एक वर्षमा सुनको भाउ प्रतितोला २९ हजार रुपैयाँले बढ्यो, अझै बढ्ने आँकलन

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
३०चैत्र, २०८०, शुक्रबार / Apr 12, 2024 12:40:pm

२०८० सालमा सुनको भाउ प्रतितोला २९ हजार रुपैयाँले बढेको छ । २०८० साल बैशाख १ गते एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ सालको अन्तिम दिन आज शुक्रबार एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मूल्यमा देखिएको मजवुति र सुनमा लगानीकर्ताको आकर्षण बढेकोले सुनको मूल्य उचाइमा पुगेको व्यवसायीहरु बताउँछन् ।

आर्थिक मन्दीका कारण मूल्य वृद्धि हुनु पनि सुनको भाउ बढ्नुको मुख्य कारण रहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघको पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

विश्पव्यापी रुपमा लगानी सुरक्षित गर्ने होडबाजी चलेको र उचित विकल्पमा सुन परेको उनले बताए ।

पूर्व अध्यक्ष शाक्यले भने,‘विश्वका धेरै मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्था छ, त्यसले गर्दा अरु विकल्प भन्दा पनि लगानी सुरक्षाका लागि अहिले सुन धेरैको रोजाइ बनेको छ,’ ।

विश्वव्यापी रुपमा नै सेयर बजार राम्रोसँग विस्तार नभएकको हुनाले लगानीकर्ताले सुनमा नै लगानी गरेकोले सुनको भाउ यो वर्ष उच्च रुपमा बढेको उनको तर्क छ।

अमेरिकी रिजर्भ बैंक फेडले मौद्रिक नीति मार्फत ब्याजदर २ प्रतिशतमा स्थिर राख्ने भनेता पनि त्यसो हुन नसक्दा भाउ बढेको हो । डलरको विकल्पको रुपमा पनि सुन परेकोले विश्वव्यापी रुपमा सुनको माग बढेकाले सुनको भाउ वृद्धि भएको महासंघका पूर्व अध्यक्ष शाक्यले बताए ।

सुनमा करेक्शन आउँछ भनेतापनि अब कहिलेबाट भाउ घट्न थाल्छ भनी निश्चित नभएको बताउँदै उनले भने, ‘अब कारोबार खुल्दा सुन प्रतिऔंस २४ सय डलर पुग्छ ।’

अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्यबाट नै नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा मूल्य निर्धारण गर्ने गरेको छ । त्यसकारण अन्तर्राष्ट्रिय बजारमा सुन २४ सय डलर पुग्यो भने नेपालमा एक तोला सुन कै मूल्य १ लाख ५० हजार पर्ने व्यवसायीहरु बताउँछन् ।

यस्तै, यो वर्ष वर्षको अन्तिम दिन तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन वर्षको सुरुवातको दिन १ लाख ९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो वर्ष चाँदी प्रतितोला ३०० रुपैयाँले बढेको छ । २०८० को बैशाख १ गते १ हजार ४५० रुपैयाँ रहेको चाँदी आज १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३८६ दशमलव ५१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ८ डलरमा कारोबार भइरहेको छ ।


📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments