सरकारले खारेज गरेको विद्यालय युवाहरुको पहलले बन्दैछ नमूना

0
Shares

सरकारले बन्द गरेको पोखरा महानगरपालिका वडा नं १८ सराङकोट सिमतालमा रहेको सरस्वती प्राथमिक विद्यालय स्थानीय युवाहरुको सक्रियतामा पुन सञ्चालनमा आएपछि नमूना विद्यालयको रुपमा परिणत हुन थालेको छ।

२६ वर्ष पुरानो विद्यालय एकाएक बन्द भएपछि त्यहाँका बालबालिकाहरु निजी विद्यालयमा पढ्न बाध्य भएका थिए । विद्यार्थी संख्या कम भएको भन्दै सरकारले सो विद्यालय ०७२ सालमा बन्द गरेको थियो ।

विद्यालय बन्द भएको दुईबर्ष पछि स्थानीय सराङकोट समाज सेवा युवा क्लबको सक्रियतामा विद्यालय पुन संचालनमा ल्याइएको हो । गुणस्तरीय जीवन नेपाल नामक संस्थाले सहयोग गरेपछि विद्यालयले पुर्नजिवन पाएको सराङकोट समाज सेवा युवा क्लबका अध्यक्ष विष्णु थापाले बताए ।

अहिले यो विद्यालय त्यस क्षेत्रकै नमूना विद्यालयको रुपमा परिणत भएपछि निजी स्कूल छाडेर विधार्थीहरु यस विद्यालयमा भर्ना हुने क्रम बढेको उनको भनाई छ ।

युवाहरुको सक्रियता विद्यालय पुन सञ्चालनमा आएपछि सरकारले एक शिक्षक समेत उपलब्ध गराएको छ । अहिले विद्यालयमा ३० भन्दा बढी विद्यार्र्थी रहेका छन् भने तीन जना शिक्षक शिक्षिका छन् ।

गुणस्तरीय जीवन नेपाल र युवा क्लबले विद्यालयको संचालन खर्च जुटाउदै आएको छ । सराङकोट क्षेत्रमा पाकिङ बाट उठेको रकमबाट क्लबले विद्यालय सञ्चालन गर्दै आएको छ ।

यसैक्रममा क्लबले आइतबार उक्त विद्यालयका विधार्थीहरुलाई पाठ्य पुस्तक लगायत विभिन्न शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।

अग्रेजी माध्यमबाट पढाई सुरु गरेको र विद्यालयमा नै खाजाको व्यवस्था समेत गरिएकाले पनि विद्यालयमा नयाँ विधार्थी आउनेक्रम बढेको प्रधानध्यापक नारायण तिमिल्सिनाले बताए ।

प्रकाशित मिति: २९ वैशाख २०७६, आइतबार  १९ : ५३ बजे