गुराँस लघुवित्तको जीएलबिएसएल संकेतमा कारोबार हुने


गुराँस लघुवित्तको मंगलबार देखि शेयर कारोबार खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीको शेयर कारोबारका लागि जीएलबिएसएल कारोबार संकेत प्रदान गरेको हो ।
नेप्सेले लघुवित्तको शेयर कारोबारका लागि अधिकतम नेटवर्थको तीन गुणासम्ममा खरिद बिक्री गनै सकिने जनाएको छ ।

यसअनुसार संस्थाको शेयर न्यूनतम ९२ रुपैयाँ ७२ पैसादेखि अधिकतम २७८ रुपैयाँ १६ पैसासम्मको रेञ्जमा कारोबार सुरु हुनेछ ।कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर सहित कूल ७ लाख ७५ हजार कित्ता शेयर सोमबार नेप्सेमा कारोबारका लागि सूचीकृत गरेको थियो ।

गुराँस लघुवित्तले बैशाख १६ गते देखि २ लाख ३३ हजार ६२५ कित्ता साधारण शेयर निष्काशनमा गरी बैशाख २६ गते बाँडफाँड गरेको थियो । लघुवित्तको साधारण सेयरमा ३ लाख १ हजार ३९६ जना लगानीकर्ता मध्ये जम्मा २३ हजार ३६३ जनाले गोलाप्रथा मार्फत १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

धनकुटामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको आईपिओ निष्काशन पछि चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस अघि नै संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको थियो।