टिकटकको लोकप्रियता बढेसँगै फेसबुकको शेयरमा गिरावट

0
Shares

विश्वभरका कयौँ देशहरुमा चाइनिज भिडियो एप टिकटकलाई मानिसहरुले एकदमै मन पराइरहेका छन् । टिकटकले फेसबुकलाई समेत टक्कर दिदैँ आइरहेको छ ।

एक तथ्यांक अनुसार सन् २०१८ को अक्टोबरमा फेसबुक र इंस्टाग्रामभन्दा धेरै टिकटक डाउनलोड गरिएको थियो । यस्तोमा फेसबुकको शेयरमा समेत असर परिरहेको बताइएको छ ।

टिकटक एपले प्रयोगकर्ताहरुलाई विशेष इफेक्टका साथ छोटो भिडियो बनाउने र शेयर गर्ने सुविधा दिन्छ । हाल यो विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने एप बनेको छ । विश्लेषकहरुले टिकटकको लोकप्रियता बढेसँगै फेसबुकको शेयरमा गिरावट आउन सक्ने बताएका छन् ।
टिकटक चाइनिज स्टार्टअप बाइटडान्सको कम्पनी हो । बाइटडान्सलाई विश्वको सबैभन्दा महंगो र ठूलो स्टार्टअप कम्पनीमध्येको एक मानिन्छ ।

केही दिन पहिले भारतमा टिकटकमाथि रोक लगाउँदा कम्पनीलाई दैनिक ५ लाख डलर बराबरको नोक्सान भइरहेको बताइएको थियो । योसँगै त्यहाँ कार्यरत २५० जना मानिसहरुको जागिर पनि खतरामा रहेको थियो । तर हाल भारतमा टिकटकमाथि लागेको रोक हटाइएको छ ।
टिकटक बनाउने कम्पनी बाइटडान्स टेक्नोलोजीको मुख्य कार्यालय चीनको बेइजिङमा रहेको छ ।