धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८÷८९ मा लक्ष्यभन्दा ३२ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा तीन अर्ब ९४ करोड ९९ लाख ७२ हजार मात्रै सङ्कलन गरेको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।
आयकरतर्फ एक अर्ब ३६ करोड ६७ लाख ६० हजार उठाउने लक्ष्य लिइएकामा एक अर्ब ४० करोड, ९२ लाख चार हजार रुपैयाँ सङ्कलन भएको छ । स्वास्थ्य सेवा करतर्फ पाँच करोड ८९ लाख ७० हजार रुपैयाँ उठाउने लक्ष्य लिइएकामा लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात नौ करोड ३७ लाख ६ हजार रुपैयाँ सङ्कलन भएको छ ।
घर बहाल करतर्फ चार करोड ३७ लाख ३४ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएकामा दुई करोड ७७ लाख २६ हजार रुपैयाँ सङ्कलन भएको छ । ब्याज करतर्फ चार करोड ९७ लाख ९१ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएकामा दुई करोड ३७ लाख २२ हजार रुपैयाँ सङ्कलन भएको सूचना अधिकारी पौडेलले बताए । यस्तै मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ४१ करोड ४९ लाख ४३ हजार सङ्कलन गर्ने लक्ष्य लिइएकामा ९६ करोड ४८ लाख ५९ हजार रुपैयाँ सङ्कलन भएको छ । अन्तशुल्क करतर्फ दुई अर्ब ८४ करोड ७० लाख ७९ हजार सङ्कलन गर्ने लक्ष्य लिइएकामा एक अर्र्ब ४३ करोड सात लाख ४१ हजार रुपैयाँ सङ्कलन गरिएको छ । जुन लक्ष्यभन्दा ५० प्रतिशत कम हो ।
कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरे पनि १३ हजार रुपैयाँ सङ्कलन भएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा चार अर्ब ५० करोड १० लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकामा पाँच अर्ब ५३ करोड ६ लाख ३० हजार रुपैयाँ अर्थात १२३.५४ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।
सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन हुनाको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको असर रहेको जनाउनुभयो । चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले चार अर्ब ७६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया