प्रथम चौमासमा विराटनगर नाकाबाट ३०% निर्यात, १५ भन्सार बिन्दुमा शून्य

नोटबजार संवाददाता
काठमाण्डौं ।
८मंसिर, २०७९, बिहीबार / Nov 24, 2022 10:09:am

चालु आर्थिक वर्षको प्रथम चौमासमा विराटनगर भन्सार नाकाबाट मात्रै नेपालबाट हुने कुल निर्यातको एक तिहाइ हिस्सा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सो नाकाबाट कुल निर्यातको २९.९० प्रतिशत निर्यात भएको हो ।

साउनदेखि कात्तिकसम्म नेपालले ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । जसमध्ये विराटनगरबाट मात्रै १६ अर्ब ३७ करोड ६९ लाखको निर्यात भएको हो । यस्तै दोस्रो धेरै निर्यात हुने भन्सार विन्दु विरगन्ज रहेको छ । जसबाट चार महिनामा १३ अर्ब ९४ करोड ७७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो कुल निर्यातको २५.४६ प्रतिशत हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र मेची भन्सार बिन्दुले कुल निर्यातको १० प्रतिशत भन्दा धेरै हिस्सा ओगटेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार महिनामा १२ अर्ब २५ करोड ३ लाख रुपैयाँ र मेची भन्सारबाट ६ अर्ब ७३ करोड २१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । जुन क्रमशः २२.३७ र १२.२९ प्रतिशत हो ।

धेरै वस्तु निर्यात हुने १० शीर्ष भन्सार नाकामा विरगन्ज सुख्खा बन्दरगाह, जलेश्वर, नेपालगन्ज, कैलाली, कपिलवस्तुको कृष्णनगर रहेका छन् । यी भन्सार नाकाबाट ३२ करोड देखि १ अर्ब २० करोड सम्मको निर्यात भएको विभागको तथ्यांक छ । 

समीक्षा अवधिमा देशभर सञ्चालनमा रहेका २६ भन्सार नाकाहरुमध्ये १५ भन्सार विन्दुमा नेपालबाट हुने निर्यात शून्य बराबर रहेको छ । ती नाकाहरुमा रसुवागढी, तातोपानी, सुनसरी, जनकपुर, महेशपुर, सती, सिराहा, भद्रपुर, थाडी, राजबिराज, गौर नाकाबाट शून्य निर्यात भएको छ ।

यसैगरी चोभार नाका, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल, कन्चनपूर, सर्लाही र सुनौली नाकाबाटको निर्यात पनि शून्य बराबर रहेको छ । यी पाँच नाकाबाट कुल निर्यातको ०.१० प्रतिशत भन्दा कम रहेको छ ।

गत वर्षको तुलनामा यो वर्षको निर्यात हिस्सा करिब २ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.३२ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा निर्यातको हिस्सा ११.२१ प्रतिशत रहेको थियो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments