महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोपावरको आजदेखि नेप्सेमा कारोबार

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३चैत्र, २०७७, मंगलवार / Mar 16, 2021 09:58:am

महिला लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको आजदेखि नेप्सेमा कारोबार सुरु भएको छ । दुबै कम्पनीले सोमबार धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार शेयर सूचीकरण गरेसँगै मंगलबारदेखि धितोपत्रको दास्रो बजारमा कारोबार खुला भएको हो ।

नेप्सेमा धितोपत्र सूचीकरण भएको दोस्रो दिनदेखि नियमित कारोबारमा आउने व्यवस्था रहेको छ । यसअनुसार दुबै कम्पनीको शेयर आजदेखि कारोबारमा आउनेछ ।

ग्रीन लाइफ हाइड्रोको आईपीओ बाँडफाँड भएको झण्डै महिना दिनपछि सोमबार १ करोड ८० लाख कित्ता शेयर शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले ग्रीनलाइफलाई जिएलएच (GLH) कारोबार संकेत (सिम्बोल) दिएको छ ।

ग्रीनलाईफ हाइड्रोपावरले सर्वसाधारणमा माघ २३ गतेदेखि २७ गतेसम्म बिक्री गरेको आईपीओ फागुन ७ गते शुक्रबार बाँडफाँड गरेको थियो । हाइड्रोपावरको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता र २ जनाले ११ कित्ताकाले आईपीओ प्राप्त गरेका थिए ।

कम्पनीले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर जारी गरेकोमा ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि तथा १ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।

उता महिला लघुवित्तको प्राथमिक शेयर (आईपीओ) पनि मंगलबारदेखि नै दोस्रो बजारमा कारोबारमा आएको छ । महिलाले दोस्रो बजारमा शेयर कारोबारका लागि सोमबार प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता संसथापक र ४ लाख कित्ता साधारण गरी कुल १० लाख कित्ता शेयर सूचीकृत गरेको छ । नेप्सेले महिला लघुवित्तलाई एमएलबिएसएल (MLBSL) कारोबार संकेत (सिम्बोल) दिएको छ ।

लघुवित्तले नेपाल एसबिआई क्यापिटल मार्फत प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर माघ ३० गतेदेखि फागुन ५ गतेसम्म जारी गरी फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड गरेको थियो । उक्त आईपीओ कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता हात पारेका थिए ।

कुल ४ लाख कित्ता शेयर निष्काशन गरिएकोमा लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता र सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँड गरिएको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

  • कतिमा खुल्छ पहिलो कारोबार ?

महिला लघुवित्तको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ३१३.१६ रुपैयाँ छ । जसको आधारमा नेप्सेले कम्पनीलाई न्यूनतम ३१३.१६ रुपैयाँदेखि अधिकतम ९३९।४८ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

यसअनुसार लघुवित्त कम्पनीको आईपीओ सूचीकरण भएको दोस्रो दिनमा कारोबार खुल्दा अधिकतम रेञ्जमा खुला भए ९३९ रुपैयाँसम्म खुल्न सक्छ ।

अधिकतम रेञ्जमा नखुलेको खण्डमा भने न्यूनतम रेञ्ज ३१३ रुपैयाँदेखि अधिकतम रेञ्जभन्दा तल जुनसुकै मूल्यमा पनि खुल्नसक्छ ।

पहिलो कारोबारपछि नेप्सेमा नियमित समयमा २ प्रतिशत र प्रि ओपन सेसनमा ५ प्रतिशत घटबढ भएर कारोबार हुनसक्ने व्यवस्था छ ।

उता ग्रीन लाइफ हाइड्रोपावरको आव २०७६।७७ को वित्तीय विवरण अनुसार ९९.६७ रुपैयाँ प्रतिशेयर नेटवर्थ छ । जसको आधारमा नेप्सेले कम्पनीलाई न्यूनतम ९९.६७ रुपैयाँदेखि अधिकतम २९९.०१ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकरण भएको दोस्रो दिनमा कारोबार खुल्दा अधिकतम रेञ्जमा खुला भए २९९ रुपैयाँमा नत्र ९९ रुपैयाँदेखि माथि अधिकतम कारोबार रेञ्जभन्दा कममा जुनसुकै मूल्यमा खुल्नसक्छ । पहिलोे कारोबारपछि नेप्सेमा नियमित समयमा २ प्रतिशत र प्रि ओपन सेसनमा ५ प्रतिशत घटबढ भएर कारोबार हुनसक्ने व्यवस्था छ ।

नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि प्रतिशेयर नेटवर्थलाई न्यूनतम र प्रतिशेयर नेटवर्थको ३ गुणासम्म अधिकतम रेञ्ज तोक्ने गरेको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments