घरजग्गा कारोबारको राजश्व ३५ करोडले बढ्यो, चैतमा झण्डै ४ अर्ब संकलन

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
३बैशाख, २०८१, सोमबार / Apr 15, 2024 13:28:pm

घरजग्गा कारोबारबाट हुने राजश्व संकलनमा वृद्धि भएको छ । फागुन महिनाको तुलनामा चैत महिनामा राजश्व संकलन ३५ करोडले रुपैयाँले बढेको हो ।

चैत महिनामा झण्डै ४ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । चैत महिनामा ५० हजार घरजग्गाको कारोबारबाट ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

फागुन महिनामा घरजग्गा कारोबारबाट साढे ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । फागुन महिनामा ५१ हजार घरजग्गा किनबेच हुँदा ३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

यस्तै अघिल्लो महीना माघमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख रूपैयाँ मात्रै राजस्व प्राप्त भएको थियो । माघको तुलनामा चैतमा ५७ करोड रुपैयाँले राजश्व संकलन बढेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ४९ करोड १७ लाख ९४ हजार रुपैयाँ, पुँजीगत लाभकरवापत १ अर्ब ४६ करोड ९१ लाख ७ हजार रुपैयाँ, देशभरका मालपोत कार्यालयबाट सेवा दिएवापत सेवा करवापत ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ, मुख्यमन्त्री स्वछता अभियान कोष शुल्क ३ करोड ४७ लाख, साढे ९८ हजार बिलम्ब शुल्क र अन्य विभिन्न सेवामार्फत् राजस्व संकलन गरेको छ ।

चैतमा कुल ५० हजार २५२ वटा लिखत पारित भएको छ भने ५ हजार ८८६ वटा नामसारी भएको छ । यस्तै ११ हजार २५० वटा संसोधन हुँदा ३९ हजार ८२२ जग्गा रोक्का भएको छ । यसैगरी, २९ हजार २४७ फुकुवा र ४४४ जग्गा बाँडफाँड भएको छ ।

लगनखेल मालपोत मालपोतबाट सर्वाधिक राजस्व संकलन

२०८० चैत महिनामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्नेमा लगनखेल मालपोत कार्यालय छ । ३९ करोड ६२ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । कुल ३९ करोड ६२ लाख १७ हजार रुपैयाँ राजश्वमा लगनखेल मालपोत कार्यालयले संकलन गरेको राजश्व ९.९६ प्रतिशत हो । उक्त कार्यालयले मात्रै १ हजार २ ओटा लिखत पारित गरेको छ ।

यसैगरी मालपोत कार्यालय भक्तपुरले चैतमा २७ करोड ६७ लाख ६६ हजार रुपैयाँ सङ्कलन गरेको छ भने कलङ्की मालपोतलबाट २५ करोड ७६ लाख ७३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

डिल्लीबजारको भुमिसुधार तथा मालपोत कार्यालयले २४ करोड ५९ लाख ४६ हजार रुपैयाँ संकलन गरेको छ भने मालपोत कार्यालय चावाहिलले २३ करोड २१ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । भक्तपुरले चैतमा ९ सय ६९ लिखत पारित गरेको छ भने कलङ्की मालपोतले ७३१, डिल्लीबजारले २०५ र चावाहिलले ४ सय ९१ लिखत पास गरेको छ ।

यसैगरी चितवन मालपोतले १३ करोड ६० लाख रुपैयाँ ७५ हजार,सुनसरीको इनरुवा मालपोत कार्यालयले १२ करोड ८१ लाख ८७ हजार र कास्की मालपोत कार्यालयले ११ करोड ६१ लाख ८४ हजार राजस्व सङ्कलन गरेका हुन् । चितवन मालपोतले फागुनमा ८९६, कास्कीले ६७० र इनरुवाले २०८२ ओटा लिखत पारित गरेको छ ।

लिखत पारितका हिसाबले फागुनमा जनकपुरबाट १ हजार ८३२, भद्रपुरबाट १ हजार ८३५, बेलबारीबाट १ हजार ७९९, राजविराजबाट १ हजार ३०२, जलेश्वरबाट १ हजार ५४ र मलंगवाबाट १ हजार १८२ लिखत पारित भएको छ ।

यस्तै, सिरहाबाट १ हजार ९८, तौलिहवाबाट ९६३ र विराटनगरबाट ९५४ ओटा लिखत पारित भएको तथ्यांक छ ।

चैतमा गोरखाको सिर्दिवास मालपोतले सबैभन्दा कम राजश्व संकलन गरेको छ । सर्दिवास मालपोतले एक महिनामा ८३ हजार ७५ रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ । यस्तै मालपोत कार्यालय मुस्ताङले ९८ हजार ५७५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

सर्दिवास मालपोत कार्यालयबाट फागुनमा १८ ओटा लिखत पारित भएको छ भने मुस्ताङबाट २१ वटा लिखत पारित भएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments