निर्जीवन बीमा कम्पनीहरुको लगानी साढे ९% ले बढ्यो, ५४ अर्ब नाघ्यो

नोटबजार संवाददाता
काठमाण्डौं ।
७मंसिर, २०७९, बुधबार / Nov 23, 2022 14:34:pm

चालु आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुको लगानी ९.५० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको असोज महिनासम्ममा कम्पनीहरुले ५४ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । गत आवको सोही अवधिमा भने कम्पनीहरुले ४९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका थिए ।

प्राधिकरणको तथ्यांक अनुसार समिक्षा अवधिमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लगानी सबैभन्दा धेरैले बढेको छ । गत आवको तुलनामा चालु आवमा कम्पनीको लगानी ३३ प्रतिशतले बढेको हो । चालु आवको पहिलो तीन महिनाको अवधिमा कम्पनीले दुई अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले जम्मा एक अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको लगानी पनि ३१ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमास अवधिमा तीन अर्ब ३३ करोड रुपैयाँ लगानी गरेका थियो । गत आवको सोही अवधिमा कम्पनीले दुई अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको थियो । य

सका साथै शिखर इन्स्योरेन्स कम्पनीको लगानी २७ प्रतिशतले बढेको छ भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लगानी १७ प्रतिशतले बढेको छ । नेको इन्योरेन्सको १२, सानिमा जनरलको १०, लुम्बिनी जनरलको ९ र प्रुडेन्सियल इन्स्योरेन्सको लगानी ८.८२ प्रतिशतले बढेको छ । तर, सो अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनीको लगानी भने १७.७७ प्रतिशतले घटेको छ ।

बाणिज्य बैंकलाई छाडेर वित्तिय कम्पनी तर्फ लागे निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमा कम्पनीहरुले बाणिज्य बैंकलाई छाडेर वित्तिय संस्थाको मुद्धती निक्षेपमा लगानी गर्न थालेका छन् ।

चालु आर्थिक बर्षको पहिला त्रैमास अवधिमा कम्पनीहरुले वित्तिय संस्थाको मुद्धती निक्षेपमा गर्ने लगानी ४९ प्रतिशतले बढेको छ । सो अवधिमा कम्पनीहरुले ९४ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् । गत आवको सोही अवधिमा भने निर्जीवन बीमा कम्पनीहरुले वित्तिय संस्थाको मुद्धती निक्षेपमा ६३ करोड १७ लाख रुपैयाँ लगानी गरेका थिए ।

त्यस्तै, म्युचअल फण्ड र नागरिक लगानीको कोषमा पनि कम्पनीहरुको लगानी ४४ प्रतिशतले बढेको छ । चालु आवको पहिलो तीन महिना अवधिमा कम्पनीहरुले सो क्षेत्रमा ५८ करोड २१ लाख रुपैयाँ लगानी गरेका थिए । गत आवको सोही अवधिमा भने सो क्षेत्रमा कम्पनीहरुको लगानी ४० करोड ४० लाख रुपैयाँ थियो ।

त्यस्तै, बैक तथा वित्तिय संस्थको अग्राधिकार शेयरमा कम्पनीहरुको लगानी ह्वातै बढेको छ । समिक्षा अवधिमा सो क्षेत्रमा कम्पनीहरुले एक अर्ब ७३ करोड रुपैयाँ लगानी गरेका छन् । गत आवको सोही अवधिमा भने ६६ करोड ५२ लाख रुपैयाँ मात्रै लगानी भएको तथ्यांकमा उल्लेख छ ।

नेपाल सरकारको बचतपत्रमा भने कम्पनीहरुले लगानी ६० प्रतिशतले घटाएका छन् । चालु आवको पहिलो तीन महिना अवधिमा सो क्षेत्रमा कम्पनीहरुले २३ करोड ५३ लाख रुपैयाँ लगानी गरेका थिए भने गत आवको सोही अवधिमा ५८ करोड ८८ लाख रुपैयाँ लगानी गरेका थिए । बाणिज्य बैंकको मुद्धती निक्षेमा पनि कम्पनीहरुले ३४ प्रतिशतले लगानी घटाएका छन् । सुचिकृत कम्पनीको डिवेन्चर र पूर्वाधारमा पनि कम्पनीहरुको लगानी घटेको छ ।

नियम विपरित लगानी गर्छन् बीमा कम्पनीहरु

बीमा कम्पनीहरुले नेपाल प्राधिकरणले तोकेको नियम मिचेर लगानी गर्दै आएका छन् । प्राधिकरणले तोकेको क्षेत्र र सिमालाई वेवास्ता गर्दै कम्पनीहरुले लगानी घटाउने र बढाउँने गर्दै आएका छन् ।

प्राधिकरणले नेपाल सरकारको बचतपत्र, बाणिज्य बैंकको मुद्धती निक्षेप र नेपाल पूर्वाधार बैंकको मुद्धती निक्षेपमा अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल सरकारको बचतपत्रमा न्यूनत्तम ५ प्रतिशत र बाँकी दुई क्षेत्रमा न्यूनत्तम ४० प्रतिशत लगानी गर्न भनेको छ ।

त्यस्तै घरजग्गामा बढीमा ५ प्रतिशत, सुचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा बढीमा १० प्रतिशत, बैक तथा वित्तिय संस्थाको अग्राधिकार शेयरमा २०, पूर्वाधारमा २०, म्युचअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत लगानी गर्न निर्देशन दिएको छ । त्यस्तै, विकास बैंकको मुद्धती निक्षेपमा २० र वित्तिय संस्थाको मुद्धती निक्षेपमा पनि बढीमा १० प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था गरेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments