चार महिनामा व्यापार घाटा ६ खर्ब नाघ्यो, ९ खर्ब ३७ अर्बको वैदेशिक व्यापार

notebazar_admin
12
Shares
चार महिनामा व्यापार घाटा ६ खर्ब नाघ्यो, ९ खर्ब ३७ अर्बको वैदेशिक व्यापार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को चार महिनामा ९ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।

४ महिनाको अवधिमा भएको व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

साउनदेखि कात्तिकसम्ममा वैदेशिक व्यापारमा मुलुकले ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । जुन घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.६५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको थियो ।

चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आवको तुलनामा ३१.७७ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ६ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, चार महिनामा नेपालबाट १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४३.४८ प्रतिशत बढी हो । गत वर्ष ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा १.१७ प्रतिशतले घटेको छ । गत वर्ष ८६.७० प्रतिशत रहेको आयातको हिस्सा यस वर्ष ८५.६९ प्रतिशतमा सीमित भएको छ । निर्यातको हिस्सा १३.३० प्रतिशतबाट बढेर १४.३१ प्रतिशतमा पुगेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । निर्यात बढे पनि आयातको ठूलो परिमाणका कारण व्यापार घाटामा अपेक्षित सुधार हुन सकेको छैन ।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार १२ : १० बजे