तल्लो मोदी जलविद्युत् आयोजना तीन हप्तापछि पुनः सञ्चालनमा

0
Shares

तल्लो मोदी जलजविद्युत् आयोजनाको काम तीन हप्तापछि सोमबार देखि पुनः सञ्चालनमा आएको छ। निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले पर्वत जिल्लामा निर्माण गरिरहेको आयोजनाको काम सकिएर परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको छ।

जिल्ला प्रशासन कार्यालयकोे पहल तथा सांसद पदम गिरीको उपस्थितिमा आन्दोलनरत् कर्मचारी र व्यवस्थापनबीच सहमतिपछि निर्माणाधीन २० मेगावाट क्षमताको आयोजनाको काम सञ्चालन गरिएको हो ।

प्रशासनमा भएको वार्ताका क्रममा आयोजनाको शुरुवातदेखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिस्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कार्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको छ।

आयोजनाको विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला विज्ञापन आह्वान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई एक लाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिइन्।

आयोजनाले २३ जनाको दरबन्दीमा दरखास्त आह्वान गर्दा कार्यरत ४० वर्षभित्रका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउने र प्रतिस्पर्धामा नाम ननिस्केमा प्रोत्साहन रकम पाउने व्यवस्था गर्ने सहमति भएको छ । “लामो प्रयासपछि दुवै पक्षको सहमतिमा आन्दोलन टुङ्गिएको छ”, प्रजिअ नेपालले भनिन् “अब निर्माण कार्य सुचारु हुन्छ ।”

आयोजनाको काम सकिएर परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको छ। निर्माण कार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने र उपदान दिनुपर्ने लगायतका माग राखेर तालाबन्दी गरेपछि गत जेठ २० गतेदेखि निर्माण कार्य ठप्प बनेको थियो।

निर्माण कार्य रोकिएपछि असार पहिलो साता परीक्षण उत्पादन गर्ने तयारीमा रहेको जलविद्युत् आयोजनाको उत्पादन मिति पर धकेलिएको थियो।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको सबै काम दुई हप्ताभित्र सम्पन्न गरेर परीक्षण उत्पादन थालिने जनाएको छ ।

टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ। कुस्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातिचौरसम्म खनिएको चार हजार दुई सय मिटर लामो टनेलको बीचमा कमजोर भूभाग भेटिएको थियो । बन्दका कारण मर्मतको काम रोकिएको थियो ।