनान्सको ७ करोड ९० लाख र हिमालयन पावर पार्टनरको ६ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यस्तै नेष्डो समृद्ध लघुवित्त ५ करोड ७२ लाख, नेपाल लाइफ ४ करोड ९१ लाख, ङादी ग्रुप पावरको ४ करोड ५४ लाख, गोर्खाज फाइनान्स ३ करोड १५ लाख रुपैयाँ र अपि पावर कम्पनीको २ करोड ९४ लाख रुपैयाँको सेयर खरिद बिक्री भयो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments