बैंक/वित्तीय संस्थाले नेपाल भित्रिएको र बाहिरिएको विदेशी मुद्राको विवरण मासिक बुझाउनुपर्ने

नोटबजार संवाददाता
काठमाण्डौं ।
१७माघ, २०७९, मंगलवार / Jan 31, 2023 19:29:pm

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले नेपाल भित्रिएको र बाहिरीएको विदेशी मुद्राको विवरण मासिक रुपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । पछिल्लो समयमा विदेशी विनिमय सञ्चितिमा आएको गिरावाटलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले विदेशी मुद्राको कारोबारको मासिक विवरण माग गरेको हो ।

पछिल्लो समयमा उच्च आयातका कारण भित्रिने भन्दा पनि बाहिरीने विदेशी मुद्रा धेरै भएको थियो । त्यसको असरले विदेशी विनिमय सञ्चितिमा गिरावट आउनुका साथै अर्थतन्त्रको बाह्य क्षेत्र प्रभावित भएको थियो । त्यसलाई मध्यनजर गर्दै राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार सम्बन्धी विवरण बुझाउने समय घटाएको हो ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लाई संसोधन गर्दै विदेशी लगानी भित्र्याउन थप सहज समेत बनाएको छ । केन्द्रीय बैंकले विनियमावली बमोजिम शंसोधन गरेर नेपाल भित्रिएको विदेशी मुद्रा र नेपालबाट बाहिरिएको विदेशी मुद्रालगायतका विवरणहरू समावेश गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिन भित्र केन्द्रीय बैंकमा पेस गर्नुपर्ने व्यवस्था गरेको हो ।

यसभन्दा अघि नेपाल भित्रिएको विदेशी मुद्रा र नेपालबाट बाहिरिएको विदेशी मुद्रालगायतका विवरणहरू समावेश गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रूपमा प्रत्येक त्रयमास समाप्त भएको १५ दिन भित्र केन्द्रीय बैंकमा बुझाउनु पर्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार विनियमावली अन्तर्गतका कार्यहरू राष्ट्र बैंकले विद्युतीय प्रणालीको प्रयोग गरी समेत सम्पादन गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यस्तो प्रणाली सञ्चालनको सार्वजनिक सूचना राष्ट्र बैंकबाट प्रकाशन भएपछि निवेदकले तोकिए बमोजिम नै प्रणालीको प्रयोग गरी निवेदन पेश गर्नुपर्ने व्यवस्था विनियमावलीमा उल्लेख छ।

प्रचलित कानुनले छुट दिएकोमा बाहेक नेपाली व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था तथा अन्य संगठित संस्थाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम विदेशी लगानी खुला गरिएका उद्योग वा व्यवसायमा नेपाल बाहिरबाट ऋण लिनु परेमा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्नेछ ।

विदेशी ऋण लिनका लागि कागजातहरू संलग्न गरी एकाई वा विभागमा निवेदन पेश गर्नुपर्ने व्यवस्था विनियममा उल्लेख छ । सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले १५ कार्य दिनभित्र सोसम्बन्धी निर्णय गरी राष्ट्र बैंकले निवेदकलाई लिखित जानकारी दिने व्यवस्था समेत संशोधीत विनियमावलीमा उल्लेख छ ।

विनियमावली लागू हुनुपूर्व भित्रिएको विदेशी लगानी बापतको रकम वा प्रचलित व्यवस्था बमोजिम भएको विदेशी लगानी तर लेखाङ्कन भइनसकेको हकमा त्यस्तो रकम/लगानी लेखाङ्कनको लागि समेत २०८० पुस मसान्तभित्र कागजात सहित एकाईमा निवेदन पेश गर्नुपर्नेछ व्यवस्था गरेको छ । संशोधन अघि यस्तो समय एक वर्ष रहेको थियो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments