सामाजिक सुरक्षा कोषका चार वर्ष, दुई प्रतिशत प्रतिष्ठान मात्रै सुचीकृत

-नोटबजार संवाददाता ।
काठमाण्डौं ।
९मंसिर, २०७९, शुक्रबार / Nov 25, 2022 15:23:pm

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा करिब दुई प्रतिशत प्रतिष्ठान मात्रै सुचीकृत भएका छन् । स्थापनाको चार वर्ष पूरा गर्दा पनि कोषमा न्यून संख्याका प्रतिष्ठान मात्रै दर्ता भएका छन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा करिब ९ लाख प्रतिष्ठान दर्ता भएका छन् । तर, दर्ता भएका सबै प्रतिष्ठान भने सञ्चालनमा नरहेको कोषको दाबी छ । कोषको तथ्यांक अनुसार कोषमा ३ लाख ७३ हजार १११ श्रमिक आबद्ध भएका छन् । कोषमा योगदान बापत २५ अर्ब ५७ करोड रुपैयाँ संकलन भएको छ । जसमध्ये २ अर्ब ५७ करोड दाबी भुक्तानी भएको कोषले जनाएको छ ।

औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम बापत ३० करोड ३२ लाख रुपैयाँ भुक्तानी भएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम बापत तीन करोड ३८ लाख रुपैयाँ भुक्तानी भएको छ । आश्रित परिवार सुरक्षा दाबी रकम बापत ४ करोड ७७ लाख र अवकाश दाबी रकम बापत २ अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको छ ।

त्यस्तै, कोषमा प्रदेश नम्बर एकका १ हजार ६० रोजगारदाता सुचीकृत भएका छन् भने ३६ हजार ४०७ श्रमिक सुचीकृत भएका छन् । प्रदेश नम्बर दुईमा ७९७ रोजगारदाता सुचीकृत भएका छन् भने २० हजार ४५८ श्रमिक सुचीकृत भएका छन् । बाग्मती प्रदेशमा १२ हजार ५४ रोजगारदाता र दुई लाख ८५ हजार ६७९ श्रमिक सुचीकृत भएका छन् ।

गण्डकी प्रदेशमा १४ रोजगारदाता र १४ हजार ३६८ योगदानकर्ता सुचीकृत भएका छन् । लुम्बिनी प्रदेशमा एक हजार ४७२ रोजगारदाता र १३ हजार ६०६ योगदानकर्ता सुचीकृत भएका छन् । कर्णाली प्रदेशमा २३४ रोजगारदाता र एक हजार १४३ योगदानकर्ता सुचीकृत भएका छन् । सुदुर पश्चिम प्रदेशमा २५२ रोजगारदाता र एक हजार ४५० योगदानकर्ता सुचीकृत भएका छन् ।

नेपाल सरकारले श्रमिकको आर्थिक सुनिश्चिताको लागि २०६७ साल चैत ७ गते सामाजिक सुरक्षा कोषको स्थापना गरी समाजिक सुरक्षा करको व्यवस्था ग¥यो । २०७४ साल साउन २९ गते योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ जारी भयो । २०७४ साल कार्तिक २५ गतेबाट योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ कार्यन्वयनमा आयो । २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरुको औपचारिक सुभारम्भ र २०७६ साल साउन १ गते देखि योगदान रकम संकलन शुरु गरियो ।

योगदानमा आधारित समाजिक सुरक्षा कोष ऐन २०७४ बमोजिम नेपालमा सञ्चालन निजी प्रतिष्ठानहरु कोषमा अनिवार्य रुपमा दर्ता हुनुपर्नेछ । कोषमा आबद्ध हुने श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । जसमध्ये ११ प्रतिशत रकम श्रमिकले र २० प्रतिशत रकम रोजगारदाताले कोषमा जम्मा गर्नुपर्नेछ ।

गर्भ परिक्षण देखि पेन्सन सुविधासम्म

कोषले हाल चार वटा विभिन्न खालको योजना सञ्चालन गरेको छ । औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरेको छ । कोषमा योगदान गर्ने श्रमिक सो सुविधा उपभोग गर्न पाउँछन् ।

श्रमिकले योगदान गरेको रकममध्ये एक प्रतिशत रकम औषधि उपचार तथा स्वास्थ्य तथा माृत्व सुरक्षा योजनामा जान्छ । १.४ प्रतिशत रकम दुर्घटना र अशक्तता सुरक्षा योजनामा जान्छ । ०.२७ प्रतिशत रकम आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत अवकाश योजनामा जान्छ । जसमध्ये २० प्रतिशत निवृतभरण योजना र ८.३३ प्रतिशत अवकाश योजनामा जान्छ ।

कोषले सञ्चालन गरेको औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्र्तगत श्रमिकले बिरामी हुँदा औषधि उपचारको सुविधा पाउँछन् । त्यस्तै, पुरुष योगदानकर्ताको पत्नी वा महिला योगदानकर्ता गर्भवति भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च, अस्पताल भर्ना भई प्रसुति सम्बन्धी शल्यक्रिया वा उपचार गराउँदाको खर्च, अस्पताल सुत्केरी हुँदाको खर्च, सुत्केरी भएको ६ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशुको उपचार बापतको खर्च कोषले भुक्तानी गर्छ । योगदानकर्ता महिला भएको खण्डमा प्रसुती विदाबापत ६० दिन भन्दा माथिको थप ३८ दिनसम्मको आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म रकम भुक्तानी हुनेछ ।

तर, श्रमिकले यो सुविधा पाउनको लागि कोषमा लगातार तीन महिना योगदान गरेको हुनुपर्नेछ । श्रमिकले कुल दाबी रकमको २० प्रतिशत आफैले व्यहोर्नुपर्नेछ।
त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा भित्र श्रमिकले दुर्घटना वापतको सुविधा र अशक्तता वापतको सुविधा प्रदान गर्नेछ । जसमा श्रमिक रोजगारीजन्य दुर्घटनामा भएमा उपचार बाप्त लाग्ने सम्पूर्ण खर्च कोषले व्यहोर्ने छ । अन्य कारणले दुर्घटना भएमा कोषले सात लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्नेछ।

आश्रित परिवार सुरक्षा योजनमा श्रमिकको मृत्यू भएमा परिवारले क्षतिपूर्ति भुक्तानी पाउँनेछन् । श्रमिकको पति वा पत्निले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आजिवन पेन्सनको रुपमा पाउँनेछन् । त्यस्तै, १८ बर्षसम्म दुई वटा छोराछोरीले पढाई खर्च बापत मासिक ४० प्रतिशत रकम पाउँनेछन् । साथै वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम तथा त्यसले आर्जन गरेको प्रतिफल एकमुष्टमा परिवारलाई फिर्ता हुन्छ ।

वृद्धावस्था सुरक्षा योजनामा श्रमिकले निवृतभरण योजना र अवकाश सुधिवा योजना पाउने छन् । निवृतभरण योजनामा श्रमिकको अवकाश उमेर पुरा भए पछि निवृतभरण योजनामा जम्मा भएको रकम र सो रकममा आउने प्रतिफललाई जोडी १६० ले भाग गर्दा आउने रकम मासिक रुपमा जीवनभर भुक्तानी हुनेछ । श्रमिक ६० बर्ष पुरा गरे पछि वा योगदान रकम भुक्तानी गरेको १८० महिना पुगेपछि यो सुविधा लिन श्रमिक योग्य हुनेछन् ।

त्यस्तै अवकाश योजना अन्र्तगत श्रमिकको अवकाश भएपछि वा रोजगारी अन्त्य हुदाँ योजनामा जम्मा भएको रकम त्यसमा आउने प्रतिफल एकमुष्ट रुपमा कोषले भुक्तानी गर्नेछ ।

कोषमा आबद्ध हुन रोजगारदाता नै अनिईच्छुक

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगादाता अनिईच्छुक देखिएका छन् । कोषमा आबद्ध भएका प्रतिष्ठानले श्रमिकको नाममा ठूलो रकम भुक्तानी गर्नुपर्ने भए पछि रोजगारदाता निरुत्साहीत भएको कोषको दाबी छ ।

तर, कोषमा रकम भुक्तानी गर्ने भन्दै श्रमिकको पारिश्रमिकबाट रकम कट्टा गरी आफैले नै परिचालन गर्ने प्रतिष्ठान संख्या पनि उत्तिकै रहेको कोषको अनुमान छ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 


Share on:


Comments