मध्यपूर्वको तनाव सहज भएसँगै विश्व सेयरबजारमा हरियाली

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
११बैशाख, २०८१, मंगलवार / Apr 23, 2024 12:35:pm

अप्रिल १३ मा इरानले इजरायलमाथि गरेको आक्रमणले मध्यपूर्वमा मात्रै नभई विश्वव्यापी रुपमै तरङ्ग पैदा गरेको थियो । आक्रमणको प्रभाव विश्व सेयरबजारमा समेत परेको थियो ।

लगानीकर्ताको मनोबल कमजोर हुँदा आक्रमणपछिको केही दिनसम्म विश्व सेयरबजारमा उतारचढाव देखिएता पनि आक्रमणले निर्माण गरेको तनाव सहज भएसँगै विश्व सेयरबजारमा पुन हरियाली छाएको छ ।

अमेरिकी सेयर सूचांक नास्डाक् १.११ प्रतिशतले बढेको छ भने एस एन्ड पी ५०० सेयर सूचांक ०.८७ प्रतिशतले माथि उक्लिएको हो । यस्तै डाउ जोन्स इन्डष्ट्रियल एभरेज सूचांक ०.६७ प्रतिशतले बढ्दा वालस्ट्रीटको मौसम हरियालीमय भएको छ । तथापि सेयर बजारको मूभमेन्ट र लगानीकर्ताको मनोबल मापन गर्ने फिएर एन्ड ग्रीड सूचांकका अनुसार अमेरिकी सेयरबजार फियर (डर)ले ड्राइभ गरिरहेको छ ।

यस्तै युरोपियन सेयरसूचांक एफटीएसइ १०० सूचांक समेत १.६२ प्रतिशतले बढेको छ । मध्यपूर्वमा तनाव बढेको समयमा ३.७ प्रतिशत घटेको एशियाली सेयर सूचांक तनाव शान्त भएसँगै १ प्रतिशतले बढेको हो ।

यस्तै जापान बाहिर एशिया–प्यासिफिक क्षेत्रको बृहत् सेयर सूचांक एमएससीआई ०.५ प्रतिशतले बढेको छ । हङकङको सेयरसूचांक ह्याङस्याङ सूचांक ०.८ प्रतिशत र ताइवानको सेयर सूचांक १ प्रतिशतले उकालो लागेको छ ।

डलरसँगको विनिमयमा कमजोर प्रदर्शन गरिरहेको येनको सामना गरिरहेको जापानको सेयरसूचांक निक्केइ सूचांक समेत ०.२३ प्रतिशतले बढेको छ । चीनको साङ्घाइ सूचांक भने ०.४३ प्रतिशतले घटेको हो ।

यस्तै भारतीय सेयर सूचांक निफ्टी ५० आज ०.३४ प्रतिशत र बीएसई सेनसेक्स सूचांक ०.३२ प्रतिशतले बढेको छ ।

हाललाई मध्यपूर्वको तनाव सहज भएको देखिएतापनि मध्यपूर्वका सम्पूर्ण समस्या समाप्त भएको भन्न नमिल्ने एएमपीका वरिष्ठ अर्थशास्त्री शेन ओलिभरले बताएका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments