न्यूनतम पारिश्रमिक नदिँदा ९०% कामदार सामाजिक सुरक्षा कोष बाहिर

-नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२५मंसिर, २०७९, आईतवार / Dec 11, 2022 12:25:pm

नेपालमा सञ्चालित प्रतिष्ठानहरुले कामदारलाई न्यूनतम पारिश्रमिक भुक्तानी नगर्दा ९० प्रतिशत भन्दा बढी कामदार सामाजिक सुरक्षा कोषको दायरामा आउन सकेका छैनन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐनले निजी प्रतिष्ठानलाई कोषमा आबद्ध हुन अनिवार्य गरेको छ । तर, प्रतिष्ठानहरुले कामदारलाई न्यूनतम पारिश्रमिक प्रदान नगरेकै कारणले प्रतिष्ठान आफैँ र कामदाहरु कोषमा आबद्ध हुन नसकेको कोषका कार्यकारी प्रमुख कपिलमणी ज्ञवालीले बताए ।

ऐन अनुसार कोषमा आबद्ध हुने प्रतिष्ठानले कामदारको न्यूनतम पारिश्रमिकको ३१ प्रतिशत रकम कोषका जम्मा गर्नुपर्नेछ । जसमध्ये २० प्रतिशत रोजगारदाता आफैँले भुक्तानी गर्नुपर्नेछ भने ११ प्रतिशत रकम कामदारको पारिश्रमिकबाट कट्टा गरी रोजगारदाताले नै कोषमा रकम पठाउनुपर्नेछ । तर, अधिकांश प्रतिष्ठानले कामदारलाई नियुक्त पत्र, न्यूनतम पारिश्रमिक, स्वास्थ तथा बीमा सुविधा, सञ्चयकोषको सुविधा लगायतका आधारभूत सुविधा समेत प्रदान नगरेपछि कोषमा आबद्ध हुन नसकेको कोषका कार्यकारी प्रमुख ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार जबसम्म प्रतिष्ठानहरुमा कामदारले ऐन बमोजिमको सुविधाहरु पाउँदैनन् तबसम्म प्रतिष्ठान र कामदार कोषमा आबद्ध हुन नसक्ने उनको दाबी छ । सरकारले कामदारको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । तर, रोजगारदाताले कामदारलाई न्यूनतम पारिश्रमिक त्यो भन्दा पनि कम दिने गरेको कोषको भनाई छ । निजी विद्यालय, सरकारी तथा गैरसरकारी संस्था, निजी कम्पनीहरुले आधारभूत पारिश्रमिक नदिने गरेको पाइएको उनको भनाई छ ।

त्यति मात्रै हैन यस्ता प्रतिष्ठानले कोषमा भुक्तानी गर्नुपर्ने रकम कामदारको पारिश्रमिकबाट भने कट्टा गर्ने तर, कोषमा भने जम्मा नगर्ने गरेको समेत गुनासो सुनिएको कोषका कार्यकारी प्रमुख ज्ञवालीले बताए । कामदारको हिस्सामा पर्ने ११ प्रतिशत रकम कट्टा गर्ने र सो रकम प्रतिष्ठान आफैँले समेत परिचालन गरेको गुनासो पनि सुनिएको उनले बताए । यस्तो गतिविधि गर्ने प्रतिष्ठान आफैँ आर्थिक जोखिममा पर्ने उनको दाबी छ ।

कामदारको पारिश्रमिकबाट रकम काटेर कोषमा जम्मा नगरेको अवस्थामा यदि सम्बन्धित कामदारको कुनै घटना घटेमा प्रतिष्ठान आफैँ त्यसको जिम्मेवार हुनुपर्ने उनले बताए । “कामदारको पारिश्रमिकबाट रकम काटेपछि त कोषमा जम्मा गर्नुपर्छ । यदि जम्मा नगरी आफैँले चलाएमा र सम्बन्धित कामदार भवितब्यमा परेमा सोही प्रतिष्ठानले सबै दायित्व बहन गर्नुपर्छ,” उनले भने ।

सामाजिक सुरक्षा कोषमा हालसम्म १७ हजार ५०७ रोजगारदाता सुचीकृत भएका छन् । कोषको मंसिर १० गतेसम्मको तथ्याङ्क अनुसार ३ लाख ७५ हजार ९०५ योगदानकर्ता सुचीकृत भएका छन् । योगदानकर्ताबाट हालसम्म २६ अर्ब रुपैयाँ संकलन भएको छ भने कोषले दाबी बापत दुई अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments