अर्थमन्त्रीद्धारा रसुवा एकीकृत भन्सारको शिलान्यास

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले रसुवाको उत्तरी नाकामा निमार्ण हुने एकीकृत भन्सार कार्यालयको शुक्रबार एक कार्यक्रमबीच रसुवागढीमा शिलान्यास गरेका छन्।  भवन शिलान्यास पश्चात् उनले नाकाको व्यवस्थापन र भन्सारको सुढृढीकरण अभियान कार्यमा सहयोग गर्न सम्वद्ध सबै पक्षसँग आग्रह गरे।

नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्वि गर्न रसुवागढी क्षेत्र व्यवस्थित र मर्यादित बनाउन वर्तमान सरकारले संरचना निर्माणको कामलाई तिव्रता दिएको खतिवडाले बताए। उनले नाकाको व्यवस्थापन गर्न बजेटको अभाव नहुने उल्लेख गरे ।

रसुवागढी नाका दिर्घकालीन रूपले व्यवस्थापन गर्न सडक, रेलको साथसाथै टनेलसमेतको अवधारणा ल्याइएको र वेत्रावती स्याफ्रुबेसी खण्डको सडक सुधार एवं कालोपत्रे छिटो सम्पन्न हुने तथा स्याफ्रुबेँसी–मैलुङ खण्डको भू–भागमा टनेल निर्माणको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले बताए।

५४ करोड ६० लाखको लागतमा निर्माण हुन लागेको उक्त एकीकृत भवनमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, बैंक र सुरक्षा निकायसमेत रहने गरी पाँच तले भवन निर्माण गरिने प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए।

सो क्रममा मन्त्री खतिवडाले निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी कार्य प्रगतिबारे जानकारी समेत लिएका थिए।