उपत्यकामा आजदेखि पुनः ‘नो हर्न’ अभियान सुरू

0
Shares

काठमाडौँ उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमकाबीच नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख शाहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एकअर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको शुभारम्भ भएको घोषणा गरे ।

‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्तामा सचेतना फैलाउन आजदेखि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् । हर्नले ध्वनी प्रदूषण मात्र नभइ व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिन लागिएको काठमाडौँ महानगर प्रमुख शाहले बताए ।

काठमाडौँ उपत्यकामा ध्वनी प्रदूषण नियन्त्रणका लागि २०७४ वैशाख १ गतेदेखि ‘नो हर्न’ लागू गरिएको थियो । अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ । केही समय लागू भए पनि पछिल्लो समयमा कार्यान्वयन हुन सकिरहेको थिएन । अहिले पुनः कार्यक्रमलाई तीव्रता दिन लागिएको छ ।

कार्यक्रमको थालनी रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट गरिएको थियो । त्यसपछि काठमाडौँ महानगरपालिकाका प्रमुख शाह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक चौधरी, स्वयमसेवक, पद्मकन्या क्याम्पसका प्राध्यापक र विद्ययार्थीले सिंहदरबार चोकमा गई सार्वजनिक तथा निजी सवारी साधनमा ‘नो हर्न’ लेखिएको स्टिकर टाँसेका थिए ।

महानगरले यसअघि पनि अनावश्यक रुपमा हर्न बजाउनेहरुका लागि सुरूमा ५ सय रुपैयाँ दोश्रो पटक १ हजार र पटकेमा परे १५ सय रुपैयाँ जरिवाना गर्दै आएको छ । काठमाडौं महानगरपालिकाले विसं. २०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

एक हप्तामा १७ हजार सवारी चालक कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चालक छन् । यही साउन १५ देखि २१ गतेसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या एक हजार ७४ छ ।

ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने सवारी चालकको वर्गीकरण गर्दै सूची बनाउने गरेको छ । मापसे गरी सवारी साधन चलाउने एक हजार ७४, लेन मिच्ने ६५९, रेड लाइटमा सवारी चलाउने ५७४, जथाभावी रुपमा नम्बर प्लेट बनाउने २४२ र अन्य गरी १४ हजार ९४४ चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तथ्याङ्क अनुसार शुक्रबार मादकपदार्थ सेवन गरी सवारी साधन चलाउनेको सङ्ख्या सबैभन्दा बढी छ भने सोमबार सबैभन्दा कम छ । शुक्रबार मादकपदार्थ सेवन गरी सवारी चलाउने २३२ तथा सोमबार ११५ चालक रहेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ साउन २०७९, आइतबार  १८ : ०१ बजे