नेप्से १०.३७ अङ्कले बढ्यो, पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नोटबजार संवाददाता ।
काठमाडौं ।
११माघ, २०७९, बुधबार / Jan 25, 2023 17:08:pm

बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १०.३७ अङ्कले बढेर २१८३.६२ अङ्कमा कायम भएको हो ।

बजार दोहोरो अंकले बढेसँगै बुधबार पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको बजारमा ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यससँगै ग्रीन लाइफको सेयरमूल्य ३३८.८० रुपैयाँ, आदर्श लघुवित्तको १०८९, सानिमा जनरल इन्स्योरेन्सको ४८९, सूर्यज्योती लाइफ इन्स्योरेन्सको ४०८.७० र बलेफी हाइड्रोपावरको सेयरमूल्य ३६१.३० रुपैयाँ पुगेको छ ।  दोहोरो अङ्कले बढेको बजारमा २६१ वटा कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर ५४ हजार ३७७ पटक खरिद बिक्री हुँदा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बढोत्तरी आउँदा आज बैंकिङ, वित्त र अन्य उपसमूहगत उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ । बैकिङ ७.४६, वित्त समूह ०.२५ र अन्य समूह २३.९५ अङ्कले घटेको छ । सबैभन्दा वृद्धि देखिनेमा जीवन बीमा उपसमूहगत सूचक २६६.१६ र निर्जीवन बीमा समूहको १८८.२९ अङ्कले बढेको छ । त्यस्तै, विकास बैंक २८.२४, होटल तथा पर्यटन समूह ११८.०२, जलविद्युत् समूह ३६.५६, लगानी समूह ०.१६ र उत्पादन समूह ४०.९५ अङ्कले बढेको छ । लघुवित्त समूहको उपसूचक ४७.९३, म्युचुअल फन्ड ०.१८ र व्यापार समूह १९.१३ अङ्कले बढेको नेप्सेले जनाएको छ ।

आज बढी गुमाउनेमा भने राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फन्ड–१ रहेको छ । फन्डको इकाइ मूल्य ५.७० प्रतिशत घटेर ७.७७ रुपैयाँमा झरेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड ३.८६ र पिपुल्प हाइड्रोपावरको सेयरमूल्य ३.३३ प्रतिशतले सेयरमूल्य घटेको छ । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले २.९५, शिवश्री हाइड्रोपावर २.८८,मेगा म्युचुअल फन्ड–१को इकाईमूल्य २.५०, सिभिल लघुवित्त २.२०, नेपाल टेलिकम २.१५, प्राइम कमर्सियल बैंक २.०५ र एनआईसी एशिया बैंकको डिबेञ्चरको लगानीकर्ताले २ प्रतिशतले गुमाएका छन् ।

आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै १० करोड १४ लाख ८६ हजार रुपैयाँ बराबरको ३ लाख ६५ हजार ९२ कित्ता कारोबार भएको छ । यस्तै हिमाल दोलखा हाइड्रोपावर ९ करोड २१ लाख, ग्रीन लाइफ ८ करोड ३६ लाख, अपर तामाकोशी ६ करोड ९७ लाख र शिवम् सिमेन्टको ६ करोड ७० लाख बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको बजार वृद्धिसँगै सेयर बजार कुल पुँजीकरण ३१ खर्ब ५१ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments