बिटुमिनको अर्बौं खर्च जोगाउन ढलान सडक, तर लागत ४५ प्रतिशतसम्म महँगो

बिटुमिनको अर्बौं खर्च जोगाउन ढलान सडक, तर लागत ४५ प्रतिशतसम्म महँगो

काठमाडौं । बर्खायाम सुरु भएसँगै सडकमा खाल्डाखुल्डी पर्ने, कालोपत्रे उप्किने र मर्मतसम्भारका नाममा राज्यको ठूलो रकम खर्च हुने समस्या नेपालमा नौलो होइन । सडक निर्माण भएको केही समयमै बिग्रिने र वर्षैपिच्छे मर्मत गर्नुपर्ने अवस्थाले सडक निर्माणमा प्रयोग भइरहेको प्रविधिमाथि नै प्रश्न उठाउँदै आएको छ ।

यही पृष्ठभूमिमा नेपालमा कालोपत्रेको विकल्पका रूपमा सिमेन्ट कंक्रिट (ढलान) सडक निर्माणको बहस फेरि तीव्र बनेको छ । स्वदेशी सिमेन्टको खपत बढाउने, बिटुमिन आयातमा विदेशिने अर्बौं रुपैयाँ जोगाउने र सडकको आयु लम्ब्याउने उद्देश्यसहित सरकारले समेत कंक्रिट सडक निर्माणलाई प्राथमिकता दिन खोजेको छ ।

सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दै ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेपछि यो बहस नीतिगत तहमा पुगेको हो ।

निर्देशिकाले प्राविधिक रूपमा उपयुक्त हुने स्थानमा सडक निर्माण गर्दा स्वदेशी सिमेन्ट तथा स्थानीय निर्माण सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । स्वदेशमै उपलब्ध सामग्री प्रयोग गर्न सकिने अवस्थामा विदेशी सामग्री नै आवश्यक पर्ने गरी डिजाइन बनाउनसमेत नपाइने व्यवस्था गरिएको छ । त्यस्तै, निश्चित बोलपत्र मूल्यांकन प्रक्रियामा विदेशी वस्तुको तुलनामा १५ प्रतिशतसम्म महँगो भएपनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने प्रावधान राखिएको छ ।

सरकारको यो नीतिको पछाडि आर्थिक कारण पनि छ । नेपालमा सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिन शतप्रतिशत आयात गर्नुपर्ने अवस्था छ । भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कतारलगायतका मुलुकबाट वार्षिक करिब १४ देखि १६ अर्ब रुपैयाँ बराबरको बिटुमिन आयात हुने गरेको छ ।

बिटुमिन आयातमा मात्रै ठूलो रकम विदेशिने गरेको अवस्थामा सडक निर्माणमा स्वदेशी सिमेन्टको प्रयोग बढाउन सके आयात प्रतिस्थापनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ । त्यसबाहेक सडकको नियमित मर्मतसम्भारमा हुने खर्च घटाउन सके राज्यको दीर्घकालीन वित्तीय भारसमेत कम हुन सक्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्यांकअनुसार सडक मर्मतसम्भारमा मात्रै वार्षिक करिब ३० देखि ३५ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । यस्तो खर्च घटाउन सडक निर्माणको प्रविधि र गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सिमेन्ट उद्योगको क्षमता उपयोग बढाउने अपेक्षा

सरकारको यो नीतिलाई स्वदेशी सिमेन्ट उद्योगले बजार विस्तारको अवसरका रूपमा हेरेका छन् । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको छ । आन्तरिक माग धान्नुका साथै भारतलगायतका देशमा सिमेन्ट निर्यातसमेत भइरहेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२÷८३ मा नेपालबाट २ अर्ब ३ करोड रुपैयाँ बराबरको ९ लाख २३ हजार ३७६ टन सिमेन्ट निर्यात भएको छ । तर, आन्तरिक बजारमा निर्माण गतिविधि सुस्त हुँदा उद्योगहरूले आफ्नो उत्पादन क्षमता पूर्ण रूपमा उपयोग गर्न सकेका छैनन् ।

नेपाल सिमेन्ट उत्पादक संघका अनुसार करिब ३ खर्ब रुपैयाँ लगानीमा स्थापना भएका देशभरका ६५ वटा सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता करिब २ करोड ५० लाख टन छ । तर, आन्तरिक बजारको वार्षिक माग करिब १ करोड टन हाराहारी मात्रै छ । यसका कारण उद्योगहरू क्षमताको करिब ३५ देखि ४० प्रतिशतमा सीमित भएर सञ्चालन भइरहेका छन् ।

यही कारण सिमेन्ट उद्योगीहरूले सडक निर्माणमा कंक्रिट प्रविधिको प्रयोग बढाउन लामो समयदेखि सरकारसँग आग्रह गर्दै आएका छन् । नेपाल सिमेन्ट उत्पादक संघले २०७८ सालदेखि नै ‘ह्वाइट टपिङ’ तथा कंक्रिट सडक निर्माणको प्रवद्र्धनका लागि नीतिगत पहल गर्दै आएको छ ।

सरकारी पुँजीगत खर्च सुस्त हुँदा र निर्माण बजारमा माग अपेक्षाकृत नबढ्दा सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउने सरकारी नीतिले उद्योगहरूलाई नयाँ बजार उपलब्ध गराउन सक्ने उद्योगीहरूको अपेक्षा छ ।

निर्माण व्यवसायीको चासो : काम र भुक्तानीको सुनिश्चितता

निर्माणमा स्वदेशी सिमेन्टको प्रयोग बढाउने सरकारी नीतिलाई निर्माण व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन् । तर, नयाँ प्रविधि अपनाउने निर्णयसँगै सरकारले निर्माण कार्यको निरन्तरता र भुक्तानीको सुनिश्चितता गर्नुपर्ने उनीहरूको माग छ ।

निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष रवि सिंहका अनुसार कंक्रिट सडक निर्माणमा प्रयोग हुने उपकरण तथा प्रविधिमा व्यवसायीले ठूलो लगानी गर्नुपर्ने हुन सक्छ । सरकारले पर्याप्त तयारी नगरी ठेक्का आह्वान गर्ने, काम सुरु भएपछि बजेट अभाव हुने र भुक्तानी रोक्ने अवस्था कायम रहे व्यवसायीले त्यस्तो लगानी गर्न नसक्ने उनको भनाइ छ ।

‘सरकारले पूर्वतयारी नगरी ठेक्का लगाउन नपाइने कानुनी व्यवस्था छँदै छ, त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ,’ उनले भने ।

उनका अनुसार सडक निर्माणका लागि आवश्यक डिजाइन, बजेट, जग्गा तथा अन्य पूर्वाधारको तयारी पूरा गरेर मात्रै ठेक्का लगाउनुपर्छ । ठेक्का लगाएपछि सरकारले समयमै भुक्तानी गर्न सक्ने सुनिश्चितता पनि गर्नुपर्छ ।

स्वदेशी सिमेन्टको प्रयोग बढाउँदा आपूर्ति वा प्राविधिक पक्षमा ठूलो समस्या नआउने व्यवसायीहरूको बुझाइ छ । नेपालमै उत्पादित सिमेन्ट विदेशी उत्पादनको तुलनामा प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने भएकाले सडक निर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्न कठिनाइ नहुने उनीहरूको तर्क छ ।

२० देखि ३० वर्ष टिक्ने कंक्रिट सडक, तर सुरुवाती लागत महँगो

कंक्रिट सडकको प्रमुख फाइदा यसको टिकाउपनलाई मानिन्छ । निर्माण व्यवसायी तथा उद्योगीहरूका अनुसार गुणस्तरीय सामग्री प्रयोग गरी प्राविधिक मापदण्डअनुसार निर्माण गरिएको कंक्रिट सडक सामान्यतः २० देखि ३० वर्षसम्म टिक्न सक्छ । यसको तुलनामा कालोपत्रे सडकमा नियमित मर्मत गर्नुपर्ने र निश्चित अवधिमा पुनः कालोपत्रे गर्नुपर्ने अवस्था आउँछ ।

तर, कंक्रिट सडक निर्माणको सुरुवाती लागत भने कालोपत्रेको तुलनामा बढी पर्छ । निर्माण व्यवसायी सिंहका अनुसार कंक्रिट सडक निर्माण गर्दा सुरुको लागत करिब ४० देखि ४५ प्रतिशतसम्म बढी हुन सक्छ ।

बजेट सीमित भएको अवस्थामा एकैपटक धेरै किलोमिटर सडक कंक्रिटबाट निर्माण गर्न कठिन हुने उनको भनाइ छ । त्यसैले सडकको प्रारम्भिक निर्माण लागत मात्रै हेरेर प्रविधि छनोट गर्नुभन्दा सडकको आयु, मर्मतसम्भारमा लाग्ने खर्च र दीर्घकालीन आर्थिक लाभसमेत मूल्यांकन गर्नुपर्ने हुन्छ ।

पूर्वाधार विकास मन्त्रालय तथा शहरी विकास मन्त्रालयअन्तर्गत कार्यरत सिनियर डिभिजनल इन्जिनियर महेशबहादुर सिंह पनि सडक निर्माणमा स्थानीय स्रोतसाधनको प्रयोग बढाउने उद्देश्यले निर्देशिका आएको बताउँछन् । बिटुमिनको आयात प्रतिस्थापन गर्दै स्वदेशी सामग्रीको प्रयोग बढाउन यस्तो नीतिगत व्यवस्था गरिएको उनको भनाइ छ ।

सबै सडक ढलान गर्न सम्भव छैन

कंक्रिट सडकका फाइदा भएपनि सबै सडकमा यही प्रविधि उपयुक्त हुन्छ भन्ने छैन । सडकको भौगोलिक अवस्था, माटोको प्रकृति, पानीको निकास, सवारीसाधनको चाप र निर्माण लागतका आधारमा प्रविधि छनोट गर्नुपर्ने प्राविधिकहरूको भनाइ छ ।

निर्देशिकाले पनि सबै सडक कंक्रिटबाटै निर्माण गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन । प्राविधिक रूपमा उपयुक्त हुने स्थानमा मात्रै स्वदेशी सिमेन्ट प्रयोगलाई प्राथमिकता दिन खोजिएको हो ।

विशेषगरी धेरै भार बोकेका सवारीसाधन गुड्ने औद्योगिक क्षेत्र, पानी जम्ने स्थान तथा उकालो र घुम्ती भएका सडक खण्डमा कंक्रिट सडक उपयुक्त हुन सक्छ । तर, पहाडी भूगोलमा जमिनको अवस्था, ढल निकास र सडकको बनोटको अध्ययन नगरी ढलान गर्दा समस्या आउन सक्ने प्राविधिकहरूको बुझाइ छ ।

त्यस्तै, कंक्रिट सडक निर्माण भएपछि खानेपानी, ढल, विद्युत् तथा दूरसञ्चारका भूमिगत संरचना विस्तार गर्न सडक खन्नुपर्ने अवस्थाले पनि चुनौती थप्न सक्छ । कालोपत्रे सडकको तुलनामा कंक्रिट सडक काट्न र पुनः मर्मत गर्न खर्चिलो तथा प्राविधिक रूपमा जटिल हुने भएकाले सडक निर्माण गर्नुअघि नै भूमिगत पूर्वाधारका काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

कंक्रिट सडक निर्माणपछि सिमेन्ट सेट हुन र सडक प्रयोगका लागि तयार हुन निश्चित समय लाग्ने भएकाले व्यस्त सडकमा ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण हुन सक्छ ।

सडक विभागका अनुसार देशको कुल सडक सञ्जाल १ लाख किलोमिटरभन्दा बढी पुगेको छ । यसमध्ये पक्की सडकको हिस्सा करिब १५ प्रतिशत मात्रै रहेको बताइन्छ । पक्की सडकमा अधिकांश कालोपत्रे छन् भने कंक्रिट सडकको हिस्सा निकै कम छ ।

यस अवस्थामा सरकारले ल्याएको स्वदेशी उत्पादन प्रवद्र्धनको नीतिले सिमेन्ट उद्योगको बजार विस्तार मात्रै होइन, सडक निर्माणको गुणस्तर सुधार र दीर्घकालीन मर्मत खर्च घटाउने अवसर पनि दिन सक्छ ।

तर, त्यसका लागि कंक्रिट सडक निर्माणको स्पष्ट प्राविधिक मापदण्ड, लागत–लाभ विश्लेषण, गुणस्तर नियन्त्रण, दक्ष जनशक्ति र भूमिगत पूर्वाधारको पूर्वतयारी आवश्यक छ । बिटुमिन आयात प्रतिस्थापन गर्ने उद्देश्यले मात्रै सडकको प्रविधि छनोट गर्नुको सट्टा कुन भूगोल र सडकका लागि कुन प्रविधि उपयुक्त हुन्छ भन्ने आधारमा निर्णय गर्न सके मात्रै सरकारको यो नीति प्रभावकारी बन्न सक्छ ।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार ०७ : १५ बजे