पारादीप र कान्डलाको पहुँचले मधेशका उद्योगलाई लाभ, ढुवानी लागतमा भने चुनौती

notebazar_admin
0
Shares
पारादीप र कान्डलाको पहुँचले मधेशका उद्योगलाई लाभ, ढुवानी लागतमा भने चुनौती

काठमाडौँ । भारतले नेपाललाई पारादीप र कान्डला समुद्री बन्दरगाह प्रयोग गर्न दिने भएपछि तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालको विकल्प विस्तार भएको छ । यसबाट मुलुकको वैदेशिक व्यापार र औद्योगिक क्षेत्रका उद्योगलाई कच्चा पदार्थ आयातमा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ । तर नयाँ बन्दरगाहको पहुँचले आयात लागत घटाउने सुनिश्चितता भने छैन । समुद्री भाडा, आन्तरिक रेल तथा सडक ढुवानी र पारवहन प्रक्रियाको खर्चले यसको व्यावसायिक उपयोगिता निर्धारण गर्नेछ ।

प्रधानमन्त्री बालेन्द्र साहले मंसिर ६ र ७ गते गरेको भारत भ्रमणका क्रममा नेपालले यी दुई बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको हो । नयाँ पहुँचले मधेश प्रदेशका उद्योगलाई कच्चा पदार्थ आपूर्तिका लागि थप विकल्प उपलब्ध गराएको यहाँ उद्योगी तथा व्यापारीहरूको भनाई छ । तर नेपालले अहिले प्रयोग गर्दै आएको कोलकाता, हल्दिया र विशाखापट्टनमको तुलनामा ढुवानी दूरी, रेल सेवा, पारवहन प्रक्रिया तथा समग्र लागत कस्तो हुन्छ भन्ने विषयले यसको प्रभावकारिता निर्धारण गर्नेछ ।

उद्योग वाणिजय संघ मधेश प्रदेशका अध्यक्ष विजय कुमार साह पारादीप र कान्डला बन्दरगाहको पहुँचलाई मधेश प्रदेशको औद्योगिक विकास र आपूर्ति व्यवस्थापनका लागि नयाँ अवसरका रूपमा हेर्छन् । यसले कृषि मल, फलाम, सिमेन्ट तथा अन्य औद्योगिक कच्चा पदार्थ आयात गर्ने उद्योगलाई बन्दरगाह छनोटमा थप विकल्प उपलब्ध गराउन सक्ने उनको अपेक्षा छ ।

साहका अनुसार नयाँ बन्दरगाहको पहुँचले यस क्षेत्रका उद्योगलाई कच्चा पदार्थ आयात गर्न थप विकल्प उपलब्ध गराउनेछ । विशेषगरी मधेश प्रदेशमा सञ्चालित उद्योगका लागि आवश्यक सामग्रीको आपूर्ति सहज बनाउन यसले सहयोग पु¥याउने उनको विश्वास छ । “पहिले हामी कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहमा मात्रै निर्भर थियौं । अब थप विकल्प खुलेपछि सामान आपूर्ति गर्न सहज हुनेछ,” उनले भने, “तर वीरगन्जसम्म नियमित रेल सेवाको व्यवस्था हुन सके यसको लाभ अझ बढी लिन सकिन्छ ।”

तर नयाँ बन्दरगाहको पहुँचले तत्कालै ढुवानी खर्च र समय घटाउने सुनिश्चितता भने नरहेको बारा–पर्सा औद्योगिक क्षेत्रका अध्यक्ष सञ्जय कुमार साह बताउँछन् । उनका अनुसार पारादीप र कान्डला नेपालको वैदेशिक व्यापारका लागि नयाँ विकल्प भए पनि यसको व्यावसायिक उपयोगिता पूर्वाधार र कनेक्टिभिटीमा निर्भर हुनेछ । “कोलकाताको तुलनामा यी बन्दरगाहबाट सामान ल्याउँदा ढुवानी खर्च र समय बढी लाग्न सक्छ,” साहले भने, “नयाँ बन्दरगाह सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार र कनेक्टिभिटी सहज हुनुपर्छ ।”

उनका अनुसार दुई बन्दरगाहमध्ये पारादीप तुलनात्मक रूपमा नेपालका लागि सहज विकल्प हुन सक्छ । तर त्यसको व्यावसायिक उपयोगिता नियमित ढुवानी सेवा, रेलमार्गको उपलब्धता र पारवहन व्यवस्थामा निर्भर रहनेछ ।

नयाँ बन्दरगाहको पहुँचले व्यापारमा विकल्प थपिए पनि त्यसबाट आयात लागत घट्ने वा नघट्ने विषय समग्र ढुवानी खर्चमा निर्भर हुनेछ । समुद्री मार्गको भाडा कम भए पनि बन्दरगाहदेखि वीरगन्जसम्मको रेल वा सडक ढुवानी महँगो परेमा व्यवसायीले अपेक्षित लाभ पाउन सक्दैनन् ।

त्यसैगरी जहाजको नियमित आवागमन, कन्टेनर उपलब्धता, बन्दरगाहमा लाग्ने कार्गो ह्यान्डलिङ शुल्क, ट्रान्ससिपमेन्ट सुविधा र सामान छुटाउन लाग्ने समयले पनि आयातको अन्तिम लागत निर्धारण गर्छ ।

यस्तै विरगंज भन्सार कार्यालयका प्रमुख कृष्ण मैनाली पनि नयाँ बन्दरगाह अहिले प्रयोग गर्दै आएको भन्दा टाढा रहेको बताउँछन् । उनले भने, “यस विषयमा हामी पनि अध्ययनमै छौँ । तर कलकत्ता जस्तो सहज हुँदैन, गुजरातको बन्दरगाहबाट समान ल्याउनुपर्दा त कष्ट त आफै हाई भइहाल्छ नी ।” विकल्प धेरै हुनु नेपालको वैदेशीक व्यापारको लागि राम्रो भएपनि अहिलेको लागि पनि पारवाहनमा चुनौती देखिएको मैनाली बताउँछन् ।

भारतका यी बन्दरगाहदेखि नेपालको वीरगञ्जसम्मको सडक र रेल यातायातको दुरी फरक फरक रहेको छ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहदेखि कोलकात्ता बन्दरगाहसम्मको रेल दूरी करिब ९६० किलोमिटर र हल्दियासम्मको दुरी करिब १ हजार ८० किलोमिटर रहेको छ । त्यस्तै, विशाखापट्टनम बन्दरगाहदेखि वीरगञ्जसम्मको रेल करिडोर दूरी करिब १ हजार ४३६ किलोमिटर रहेको दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) को विवरणमा उल्लेख छ ।

नयाँ विकल्पका रूपमा प्रस्तावित ओडिशास्थित पारादीप बन्दरगाह वीरगञ्जबाट सडकमार्ग हुँदै करिब १ हजार ४५ किलोमिटर टाढा छ । तर रेलमार्गबाट वीरगञ्जसम्म सामान ल्याउने नियमित र स्वीकृत रुट, दूरी तथा ढुवानी दर अझै निश्चित भइसकेको छैन । भारतमा प्रयोग हुने सम्भावित रेलमार्गका विभिन्न जक्सन समेट्दा दूरी २ हजार २५५ देखि २ हजार २६५ किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ । यसले पारादीपको सडक दूरी कोलकात्तासँग तुलनात्मक रूपमा नजिक देखिए पनि रेलमार्गको रुट र ढुवानी खर्चका कारण यसको व्यावसायिक उपयोगितामा चुनौती देखिएको व्यवसायहिरूको भनाई छ ।

त्यस्तै, गुजरात राज्यको कच्छ जिल्लास्थित कान्डाला (दीनदयाल) बन्दरगाह भारतको पश्चिमी तटमा अवस्थित छ । यो बन्दरगाह भारतीय रेल सञ्जालसँग जोडिएको भए पनि त्यहाँबाट नेपालको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहसम्म सामान ल्याउने निश्चित रेलमार्ग र नियमित मालवाहक सेवा सञ्चालनको व्यवस्था अझै स्पष्ट भइसकेको छैन । कान्डालाबाट वीरगञ्जसम्म सामान ल्याउन भारतको आन्तरिक रेल सञ्जाल हुँदै विभिन्न रेल जक्सन पार गरेर रक्सौलसम्म पुग्नुपर्ने हुन्छ । त्यसपछि रक्सौलबाट करिब ६ किलोमिटरको रेलमार्ग हुँदै वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहसम्म सामान ल्याउन सकिन्छ । तर कान्डालाबाट रक्सौलसम्म कुन रेलमार्ग प्रयोग गर्ने, त्यसको कुल दूरी कति हुने, कुन स्थानमा रेल वा कन्टेनर परिवर्तन गर्नुपर्ने र ढुवानी भाडा कति लाग्ने भन्ने विषयमा व्यवसायीक तथा प्राविधिक सहमति हुन बाँकी छ ।

नेपालले यसअघि तेस्रो मुलुकसँगको व्यापारका लागि मुख्यतः भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ । पारादीप र कान्डालाको पहुँचले भने पूर्वी तथा पश्चिमी तटीय क्षेत्रका थप बन्दरगाह प्रयोग गर्ने विकल्प उपलब्ध गराएको छ । तर यी बन्दरगाहबाट सामान ल्याउँदा समुद्री ढुवानीमा हुन सक्ने बचतभन्दा भारतको आन्तरिक रेल तथा सडक ढुवानी खर्च बढी पर्न सक्ने सम्भावना पनि रहेको सरोकारवालाहरू बताउँछन् । जहाजको नियमित आवागमन, कन्टेनर उपलब्धता, कार्गो ह्यान्डलिङ शुल्क, ट्रान्ससिपमेन्ट सुविधा र पारवहन प्रक्रियाले समेत आयातको अन्तिम लागत निर्धारण गर्नेछ ।

त्यसैले नयाँ बन्दरगाहको पहुँचलाई तत्कालै आयात लागत घटाउने विकल्पका रूपमा भन्दा नेपालको वैदेशिक व्यापारका लागि थप पारवहन विकल्पका रूपमा हेर्नुपर्ने सरकारी अधिकारीहरूको भनाई छ । नियमित मालवाहक रेल सेवा, निश्चित पारवहन रुट, प्रतिस्पर्धी ढुवानी भाडा र सहज भन्सार प्रक्रिया सुनिश्चित भएपछि मात्रै यसबाट मधेश प्रदेशका उद्योग तथा नेपाली आयातकर्ताले वास्तविक लाभ लिन सक्ने व्यावसायीहरूको भनाई छ ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहीबार ०८ : ५६ बजे