काठमाडौँ । ऊर्जा क्षेत्रमा अन्तर्राष्टिय स्तरको पावर समिट, २०२५ आयोजना हुने भएको छ । सो सम्बन्धमा बिहिबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी असोजमा हुने पावर समिटबारे पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो ।
इप्पानको विशेष कार्यक्रमको रुपमा चिनिएको यो पावर समिट आगामी असोज १ र २ गते अर्थात् (१७–१८ सेप्टेम्बर, २०२५) मा काठमाडौंमा ‘मिसन २८ ५०० इमडब्ल्यू : पावरीङ नेपाल, इनर्जीङ रिजन’ नारासहित कार्यक्रम हुनेछ । नेपाल सरकारले आगामी १० बर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको परिपेक्ष्यमा ऊर्जा क्षेत्रमा अन्तर्राष्टिय पावर समिट आयोजना गरिएको अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
ऊर्जा विकास मार्गचित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पु¥याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रिय बजारमा व्यापार गराउन ३० भन्दा धेरै देशका लगानीकर्ता, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारी, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत सरोकारवाला निकायलाई एउटै छानामुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहस गर्ने समिटको मुख्य उद्देश्य रहेको अध्यक्ष कार्की बताउँछन् ।
नेपालको ऊर्जा उत्पादनको ११४ वर्षको इतिहासमा ३ हजार ६०० मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व हो भन्ने महशुस गरी पावर समिट आयोजना गरिएको पावर समिट संयोजक आनन्द चौधरीले बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संरक्षण र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारीका साथै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था, निकाय र कम्पनीको सहभागितामा वृहत् रुपमा समिट आयोजना गर्न लागिएको वरिष्ठ उपाध्यक्ष मोहन डाँगीको भनाइ छ । प्रधानमन्त्री एवं विभिन्न देशका बिशिष्ट व्यक्ति, विज्ञ लगायतको सहभागितामा हुन लागेको यो पावर समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको नवौं संस्करण हो ।
यस वर्षको सम्मेलनले सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा सरोकारवालालाई एकै ठाउँमा भेला गरी नीतिगत बहस, हासिल भएका सफलता तथा उपलब्धि र अनुभवको आदानप्रदान गर्ने उपमहासचिव प्रकाश दुलालले बताएका छन् । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, सरकारी संघ संस्थाका उच्च अधिकारी, निजी क्षेत्र तथा गैह्र सरकारी क्षेत्रका सरोकारवाला गरी विगतका सम्मेलनको जस्तै एक हजार बढीको सहभागिता रहने अनुमान गरिएको छ ।
विशेषगरी ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएको नेपाल र दक्षिण एशियाली देशको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत र कार्बन व्यापारसँगै नविनत्तम वित्तीय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधारहरु निर्माणमार्फत क्षेत्रीय सम्पर्क विस्तार, नेपाल र दक्षिण एशियाली मुलुकको नेट जिरो इमिसनको लक्ष्य हासिल, दिगो र समावेशी ऊर्जा विकास जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोलाई सम्बोधन गरी नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रुपमा चिनाउने थलो समिट बन्ने इप्पानले अपेक्षा गरेको छ ।
समिटमा हुने आन्तरिक तथा वाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र न्यूनीकरणसँगै प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण जस्ता चुनौतीको सामनाका लागि नेपाल र अन्य देशले बनाउनुपर्ने नीति निर्माणसँगै विश्वका विभिन्न देश र विकास साझेदारको अनुभव र अभ्यासको बारेमा समेत समिटमा छलफल हुनेछ । यी मुद्दा र विषयमा केन्द्रीत हुने समिटले नेपालको दिगो ऊर्जा विकास र क्षेत्रीय बजारमा दरिलो उपस्थितिका लागि अबको बाटो पहिल्याउने गरी ठोस सुझाव र मार्ग निर्देशन प्राप्त हुनेछ भने यसले क्षेत्रीय बजारमा नेपालको ऊर्जालाई प्रतिष्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालको कुल ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी छ । बहुदलीय प्रजातन्त्रपछि ऊर्जामा निजी क्षेत्रलाई खुला गरेसँगै नेपाल सरकारले अघि सारेको लगानीमैत्री नीतिकै कारण नेपालको कुल उत्पादन क्षमता ३६०२ मेगावाट पुग्दा २९०० मेगावाट विद्युत निजी क्षेत्रबाट उत्पादन भइरहेको छ । ऊर्जा उत्पादनमा निजी क्षेत्रको प्रवेश भएको २५ वर्षमै निजी क्षेत्रले यति धेरै उत्पादन गर्न सफल भएको हो ।
हालसम्म निजी क्षेत्रले १३ खर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ भने ५० खर्ब रुपैयाँ लगानीको लागि तम्सिएको छ । निजी क्षेत्रकै अगुवाइमा ४ हजार २०० मेगावाट क्षमताका आयोजनाहरु निर्मााणाधीन अवस्थामा रहेको र ४ हजार १०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको छ ।










प्रतिक्रिया