विश्वव्यापी आर्थिक वृद्धिदर घट्दा नेपालको भने बढ्ने विश्व बैंकको प्रक्षेपण

नोटबजार संवाददाता
काठमाण्डौं ।
२५पुष, २०८०, बुधबार / Jan 10, 2024 12:58:pm

आगामी आर्थिक वर्षमा विश्व अर्थतन्त्रको आर्थिक वृद्धि घट्ने अनुमान गरेको विश्व बैंकले नेपाली अर्थतन्त्र विस्तार हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशतमा रहने बताएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको हो ।

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको थियो । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भएको थियो ।

त्यस्तै, विश्व बैंकले दक्षिण एशियाली राष्ट्रहरुमा भारतले ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । जुन दक्षिण एसियामा भारतले सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने उल्लेख छ ।

त्यसैगरि, बङ्गलादेशले ५.८ प्रतिशत, मालदिभ्सले ५.५ प्रतिशत, भुटानले ४.६ प्रतिशत, पाकिस्तान २.४ र श्रीलंकाले समान २.४ प्रतिशते आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ ।

सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशत रहने देखिएको हो । त्यस्तै विकासोन्मुख देशहरुको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको भन्दा १ प्रतिशत कम हो।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments