राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा १ करोड ६६ लाख भन्दाबढी राजस्व सङ्कलन गरेको छ ।
राजस्व छलीको आशङ्कामा विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा निकायबाट नियन्त्रणमा लिई बुझाइएका सवारीसाधन तथा फार्ममाथि कारबाही गरी कार्यालयले चालु अवको फागुन मसान्तसम्ममा सो बराबरको राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका सूचना अधिकारी प्रमोदकुमार चौधरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीअन्तर्गतका विभिन्न कार्यालयबाट नियन्त्रणमा लिई कारबाहीका लागि सो अवधिमा बुझाइएका तीन सय चार फार्म तथा सवारीसाधनमाथि कारबाही गरी राजस्व सङ्कलन गरिएको छ ।
उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय बारा वा अन्तर्गतका कार्यालयबाट बुझाइएका १७२ फार्म तथा सवारीसाधनमाथि गरिएको कारबाहीबाट सबै भन्दा बढी ५९ लाख १६ हजार ५० राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्सा वा अन्तर्गतका कार्यालयबाट कारबाहीका लागि आएका फार्म तथा सवारीसाधनबाट २९ लाख ५६ हजार ५६०, मकवानपुर वा अन्तर्गतका कार्यालयबाट १८ लाख ७९ हजार ८४८, जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीबाट नियन्त्रणमा लिइएको दुई—दुईवटा सवारी साधनबाट ७५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल पर्सा वा अन्तर्गतबाट आएको १९ वटा सवारी साधनबाट ३७ लाख ८० हजार, बारा वा अन्तर्गतले नियन्त्रणमा लिएको ११ सवारीसाधनबाट १५ लाख ७ हजार ६७२, मकवानपुरबाट आएका १५ वटा सवारीसाधन तथा फार्मबाट २ लाख र सशस्त्र प्रहरी बल धनुषा वा अन्तर्गतबाट प्राप्त दुई सवारीसाधनबाट ५० हजार राजस्व सङ्कलन भएको उनको भनाइ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया