गोदावरी नगरपालिकाले ल्यायो दुई अर्ब ३७ करोड बजेट

0
Shares

गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर २ अर्ब ३७ करोड बजेट विनियोजना गरेको छ ।

शुक्रबार नगरपालिकाको ११ औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेकी आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ ५ करोड र स्वास्थ्यतर्फ ३ करोड विनियोजन गरिएको छ । कृषिमा १ करोड ५० लाख, विपद् व्यवस्थापनमा १ करोड ९० लाख विनियोजन गरिएको छ । मर्मत खर्च ३ करोड, टेक्निकल कलेज निर्माणमा ४ करोड, ठेचो छम्पी खर्सी पुलका लागि ४ करोड, खानेपानीमा ४ करोड फोहर व्यवस्थापनका लागि २ करोड, सम्पदा पोखरी संरक्षणमा ३ करोड बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रममा दीर्घकालीन सोचका रुपमा ‘कृषि पूर्वाधार र पर्यटकीय नगरी, समावेशी, स्वच्छ र समृद्ध गोदावरी’ भन्ने नाराका साथ कृषि, पर्यटन सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको निर्माणसहित गोदावरी नगरलाई समृद्ध र उन्नत बनाउने दीर्घकालीन सोच रहेको छ ।

नगर उपप्रमुख अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले कृषि, पर्यटन, उद्योगको एकीकृत विकास गर्दै समुन्नत र हरित सहरको निर्माण गरी सुखी÷खुसी नगरका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको नीति कार्यक्रमले कृषि क्षेत्र र पर्यटन क्षेत्रको विकास तथा विस्तार एवं व्यवसायीकरण गर्ने उद्देश्य लिइएको छ ।

विद्यालय शिक्षालाई अझ गुणस्तरीय र नतिजामुखी बनाउने, नगरपालिका क्षेत्रमा आधारभूत सहरी पूर्वाधार विकास गरी सम्मुन्नत नगरका रुपमा विकास गर्ने, नगरक्षेत्रमा आन्तरिक स्रोत, साधन, अवसर र क्षमताको उच्चतम् उपयोग गरी आर्थिक वृद्धि तथा आर्थिक विकास गर्ने र नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय बनाइ नगरमा सुशासन प्रवद्र्धन गर्ने भनिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असार २०७९, शनिबार  १८ : २७ बजे