रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का

-नोटबजार संवाददाता ।
काठमाण्डौं ।
७मंसिर, २०७९, बुधबार / Nov 23, 2022 11:40:am

रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

कम्पनीले मंगलबार बिहान ११ बजे बैठक बसेर लाभांश प्रस्ताव गरेपनि सूचना भने कारोबार समय सकिएपछि मात्र सार्वजनिक गरेको थियो । सेयरमूल्यमा प्रभाव पार्ने निर्णय बैठक समाप्त हुनासाथ सार्वजनिक जानकारी गराउनुपर्नेमा कम्पनीले सो नगरी कानुन उलङ्घन गरेपछि नेप्सेले बुधबार कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

रिडी पावरले सेयर बजार चलिरहेकै समयमा सञ्चालक समितिको बैठक राखेर लाभांश घोषणा गरेपछि कम्पनीको सेयर कारोबार रोक्का राख्दै नेप्सेले स्पष्टीकरण सोधेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (घ) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेको सूचनामा उल्लेख गरिएको छ ।

विनियमावलीको विनियम १६९ १ (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो र समयमा नै जानकारी नदिएको हो ? यो पत्र प्राप्त भएको मितिले ३  कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

रिडीले गत आवको नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेपछि कम्पनीको मंगलबार दोस्रो ठूलो (८ करोड ६७ लाख ६३ हजार रुपैयाँ) कारोबार भएको थियो । मंगलबार रिडी पावर कम्पनीको ५२६ रुपैयाँसम्म सेयर कारोबार भएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments