देशका ११ विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको छः शिक्षामन्त्री

0
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ११ वटा विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको बताएका छन् ।

पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गनुपर्ने बताए ।

उच्च शिक्षाको नाममा विदेशी गएका विद्यार्थी मध्ये ९१ प्रतिशत विद्यार्थी रोजगारीका लागि त्यहाँ पुगेको उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सके त्यसलाई कम सकिने औंल्याए ।

‘विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन रहेको छ, उनले भने, ‘तालाबन्दी हुँदा विद्यार्थी एवम् विश्वविद्यालयको उन्नयन र विकाशमा असर पर्छ, वार्तामार्फत समाधान खोजौं ।’

उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भन्दै विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले संकल्प गर्नुपर्ने बताए ।

उनले प्रादेशिक राष्ट्रिय योजना आयोगसँग समन्वय र सहकार्य गर्दै गण्डकी प्रदेशको विकाशमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गनुपर्नेमा जोड दिए ।

शिक्षक तथा प्राध्यपकहरुले दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक विचारधाराहरुलाई विश्वविद्यालय तथा उच्च शिक्षाको नीतिगत, संरचनागत र गुणस्तर सुधारका लागि सिर्जनात्मक बहसमा ल्याउनुपर्ने विद्यामान अवस्था रहेको उनको भनाइ छ ।

दुई वटा विश्विद्यालयको ऐन संसदमा रहेको बताउँदै भएका विश्वविद्यालयले शिक्षण सिकाई र पाठ्यक्रम बनाउन मिहिनत गनुपर्ने समय आएको उल्लेख गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ साउन २०७९, आइतबार  १८ : ५४ बजे