ग्रीनलाइफको अधिकतम रेञ्जमा कारोबार खुल्दा महिला लघुवित्तको १२५ रुपैयाँमाथि

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३चैत्र, २०७७, मंगलवार / Mar 16, 2021 11:00:am

मंगलबारदेखि धितोपत्रको दोस्रो बजार (नेप्से) मा शेयर कारोबार सुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको अधिकतम रेञ्ज अर्थात २९९ रुपैयाँमा कारोबार खुल्दा महिला लघुवित्तको न्यूनतम कारोबार रेञ्ज ३१३ रुपैयाँभन्दा १२५ रुपैयाँमाथि ४३८ रुपैयाँमा नेप्सेको स्पेशल प्रि ओपन सेसनमा शेयर कारोबारमा आएको छ ।

महिला लघुवित्तको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार कायम भएको प्रतिशेयर नेटवर्थ ३१३.१६ रुपैयाँका आधामा नेप्सेले कम्पनीलाई न्यूनतम ३१३।१६ रुपैयाँदेखि अधिकतम ९३९.४८ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । न्यूनतम कारोबार रेञ्जभन्दा १२५ रुपैयाँ माथिबाट शेयर कारोबार खुला भएको छ ।

उता ग्रीन लाइफ हाइड्रोपावरको आव २०७६/७७ को वित्तीय विवरण अनुसार ९९.६७ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको थियो । जसको आधारमा नेप्सेले कम्पनीलाई न्यूनतम ९९.६७ रुपैयाँदेखि अधिकतम २९९.०१ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । हाइड्रोपावरको भने अधिकतम कारोबार रेञ्जमा नै शेयर कारोबार खुलेको छ । नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि प्रतिशेयर नेटवर्थलाई न्यूनतम र प्रतिशेयर नेटवर्थको ३ गुणासम्म अधिकतम रेञ्ज तोक्ने गरेको छ ।

स्पेशल प्रि ओपन सेसनमा ग्रीन लाइफ हाइड्रोपावरको ३३० कित्ता र महिला लघुवित्तको १० कित्ता शेयर कारोबारमा आएको हो । यससँगै अब प्रि ओपन सेसनमामा कायम भएको मूल्यका आधारमा अधिकतम १० प्रतिशतसम्म घटबढ भई मंगलबार शेयर कारोबारमा आउनस्क्छ ।

नेप्सेको नियमित कारोबार समय ११ देखि ३ बजेभित्र प्रतिकारोबार २ प्रतिशत तथा प्रतिदिन १० प्रतिशत शेयरमूल्य घटबढ भएर शेयर कारोबार हुनसक्ने व्यवस्था छ ।

दुबै कम्पनीले सोमबार धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार शेयर सूचीकरण गरेसँगै मंगलबारदेखि धितोपत्रको दास्रो बजारमा कारोबार खुला भएको हो ।

नेप्सेले ग्रीनलाइफलाई जिएलएच र महिला लघुवित्तलाई एमएलबिएसएल कारोबार संकेत (सिम्बोल) दिएको छ ।

 

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments