विगत एक वर्षमा नेपाल विद्युत् प्राधिकरणले निर्माणाधिन अवस्थामा रहेको र सञ्चालनमा रहेका सबस्टेशनको क्षमता विस्तार अभियानलाई तिब्रता दिएको छ । प्राधिकरणले सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्माण भएका ३३÷११ केभी सबस्टेशनको परीक्षण गरी सञ्चालन (चार्ज)मा ल्याएको हो ।
सहज रुपमा विद्युतको पुहँच पु¥याउने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ प्राधिकरणले सबस्टेशन निर्माण तथा क्षमता विस्तारलाई प्राथमिकता दिएको हो । प्राधिकरणले विद्युत्को पहुँच बढाउँदै विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकै रुपमा निर्माण गरिरहेको सबस्टेशनका काम धमाधम सम्पन्न भइरहेको छ । प्राधिकरणले सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत् आपूर्ति सुधार गर्न क्रमश ः बोदेबर्साइन र पालुङटार सबस्टेशन निर्माण गरिएको जनाएको हो ।
यस्तै बाँकेको धामपुरमा निर्माण भएको ३३/११ केभी सबस्टेशनको निर्माण सम्पन्न भई परीक्षण भई चार्ज हुने अवस्थामा पुगेको छ । प्राधिकरणले २०६७ को जेठबाट धामपुर सबस्टेशन निर्माण शुरु गरेको थियो । सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थित, भरपर्दो तथा प्रभावकारी हुने तथा प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
“विगत १० वर्षदेखि अलपत्र अवस्थामा रहेको सबस्टेशनको काम सम्पन्न भएको छ, यसले प्राधिकरणलाई त खुशी तुल्याएको छ नै त्योभन्दा बढी खुशी स्थानीयवासीलाई तुल्याएको छ”, कार्यकारी निर्देशक घिसिङले भने । ठेक्का लागेपछि ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका समस्या झेल्दै १०/११ वर्षदेखि अलपत्र पारिएका वितरण सबस्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा आएको भन्दै उहाँले बाँकीको कामसमेत छिट्टै सम्पन्न हुने बताए ।
देशबाट विद्युत्भार कटौतीको अन्त्य भएपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन मुलुकभर नै नयाँ सबस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा प्राधिकरणले अगाडि बढाएको छ । नेपाल सरकार, प्राधिकरणको लगानी र दातृ निकाय एशियाली विकास बंैक (एडीबी)को सहुलियतपूर्ण ऋणमा वितरण सबस्टेशको निर्माण भइरहेको छ । एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत नारायणी नदी पूर्व १३ र पश्चिम १२ गरी २५ वटा वितरण सबस्टेशनको निर्माण भइरहेको छ । यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलियालगायतका सबस्टेशन सञ्चालनमा आइसकेका छन् ।
त्यसमध्ये चालू आर्थिक वर्षको बाँकी अवधिमा निर्माणमा कुनै अवरोध नभएमा पाँच सबस्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने आयोजना प्रमुख बोधराज ढकालले बताए ।
“सप्तरीको दक्षिण–पश्चिम क्षेत्रका उपभोक्ताले कम भोल्टेजका कारण पानी तान्ने मोटर चलाउन नपाउने, बत्ति नबल्नेलगायतका समस्या झेल्दै आएका रहेछ, सोमबारदेखि बोदेबर्साइन सबस्टेशनबाट विद्युत् आपूर्ति हुन थालेपछि सबै समस्या समाधान भयो, उपभोक्ता खुसीयाली मनाउन सबस्टेशनमै आए, यस्तै खुसीयाली सबै ठाउँमा देखिएको छ”, ढकालले भने ।
नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएको धामपुर सबस्टेशनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका करिब ९५ हजार जनता लभान्वित हुने छन् । सबस्टेशनबाट ११ केभीका ४ वटा फिडर निकाली दुई गाउँपालिका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरिने प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेशनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेशन निर्माणको काम गरिरहेको छ ।
प्रतिक्रिया