नियमानुसार उद्योगीले महसुल तिर्नुपर्छ :मन्त्री पुन


सरकारले डेडिकेडेट र ट्रङ्क लाइनबाट विद्युत् लिएका उद्योगीलाई नियममा रहेर महसुल चुक्ता गर्न आग्रह गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई हतोत्साही गर्ने पक्षमा सरकार नभए पनि नियमानुसार तिर्नुपर्ने महसुल उद्योगीले तिर्नुपर्ने बताएका हुन ।

उद्योगी व्यवसायीलाई समेत मर्कामा नपर्ने गरी मन्त्रालय र प्राधिकरणले आवश्यक अध्ययन तथा छानबिन गरिरहेको उल्लेख गर्दै उनले महसुल नै तिर्दिन भन्ने मान्यता राख्नु गलत भएको बताए । प्राधिकरणको सञ्चालक समितिका अध्यक्षसमेत रहनेका मन्त्री पुनले कुन उद्योगले के कति मात्रामा विद्युत् प्रयोग गरे भन्नेबारेमा मसिनो गरी छानबिन भइरहेको र तथ्य पत्ता लाग्ने उल्लेख गरे । प्राधिकरणका अनुसार डेडिकेडेट र ट्रङ्क लाइन प्रयोग गरेका उद्योगीले करीब रु दश अर्ब बराबरको महसुल तिर्न बाँकी रहेको छ ।

प्राधिकरणले उद्योगले प्रयोग गरेको विद्युत्को विषयमा छानबिन गर्न सञ्चालक समितिका सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा एक छानबिन समिति बनाएको छ । समितिलाई एक महिनाको समयावधि दिइएको छ । समितिले दिने प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरिने मन्त्री पुनको भनाइ छ । यस्तै नेपाल र अष्ट्रियाबीच ऊर्जा क्षेत्रका सहकार्य गर्ने विषयमा द्विपक्षीय समझदारी भएको मन्त्री पुनले जानकारी दिए । फ्रान्स, अष्ट्रिया र अमेरिकाको भ्रमणपछि आजै स्वदेश फर्कनु भएका मन्त्री पुनले त्यहाँ रहँदा भएका द्विपक्षीय छलफल तथा भएका प्रगतिबारे पत्रकार सम्मेलनमा जानकारी दिए ।