बैंकहरुद्धारा निक्षेपको तीन गुणासम्म कर्जा प्रवाह, निरन्तर बढ्दै सीसीडी अनुपात

-नोटबजार संवाददाता।
काठमाडौं।
१६चैत्र, २०७७, सोमबार / Mar 29, 2021 17:20:pm

बैंक तथा वित्तीय संस्थामा कर्जाको माग उल्लेख्य रुपमा बढ्न थालेको छ । बैंकहरुले माग अनुसार कर्जालाई सम्बोधन गर्न समेत नसकेको अवस्था देखिएको हो ।

पछिल्लो समयमा कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैंकहरुमा कर्जाको माग बढेपछि बैंकहरु पनि कर्जा विस्तारमा आक्रमक देखिएका छन् । बैंकहरुले निक्षेपको दोब्बर, तेब्बरसम्म कर्जा लगानी गरेको अवस्था छ ।

फागुन महिनामा बैंकहरुले ४० अर्ब निक्षेप संकलन गरेका थिए । सो अवधिमा बैंकहरुले ९५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए । चैत्र महिनाको १३ गतेसम्ममा बैंकहरुले २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । बैंकहरुले चैत्र महिनाको पछिल्लो एक साता अर्थात ६ देखि १३ गतेसम्ममा मात्र १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

पछिल्ला दिनहरुमा आयातमा आएको वृद्धि र शेयर तथा घरजग्गाको कारोबारमा आएको उत्साहले बैंकहरुमा कर्जाको माग बढेको हो । व्यापार व्यावसायहरुमा आएको गतिका कारण बैंकहरुमा कर्जाको माग बढेको बैंकहरु बताउछन् ।

कर्जा प्रबाहमा बैंकहरु आक्रमक हुँदा तरलतामा समेत केही दबाब परेको अवस्था थियो । तरलतामा दबाब परेपछि बैंकहरको अन्तर बैंक दर नै करिब ४ प्रतिशतको हाराहारीमा पुगेको थियो । तर,नेपाल राष्ट्र बैंकले कारोना प्रभावितलाई दिने भनेको पुनरकर्जा सुविधाको रकम बजारमा आएपछि केही सहज भएको हो । अहिले अन्तर बैंक ब्याजदर करिब डेढ साताको अवधिमा घटेर ०.६५ प्रतिशतमा झरेको छ । अन्तर बैंक ब्याजदरमा देखिएको उतारचढावले पनि तरलता प्रयाप्त रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले पनि कोरोनाका कारण विग्रेको उत्पादन तथा वितरणको संयन्त्र लयमा फर्कनका लागि प्रयोग आउने भन्दै अधिक तरलतालाई नीतिगत रुपमा व्यवस्थापन नगरेको हो । नियमित भन्दा अन्य नीतिगत दरहरुबाट बजारमा तरलता समस्या नहुने गरी मौद्रिक नीतिको समिक्षा गर्दै आएको छ ।

बैंकिङ प्रणालीमा कर्जाको माग बढ्न थालेपनि बैंकहरुले कर्जाको छनोट गर्ने, निक्षेपमा केही ब्याजदर बढाउने लगायतका गतिविपध सुरु भएको थियो । तर, पुनरकर्जाको रकमले तत्कालका लागि बजार तरलतामा दबाब नपर्ने अवस्था आएको छ । तर, चैत महिनाको अन्तिमसम्म सरकारी खर्च नवढेको खण्डमा तरलतामा समस्या पर्ने एक बैंकरले बताए । अहिले बैंकहरुको औसत पूँजी कर्जा निक्षेप अनुपात पनि दैनिक रुपमा बढीरहेको छ । गत बिहीबारसम्ममा बैंकहरुको पुँजी कर्जा तथा निक्षेप अनुपात ७७.७२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गत बुधबारको तुलनामा धेरै हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप अनुपात ८५ कायम गरेको छ ।

पछिल्लो समयमा सस्तो ब्याजदरका कारण पनि कर्जाको माग उच्च देखिन्छ । ब्याजदर सस्तो भएका कारण दिर्घकालिन योजनाका सञ्चालकहरु पनि यहि समयमा कर्जा माग बढेको छ ।

कोरोनाका कारण बैंकिङ प्रणालीमा निक्षेप थपिने, कर्जा रोकिने हुँदा अधिक तरलताको समस्या देखियो । अधिक तरलताका कारण बैंकहरुले निक्षेपमा दिन ब्याजदर घटाएपछि बैंकहरुबाट निक्षेपमा राखिएको पैसा समेत बाहिरिन थालेको थियो । बचतको ब्याजदर न्यून भएपछि बैंकबाट पैसा बाहिरिन थालेसंगै तरलतामा पनि दबाब पर्न थालेको थियो ।

पछिल्ला दिनहरुमा कोरोनाको दोस्रो लहरको हल्लाले गर्दा आम जनमासनमा त्रास बढेको अवस्था छ । यसले गर्दा आगामी दिनमा कर्जाको मागमा कमी आउन सक्ने जोखिम भने देखिन्छ ।

चैत १३ गतेसम्ममा वाणिज्य बैंकहरुले कुल ३८ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा बैंकहरुले ३४ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments