मेलम्चीपछिकै दोश्रो ठूलो खानेपानी आयोजनाको पोखरामा निर्माण सुरु

0
Shares

नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार विस्तार आयोजना शुरु भएको छ ।

खानेपानी क्षेत्रमा देशमा सञ्चालित मेलम्ची पछिको दोस्रो ठूलो आयोजनाको रुपमा लिइएको खानेपानी संस्थानअन्तर्गत सञ्चालन हुने सो आयोजनाअन्तर्गत पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी मुहानबाट ल्याइएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पिउन योग्य बनाउने लक्ष्य राखिएको छ ।

सो प्रयोजनका लागि पानी प्रशोधन केन्द्र निर्माण तथा दुई हजार घनमिटर क्षमताका तीन वटा ट्याङकी निर्माण गरी नगरका विभिन्न क्षेत्रमा पाइप लाइनमार्फत विस्तार गर्ने योजना रहेको छ । आयोजनाको पोखरा महानगरपालिका–१९ पुरुनचौरमा आज आयोजित एक कार्यक्रमबीच सङ्घीय सरकारका खानेपानी मन्त्री बिना मगरले शिलान्यास गरिन ।

कार्यक्रममा मन्त्री मगरले खानेपानी जनताको मौलिक अधिकारको रुपमा संविधानमा व्यवस्था भएबमोजिम देशका सबै जनतालाई प्रशोधित शुद्ध पिउने पानीको प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

दूषित पानीको कारणबाट नै मानिसमा विभिन्न प्रकारका रोगहरु लाग्ने गरेको र शुद्ध खानेपानीको प्रबन्ध गर्न सके रोगबाट समेत बचाउन सकिने र मृत्युदर पनि घट्ने बताउँदै उनले भने, “आम जनतालाई शुद्ध खानेपानी पु¥याउने गरी सरकार योजनबद्ध हिसाबले अघि बढेको छ, आगामी वर्षको बजेटमा पनि त्यसलाई प्राथमिकतामा राखेका छौँ ।”

मन्त्री मगरले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच खानेपानी तथा सरसफाइको क्षेत्रमा समन्वय गरी कुन स्तरको आयोजना कसले सञ्चालन गर्ने भन्ने बारेमा समेत आयोजनाको वर्गीकरण गरिने बताइन । खानेपानी सुधार तथा विस्तार आयोजना अहिलेसम्मकै महत्वपूर्ण आयोजना रहेकाले ढिलासुस्ती नगरी जनताको अपेक्षाअनुसार समयमै काम सम्पन्न गर्न उनको आग्रह थियो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारको पहिलो निर्णयनै दुई वर्षभित्रमा प्रत्येक जनताको घरमा धारा पु¥याउने रहेको बताउँदै खानेपानी विस्तार तथा शुद्धीकरण योजनाले लक्ष्य हासिल गर्न सघाउने जानकारी दिए । उनले आयोजना अघि बढाउने सन्दर्भमा आइपर्ने समस्यालाई सरकारले हल गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका लागि जापानका राजदूत मासामिची साइगोले जापान सरकार नेपाल र नेपाली जनतालाई नजिकबाट सहयोग गर्न सदैव तत्पर रहेको बताए ।

प्रदेशसभा सदस्य रामजी बरालले खानेपानीको बाँधका कारण मुहान आसपासका जनता वर्षेनी डुबानबाट पीडित हुँदै आएको उल्लेख गर्दै जमिन कटान र बस्ती डुबानको समस्याबाट पीडित जनतालाई आयोजनाले सम्बोधन गर्नुपर्ने बताए ।

जापान सरकारको चार अर्ब ८१ करोड ३० लाख अनुदान सहयोगमा सन् २०१७ को फेब्रुअरी १५ मा सो आयोजनाको सम्झौता भएको थियो । सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरिसक्ने गरी खानेपानी सुधार आयोजना अघि बढाइको हो । हाल अप्रशोधित पानी वितरण हुँदै आएकोमा आयोजना निर्माण सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा २४ सै घण्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी वितरण हुने बताइन्छ ।

आयोजना निर्माणपछि पाइपलाइनमा पानीको चापमा सुधार भई पानी चुहावट नियन्त्रण भई आपूर्तिमा सुधार भएर महानगरको १ देखि १९ वडाका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या लाभान्वित हुने अपेक्षा संस्थानको छ ।

पानी शुद्धीकरणका लागि मर्दी मुहानमा दैनिक चार करोड लिटर क्षमताका बालुवा हटाउने चारवटा ट्याङ्की निर्माण गर्ने, सोही क्षमताको चार वटा पानी थिग्ग्राउने ट्याङ्की तथा पोखरा–१९ पुरुनचौरमा छ वटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिने खानेपानी संस्थानले जनाएको छ । खानेपानी भण्डारण गर्न २० लाख लिटर क्षमताका तीन वटा पानी ट्याङ्की पोखराको फूलबारी, पस्र्याङ र कोलपाटनमा निर्माण गरी त्यसमार्फत बजारका विभिन्न भागहरुमा वितरण गर्ने योजना बनाइएको छ ।