सुपर मादीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्काशन गर्ने

-नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१३मंसिर, २०७९, मंगलवार / Nov 29, 2022 13:34:pm

सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन तथा बिक्री खुला गर्नेछ ।  जसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पुँजी २ अर्ब १० करोडको ५ प्रतिशतले हुन आउने १० लाख ५० हजार कित्ता तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा छुट्टाएको २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्टाइएको छ । यस्तै आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नम्बर २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन हुनेछ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर निष्कासन हुनेछ । बाँकी १८ लाख ९० हजार कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणमा जारी हुनेछ ।

कम्पनीले आईपीओ सेयर बिक्री गर्न गराएको रेटिङ्गमा रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर डबल बी’ रेटिङ्ग प्रदान गरको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आयोजना प्रभावित र वैदेशिक रोजागारीमा रहेकाले मंसिर २० देखि पुस ५ सम्म आवेदन गर्न पाउने

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाकालागि छुट्टाइएको सेयर पुस ५ गतेसम्म सबै बिक्री नभएको खण्डमा भने पुस २० गतेसम्म म्याद लम्बिनेछ । दुबैतर्फ लगानीकर्ताले न्यूनतम १० देखि ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले नेपाल मेरो सेयरको मोबाइल एप, धितोपत्र बोर्डबाट सि–आश्वा सेवाको अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाहरुले भने कास्कीमा रहेको एनसीसी बैंकको न्यूरोड शाखा, कुमारी बैंकको कहुनखोला, माछापुच्छ्रे बैंकको मादी, सानिमा बैंकको न्यूरोड पोखरा शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments