राष्ट्रिय वाणिज्य बैंक कुनै पक्षमा कमजोर छैन : सीइओ श्रेष्ठ
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक निजी तथा संयुक्त लगानीका बैंकसँगको तुलनामा कुनै पक्षमा कमजोर नरहेको दाबी गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक ५८औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा सीइओ श्रेष्ठले व्यवहार र प्रतिफलबाट पूर्ण सरकारी स्वामित्वको बैंक भएतापनि निजी तथा संयुक्त लगानीको बैंकसँग कुनै पक्षमा कम नरहेको बताएका हुन ।
अहिले बैंकहरुको मर्जर प्रक्रियाले तिब्रता पाएको छ । मर्जरले बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्र्दभमा राष्ट्रिय वाणिज्य बैंकले समेत उपयुक्त रणनीति बनाई अगाडी बढ्ने जानकारी दिए । पछिल्ला वर्षमा वित्तीय सूचकांक र व्यवस्थापनमा उल्लेख्य सुधार गरको दाबी गर्दै संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक कार्यहरु संचालन गरिने बताए ।
बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि-ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेको जानकारी दिँदै एनआईडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन बैंकको उपलब्धी रहेको श्रेष्ठको भनाइ छ ।
हाल बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी २ सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ ।
चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप दुई खर्ब ८२ अर्ब, कर्जा दुई खर्ब ३४ अर्ब र नेटवर्थ ३४ अर्ब ३४ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ ।
चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप तीन खर्ब, कुल कर्जा दुई खर्ब ५८ अर्ब, मुनाफा चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्याउने पनि बैंकको लक्ष्य छ । वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवा समेत सुरु गरेको छ ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।