अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ का लागि आइतबार जी–७ राष्ट्रका नेताहरूसँग छलफल गरिने बताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको निर्लज्ज आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’का लागि समन्वय गर्न म आफ्ना सहकर्मी जी–७ नेताहरूलाई सोमबार छलफलमा सहभागी हुन आग्रह गर्दछु ।’ नेतन्याहूसँग फोनमा बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता दोहोर्याएका थिए । उनले भने, “आक्रमणको सामना गर्न र परास्त गर्न उल्लेखनीय क्षमता प्रदर्शन गरेको छ र यसले आफ्ना शत्रुहरूलाई स्पष्ट सन्देश दिएको छ । उनीहरूले इजरायलको सुरक्षालाई प्रभावकारी रूपमा खतरामा पार्न सक्दैनन् भन्नेकुरा मैले प्रधानमन्त्री नेतन्याहूसँगको टेलिफोन वार्तामा पनि भनेको छु ।”
बाइडेनले यमन, सिरिया र इराकबाट सञ्चालित इरानका सहयोगीहरूले हवाई मार्गबाट आक्रमण गरेको भन्दै ती आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । उक्त क्षेत्रमा रहेका अमेरिकी सेनाले इजरायललाई भित्रिने सबै ड्रोन र क्षेप्यास्त्र खसाल्न सहयोग गरेको राष्ट्रपति बाइडेनले बताए ।बाइडेनका अनुसार शनिबारको आक्रमण अमेरिकी सेना र सुविधाहरूलाई लक्षित गरिएको थिएन । उनले भने, “अमेरिकी सेना ‘सबै खतराहरूको लागि सतर्क रहनेछ र आफ्ना जनताको सुरक्षाको लागि सबै आवश्यक कदम चाल्न हिचकिचाउने छैन ।”
गत अप्रिल १ मा दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा इजरायली क्षेप्यास्त्र आक्रमणको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।
आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायको विभिन्न प्रतिक्रिया
इरानले शनिबार राति इजरायलमाथि गरेको आक्रमणको विश्वका विभिन्न देशले निन्दा गर्दै उक्त आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इस्लामिक गणतन्त्र इरानले इजरायलमाथि गरेको व्यापक आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताएका छन् ।
उनले भने, “म यस क्षेत्रव्यापी तनावको वास्तविक खतराबारे निकै चिन्तित छु । मध्यपूर्वमा विभिन्न मोर्चामा ठूलो सैन्य मुठभेड निम्त्याउन सक्ने कुनै पनि कार्यबाट जोगिन सबै पक्षलाई आह्वान गर्दछु । अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपतकालीन बैठकपछि इजरायललाई ‘आइरनक्लाड’ समर्थन गर्ने प्रतिबद्धता जनाउएका छन् । उनले भने “इरानले इजरायलविरुद्ध गरेको आक्रमणबारे जानकारी लिन मैले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई भेटेको छु । इरान र उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो चट्टानी प्रतिवद्धता छ,” ह्वाइट हाउसमा भएको बैठकको तस्वीर पोस्ट गर्दै बाइडनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक वक्तव्य जारी गर्दै ‘लापरबाहीपूर्ण’ आक्रमणको निन्दा गर्दै यसले तनाव बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताएका छन्। इरानले फेरि एकपटक आफ्नो घरआँगनमा अराजकता छर्न खोजेको देखाएको छ । युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेप बोरेलले एक्समा जारी गरेको सन्देशमा आक्रमणलाई ‘अकल्पनीय जोखिम वृद्धि र क्षेत्रीय सुरक्षाका लागि गम्भीर खतरा’ भन्दै निन्दा गरेका छन् ।
चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्वको पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गाजामा युद्धविरामको माग गर्दै हालै पारित गरेको प्रस्तावको कार्यान्वयनको लागि चीनले आह्वान गरेको छ । “अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी प्रभाव भएका देशहरूलाई यस क्षेत्रको शान्ति र स्थिरताका लागि रचनात्मक भूमिका निर्वाह गर्न चीन आह्वान गर्दछ,” विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कूटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायल र इरानबीच बढ्दो शत्रुताले यस क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पारेकोमा हामी गम्भीर रुपमा चिन्तित छौं । हामी तत्काल तनाव कम गर्न, संयमता अपनाउन, हिंसाबाट पछि हट्न र कूटनीतिको मार्गमा फर्कन इजरायल र इरानलाई आह्वान गर्दछौं । यसबाहेक, विदेश मन्त्रालयले इरान–इजरायल द्वन्द्वको स्थितिलाई नजिकबाट नियालिरहेको बताएको छ ।
फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले भने, “यो अभूतपूर्व कदम चाल्ने निर्णय गरेर इरान आफ्नो अस्थिरताको कार्यहरूमा नयाँ स्तरमा पुगेको छ र सैन्य वृद्धिको जोखिम उठाइरहेको छ ।” बर्लिनका उच्च कूटनीतिज्ञले पनि आक्रमणले अस्थिरता निम्त्याउने चेतावनी दिँदै तेहरानलाई आक्रमण रोक्न आग्रह गरेका छन् । विदेशमन्त्री एनालेना बेर्बोकले भनेका छन्, “हामी जारी आक्रमणको भत्र्सना गर्दछौं, यसले पूरै क्षेत्रलाई अराजकतामा धकेल्न सक्छ । “इरान र उसका सहयोगीहरूले यसलाई तत्काल रोक्नुपर्छ”, उनले भने, “बर्लिन इजरायलको साथमा दृढतापूर्वक उभिएको छ ।”
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावामा पत्रकारसँग कुरा गर्दै क्यानडाले इरानले इजरायलमाथि गरेको हवाई आक्रमणको निन्दा गर्दै आफु र आफ्नो देश इजरायलको साथमा रहेको बताएका छन् । “अक्टोबर ७ मा हमासको नृशंस आक्रमणलाई समर्थन गरेको इरानको पछिल्लो कदमले यस क्षेत्रलाई थप अस्थिर बनाउनेछ र स्थायी शान्तिलाई थप कठिन बनाउनेछ,” उनले भने।
कायरोको विदेश मन्त्रालयले शत्रुता बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “‘द्वन्द्वको क्षेत्रीय विस्तारको जोखिम’बारे पनि चेतावनी दिइएको छ र इजिप्टले ‘स्थितिलाई नियन्त्रण गर्न द्वन्द्वका सबै पक्षहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने छ ।”
साउदी अरबको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी ‘सैन्य गतिविधि वृद्धि’ प्रति चिन्ता व्यक्त गरेको छ । साउदी अरबले सबै पक्षलाई पूर्ण संयम अपनाउन र यस क्षेत्र र त्यहाँका जनतालाई युद्धको खतराबाट जोगाउन’ आह्वान गरेको छ । उसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने दिशामा आफ्नो जिम्मेवारी वहन गर्न’ आग्रह गरेको छ ।
अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेइको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणको सामना गर्न इजरायली पक्षसँग आफ्नो ‘ऐक्यबद्धता’ व्यक्त गरेको छ ।
अर्जेन्टिनाको एक अदालतले सन् १९९० को दशकमा ब्यूनस आयर्सस्थित इजरायली दूतावास र यहुदी समुदायको केन्द्रमा भएको बम आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गरेको उल्लेख गरेको छ ।
अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन नेपाली दूतावासको आग्रह
इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आज अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।
आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन पनि आग्रह गरिएको छ । यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूताबासले अनुरोध गरेको छ ।
दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको छ ।
इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएका छन् । उक्त आक्रमणपछि सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेला नगर्ने भनी निर्देशन जारी भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया