इन्भेष्टमेन्ट बैंकले २ अर्बको ऋणपत्र ल्याउदै


नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँ बरावरको ऋणपत्र निष्कासनको अन्तिम तयारी गरेको छ । जेठ २४ गतेदेखि निष्कासन तथा बिक्री खुला हुने सो डिबेञ्चरको प्रतियुनिट एक हजार रुपैयाँका दरले लगानी गर्नु पर्नेछ ।
लगानीयोग्य रकमको अभाव र पूँजीकोषमा दबाब सिर्जना भएपछि बैकले सात वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ । दीर्घकालीन लगानी स्रोत जुटाउन बैंकले निष्काशन गर्ने ‘१०.५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ मा लगानीकर्ताले सात वर्षसम्म वार्षिक १०.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा पाउनेछन ।

बैंकको डिबेञ्चरमा लगानी गर्नेले लगानीकर्ताले तोकिएको अवधिका लागि निश्चित प्रतिफल निरन्तर पाइराख्ने छन । बैंक तथा वित्तीय संस्थाहरुमा ऋणपत्र धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरि लगानी फिर्ता लिन सकिने समेत बैंकले जनाएको छ ।
इन्भेष्टमेन्ट बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा २० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो । कूल २० लाख ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने ६० प्रतिशत अर्थात १२ लाख इकाई बैंकले व्यतिगत तवरबाटै बिक्री गर्नेछ ।

सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन हुने ७ वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात दश करोड रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् । ऋणपत्रमा आवेदन दिन म्याद छिटोमा जेठ २८ र ढिलोमा असार २२ गतेसम्म रहेको छ ।
पछिल्लो समयमा लगानीयोग्य रकमको अभाव र पूँजीकोष अनुपातमा दबाब सामना गरेका बैंकहरुले ऋणपत्र निष्काशन तिब्र बनाएका छन् । तर सर्वसाधारण लगानीकर्तामा यसप्रतिको आकर्षण कम हुँदा ऋणपत्र बिक्री हुन नसकेर अन्तिम समयसम्म कुर्दा पनि बिक्री प्रबन्धकहरु निराश छन ्। पछिल्लो पटक ऋणपत्र बिक्रीमा ल्याएको नेपाल बंगलादेश बैंकले यस्तै अवस्था सामना गर्नुपरेको अवस्था छ ।