विकासका लागि साझा एजेण्डा आवश्यक :अध्यक्ष ढकाल

नोटबजार संवाददाता ।
पर्वत ।
२०फाल्गुन, २०८०, आईतवार / Mar 03, 2024 16:01:pm

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताएका छन।

पर्वत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आज कुश्मामा उद्घाटन गर्दै उनले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए।

अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको बेला सबै दलहरुले विकासका साझा एजेण्डा तयार गर्नुपर्नेमा जोड दिए। उनले उद्योग, कलकारखाना खोल्ने कुरालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै औद्योगिक क्षेत्रको विकाससँगै ऊर्जा, जलस्रोत, पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए।

वाणिज्य महासङ्घका अध्यक्ष ढकालले कोभिड–१९, रसिया–युक्रेन युद्धका साथै सरकारको आर्थिक नीतिका कारण अर्थतन्त्र धरासायी बनेको भन्दै अब भने सुधार हुँदै जाने बताए। “जति बिग्रिने हो त्यति बिग्रिसकेको छ । अब अर्थतन्त्र चलायमान हुँदै गएकाले यो क्षेत्र सुधार हुन्छ”, उनले भने ।

अध्यक्ष ढकालले उद्योग वाणिज्य महासङ्घको निरन्तरको दबाबपछि राष्ट्र बैंकले ब्याजदर घटाएको स्मरण गराउँदै निजी क्षेत्रको विकास र व्यावसायीको हितका लागि महासङ्घले काम गर्दै आएको बताए । पर्वतको विकासको लागि लगानीमैत्री वातावरण बनाउने सङ्कल्प गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ढकालले तीन तहका सरकारका बीच समन्वय नहुँदा लगानीकर्ता र व्यवसायीले उल्झन व्यहोर्नुपरेको उल्लेख गर्दै उपयुक्त समय भएमा एक वर्षमै लगानीको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने विचार व्यक्त गरे । पर्यटनको हिसाबले पर्वत उत्कृष्ट जिल्ला बन्दै गएको उनले बताए।

अध्यक्ष ढकालले पर्वत पर्यटन, जलविद्युत् र धार्मिक क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउन सकेमा रोजगार सिर्जना हुनुका साथै जिल्लाको समृद्धिमा टेवा पुग्ने बताए। उनले पर्वतको विकासका लागि गुरुयोजना तयार गर्न आग्रह गर्दै आफूले साझेदारी गर्न तयार रहेको बताए।

सङ्घको १८औँ अधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments