बूढीगण्डकी बाढीपीडितको सुरक्षित पुनर्वास गर्न माग

notebazar_admin
0
Shares
बूढीगण्डकी बाढीपीडितको सुरक्षित पुनर्वास गर्न माग

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बूढीगण्डकी बाढीबाट प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति, राहत र दीर्घकालीन सुरक्षित पुनर्वासको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

समितिले बाढीबाट क्षति पुगेका पुलपुलेसाको पुनर्निर्माणलाई तीव्रता दिन, आयोजनाका कारण रोक्का रहेका तर मुआब्जा नपाएका जग्गा फुकुवा गरी नागरिकलाई भोगचलन तथा बेचबिखन गर्न पाउने व्यवस्था मिलाउनसमेत सुझाव दिएको हो ।

समितिले गोरखाका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँगको छलफलपछि तयार पारेको प्रतिवेदनमाथि आज समितिमा छलफल गरेको थियो ।

प्रतिवेदनले नागरिकको जिउधनको सुरक्षा, विपद् व्यवस्थापन तथा विकास निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने सुझाब दिएको छ । विपद् व्यवस्थापन, विकास निर्माण, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा स्थानीय सरकारलाई पर्याप्त बजेट सुनिश्चित गरी सङ्घीय तथा प्रदेश सरकारले आवश्यक समन्वय र सहयोग गर्नुपर्ने समितिको सुझाव छ ।

सङ्घीयता कार्यान्वयन र सबलीकरणका लागि बन्न बाँकी ऐन तथा कानुन निर्माण गरी तीन तहका सरकारबीच समन्वय र सहकार्यको आधार बलियो बनाउनुपर्ने उक्त प्रतिबेदनको सुझाव छ ।

बूढीगण्डकी नदीमा २०८३ असोज २५ गते बिहान गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङबीच ठूलो पहिरो खसेर नदी थुनिएपछि लेदोसहितको बाढी आएको थियो । बाढीले चुमनुव्री, धार्चे, आरुघाट र भीमसेन थापा गाउँपालिकाका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पु¥याएको थियो ।

बाढीबाट प्रभावित क्षेत्रको अवस्था, क्षतिको प्रभाव, शिक्षा, स्वास्थ्य, मानव अधिकार संरक्षण तथा विपद् व्यवस्थापनमा तीन तहका सरकारबीचको समन्वयबारे जानकारी लिन समितिले गोरखाका प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको जनाएको छ । समितिले कात्तिक १७ देखि २० गतेसम्म गोरखाका प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।

समितिका सभापति जयन्तीदेवी राईसहित सदस्यहरूले धार्चे, चुमनुव्री र आरुघाट गाउँपालिकाका प्रभावित क्षेत्रको अनुगमन गरी स्थानीय जनप्रतिनिधि, जिल्ला विपद् व्यवस्थापन समिति र सरोकारवालासँग छलफल गरेकी थिइन् ।

प्रतिवेदनले गोरखामा प्राकृतिक विपद्को उच्च जोखिम रहेकाले विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ । साथै, पूर्वाधार विकासमा पर्याप्त लगानी, नागरिकको जीविकोपार्जनको सुनिश्चितता तथा स्थानीय सरकारलाई आवश्यक स्रोतसाधन र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएको छ ।
रासस

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार १६ : ४८ बजे