साञ्जेन जलविद्युतको आईपिओ दश कित्ता माग्नेलाई मागेजति, अपुग हुँदा २० हजार ११४ आवेदकलाई पनि १० कित्ता मात्रै

0
Shares

साञ्जेन जलविद्युत कम्पनीले बैशाख ६ गतेदेखि १२ गतेसम्म निष्काशन गरेका साधारण शेयर बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उर्जा मन्त्रालयको सभाहल, सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितीमा आयोजनाको शेयर बाँडफाँड गरिएको हो।

साञ्जेन जलविद्युत बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेन जलविद्युत कम्पनीको शेयरमा १० कित्ताका लागि आवेदन गरेका ५९ हजार ४५५ जना आवेदकलाई माग अनुसार नै शेयर पाएका छन् ।

२० देखि २ हजार कित्तासम्म आवेदन गर्ने २ लाख २९ हजार ४४२ आवेदकमध्ये ९१.२३ प्रतिशत अर्थात दुई लाख ९ हजार ३२८ आवेकले गोलाप्रथाबाट थप १० कित्ता गरि २० कित्ताका दरले शेयर पाएका छन्। ८.७७ प्रतिशत अर्थात २० हजार ११४ आवेदकले थप १० कित्ता शेयर प्राप्त गर्न सकेनन्।
साञ्जेनको आईपिओमा सबै सदर आवेदक २ लाख ८८ हजार ७९७ जना आवेदकलाई १० कित्ताका दरले समानुपातिक रुपमा २८ लाख ८८ हजार ९७० कित्ता शेयर बाँडफाँड गरिएको हो । बाँकी रहेको २० लाख ९३ हजार २८० कित्ता शेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने २ लाख ९ हजार ३२८ जना लगानीकर्तालाई गोलाप्रथाबाट थप १० कित्ताका दरले वितरण गरिएको हो।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेनको आईपिओमा कूल एक करोड ३८ लाख ६९ हजार ७३० कित्ता शेयरको माग भएको थियो । ३ लाख ५९७ आवेदनबाट २.७८ गुणा बढी शेयर माग भएको हो ।

एघार हजार ७०० वटा आवेदन रद्ध

आईपिओमा आवेदन गरेका आवेदकमध्ये विविध त्रुटीका कारणले ११ हजार ७०० वटा आवेदन रद्ध भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
रद्ध आवेकबाट ८ लाख ७३ हजार ५१० कित्ता शेयर माग भएको थियो।

कूल तीन लाख ५९७ आवेदन परेकोमा २ लाख ८८ हजार ८९७ वटा आवेदन सदर भएको थियो। सदर आवेदकबाट एक करोड २९ लाख ९६ हजार २२० कित्ता माग भएको थियो।

साञ्जेनले सर्वसाधारहरुबाट ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको थियो। कूल ५४ लाख ७५ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा २ लाख १९ हजार कित्ता जलविद्युत कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ।